सूर्य नेपाल गार्मेन्टपछि ठूलो लगानीमा कन्फेक्सनरी उद्योग खोल्दै, आवश्यक मेशिनरीको एलसी खोल्यो

बिजमाण्डू
२०७५ असार १८ गते १७:११ | Jul 2, 2018
सूर्य नेपाल गार्मेन्टपछि ठूलो लगानीमा कन्फेक्सनरी उद्योग खोल्दै, आवश्यक मेशिनरीको एलसी खोल्यो

Tata
GBIME
Nepal Life

काठमाडौं।सूर्य नेपाल चुरोट र गार्मेन्टपछि ठूलो लगानीमा कन्फेसनरी उद्योग खोल्ने भएको छ।

तीस वर्षअघि आइटिसी भारतको संयुक्त लगानीमा सूर्य टोवाको उद्योग स्थापना गरेको कम्पनीले गार्मेन्टपछि ठूलो लगानीमा कन्फेसनरी उद्योग स्थापना गर्न लागेको हो।आइटिसी भारत फाष्ट मुभिङ कन्जुमर गुड्स(एफएमसीजी)मा एग्रेसिभ छ।चाउचाउ र कन्फेसनरीमा आइटिसीले आफ्नो हिस्सा बढाउँदै लगेको छ।

मजदुर समस्याका कारण सूर्य नेपाल गार्मेन्ट उद्योग बन्द भएपछि प्यासिभ रहेको कम्पनीले २४ करोड लगानीमा कन्फेसनरी उद्योग स्थापना गर्न लागेको हो।गार्मेन्ट ३० करोडमा लगानीमा संचालनमा ल्याएको थियो।१९ करोड रुपैयाँ चुक्ता पूँजी रहने चकलेट उद्योगमा पाँच करोड रुपैयाँ चालु पूँजी रहनेछ।

कम्पनीले उद्योग स्थापनाका लागि उद्योग विभागको वैदेशिक लगानी शाखाबाट स्वीकृति पनि पाइसकेको छ।२६५ जनालाई रोजगारीको प्रतिवद्धता सहित कम्पनीले विभागबाट अनुमति लिएको उद्योग विभाग वैदेशिक लगानी शाखाका निर्देशक खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उद्योग विराटनगरमा स्थापना हुनेछ।गार्मेन्ट बन्द भएर खाली रहेको स्थानमा कन्फेसनरी उद्योग संचालनमा आउनेछ।विराटनगरमा कम्पनीको नाममा ६ विघा जग्गा छ।कम्पनीका भाइस प्रेसिडेन्ट रवि केसीले ६ महिनाभित्र विराटनगरबाट चकलेट उत्पादन सुरु हुने जानकारी दिए।‘कन्फेसनरीका लागि आवश्यक मेसिनरीको एलसी खोलिसकेका छौं।हामीले जनवरीभित्र चकलेट उत्पादन गरेर बजारमा ल्याइसक्नेछौं’उनले बिजमाण्डूसँग भने, ‘यो कन्फेसनरी सूर्य नेपालको अर्को ठूलो भेन्चर हो।‘

कम्पनीले आइटिसीकै ब्राण्डमा चकलेट उत्पादन गरेर बिक्री गर्नेछ।आइटिसी इन्डियाले मिन्टो,क्यान्डीम्यान,गुमन,फेविली लगायतका चकलेट उत्पादन गर्दै आएको छ।

केसीका अनुसार सुरुवातमा केही चकलेट मात्रै नेपालमा उत्पादन हुनेछन्।‘हामीले अहिले पनि भारतमा उत्पादित चकलेट ल्याएर बजार सर्वेक्षण गरिरहेका छौं।त्यसैका आधारमा हामीले उद्योग लगाउने निर्णय गरेका हौं’केसीले भने,सुरुवातमा हामी केही ब्राण्ड मात्रै उत्पादन गर्छौं।बजारमा राम्रो भए अरु चकलेट पनि यही उत्पादन सुरु गर्नेछौं।‘ 

त्यो उद्योगबाट वार्षिक ९ हजार मेट्रिक टन चकलेट उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।वार्षिक करिब २२ अर्ब रुपैयाँ भन्दा बढी कारोबार गर्ने कम्पनीमा आइटिसी इण्डियाको ५९ प्रतिशत र बाँकी नेपालीको शेयर छ।

कम्पनीले गार्मेन्ट बन्द भएपछि सलार्इ र अगरवत्ति उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ।कम्पनीले रुग्ण अवस्थामा रहेका सलार्इ उद्योगका उत्पादन किन्ने र आफ्नो ब्राण्डमा बिक्री गर्दै आएको थियो भने स-साना उद्योगबाट उत्पादित अगरवत्ति किनेर बिक्री गर्दै आएको छ।महिलाले चलाइरहेका उद्योगहरुलार्इ प्राथमिकता दिएर कम्पनीले अगरवत्ति किनिरहेको छ।कम्पनीको पाँच हजार होलसेलर र एक लाख रिटेलर छन्।

चाउचाउ पनि ल्याउने
चकलेटको बजार स्थापित भएपछि कम्पनीले चाउचाउ उद्योग पनि स्थापना गर्नेछ।आइटिसी भारतले सनभेष्ट इप्पी ब्राण्डमा चाउचाउ उत्पादन गरिरहेको छ।

‘हाम्रो लक्ष्य चकलेट मात्रै होइन।चाउचाउ र अरु खाद्य वस्तु पनि हो।आइटिसी भारतले उत्पादन गरेका वस्तु यहाँ उत्पादन गर्नेछौ’भाइस प्रेसिडेन्ट केसीले भने।