श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ, साउन १ गते कार्यान्वयनमा आउने

बिजमाण्डू
२०७५ असार २५ गते १२:०० | Jul 9, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ पुगेको छ।

सरोकारवाला निकाय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको वार्तामा विद्यमान ९ हजार ७ सय रुपैयाँमा ३ हजार ७ सय ५० रुपैयाँ थप गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने सहमति जुटेको हो।

चरणबद्ध रुपमा भएका वार्ता सहमतिमा पुग्न नसक्दा न्यूनतम पारिश्रमिक निर्धारण हुन सकेको थिएन। सरकारी निकाय तथा श्रमिकका प्रतिनिधिले १५ हजार रुपैयाँभन्दा कम तलब हुन नहुने अडान राखेका थिए भने व्यवसायीका प्रतिनिधिहरु साढे १२ हजार रुपैयाँसम्म दिन तयार भएका थिए।

पटकपटकको छलफलपछि साढे ३७ सय रुपैयाँ थप गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने सहमति जुटेको वार्ता टोलीमा श्रमिकको पक्षबाट प्रतिनिधित्व गरिरहेका मजदूर नेता दीपक पौडेलले बिजमाण्डूलार्इ बताए। 'थपिएको मध्ये ६० प्रतिशत अर्थात २२५० रुपैयाँ तलब र १५ सय रुपैयाँ भत्ता हुनेछ,' उनले भने।

सरकारी पक्ष र अन्य सरोकारवाला निकायबीच आइतबार नै न्यूनतम पारिश्रमिक निर्धाण गर्ने तयारी भएको थियो। तर, आइतबार बसेको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा उद्योगीका प्रतिनिधिले अधिकतम १३ हजार ३ सय दिन सकिने बताएका थिए भने श्रमिकका पक्षमा रहेका सदस्यले १४ हजार भन्दा कम हुन नहुने अडान राखेका थिए।

दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि बैठक सोमबार विहानका लागि सारिएको थियो। सोमबारको पक्षमा दुवै पक्ष सहमत देखिएपछि सहमति जुटेको हो। न्यूनतम पारिश्रमिक निर्धारण समितिले तय गरेको यो पारिश्रमिक साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।


न्यूनतम तलबमा सहमतिपछि सरकार,रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधी सामूहिक तस्विर खिचाउँदै:तस्विर मोहन कटुवालको फेसबुकबाट

सोमबार विहान बसेको राष्ट्रिय सभा बैठकमा श्रममन्त्री गोकर्ण बिष्टले साउन १ गतेदेखि बढेको पारिश्रमिक कार्यान्वयन हुने जानकारी गराएका थिए। पछिल्ला केही समययता बसेको बैठकमा उद्योगी र मजदूरका प्रतिनिधिबीच सहमति हुने संभावना टाँढिदै गएपछि श्रम मन्त्रालयले पारिश्रमिक निर्धारण गर्न हस्तक्षेप गर्दै आएको थियो।

सरकारले श्रम नियमावलीअनुसार पहिलोपटक २०६४ सालमा मजदूरको पारिश्रमिक ३३ सय रुपैयाँ तोकेको थियो। त्यसपछि २०६६ मा ४६ सय, २०६८ मा ६२ सय २०७० मा ८ हजार र २०७२ मा ९७ सय तोकिएको थियो। न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको यो तलब कार्यान्वयन भए अस्पतालमा कार्यरत नर्सहरु सबैभन्दा धेरै लाभान्वित हुनेछन्।

 

DV.load(“https://www.documentcloud.org/documents/4585529-Minimum-Wages-Increment.js”, {
width: 810,
height: 400,
sidebar: false,
pdf: false,
container: “#DV-viewer-4585529-Minimum-Wages-Increment”
});