शक्तिशाली व्यापारीको यो जहाज जुन तीन पटक दुर्घटना हुनबाट बच्यो, सामान्य जाँचमै उडान अनुमति

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असार ४ गते १७:४० | Jun 18, 2018
शक्तिशाली व्यापारीको यो जहाज जुन तीन पटक दुर्घटना हुनबाट बच्यो, सामान्य जाँचमै उडान अनुमति


Tata
GBIME
Nepal Life

काठमाडौं।यति एयरलाइन्सको(एन-एएचयु) कलसाइन विमान आइतबार पोखरा विमानस्थलमा अवतरणपछि ‘पार्किङ वे’मा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुग्यो।

संयोगबश विमान ठूलो दुर्घटना हुनबाट बच्यो।विमान रहेका यात्रु सकुशल रहे। तर यो जहाजका लागि संयोगवश भने पहिलो होइन।यो विमान पछिल्लो तीन महिनामा तेस्रो पटक यस्तो ‘इन्सिडेन्ट’ व्योहोरिसकेको छ। तीन पटक ‘संयोगबश’ भन्दै यो विमानलार्इ निर्वाध उडान भर्न दिइएको छ।

यो जहाज चैत २७ गते पोखरामा अवतरण गर्ने क्रममा ह्वील लक भएको थियो। यही जहाज जेठ २२ गते पोखरामा अवतरणको क्रममा इन्डिकेटरमा समस्या आएको थियो। हवार्इ सेवा जस्तो संवदेनशील क्षेत्रमा समेत पर्यटन मन्त्रालय र  नेपाल नागरिक उड्ययन प्राधिकरणले यो कम्पनीको जहाजप्रति बढीनै उदार भएर संचालनको अनुमति दिएको छ।

पटक/पटक यस्तो इन्सिडेन्ट हुँदा समेत यो जहाजलार्इ सहजै उडान अनुमति दिइएको छ? यति एयर नेपालका शक्तिशाली व्यापारी आङछिरिङ शेर्पाको कम्पनी हो। उनी प्रधानमन्त्री केपीशर्मा ओली निकट व्यापारी हुन्। उनी शक्तिशाली भएकै कारण पटक/पटक ‘इन्सिडेन्ट’मा पर्दा समेत जहाज उडानको अनुमति मिल्छ।

‘शेर्पा शक्तिशाली भएकाले हामीले जहाजलार्इ धेरै समय रोक्न सक्दैनौं’प्राधिकरण स्रोतले भन्यो।त्यही कारण पोखरामा ठूलो दुर्घटना हुनबाट जोगिएको जहाज २० घण्टा नबित्दै उड्यो। विमान कम्पनीका इन्जिनियर र नेपाल नागरिक उड्ययन प्राधिकरणका सेफ्टी विभागका कर्मचारीले सामान्य जाँच गरेर यो जहाजलार्इ सोमबारनै यात्रुसहित उडान भर्ने अनुमति दिइसकिएको छ।

‘पोखराको इन्सिडेन्टपछि जहाज ग्राउण्डेड गर्नुपर्थ्यो। जहाजको सबै जाँच पड्तालपछि मात्रै उडानका लागि अनुमति दिनुपर्नेमा केही घण्टा हेरेको भरमै उडान अनुमति दिइयो’ प्राधिकरणका ती अधिकारीले भने, 'शक्तिका भरमा यात्रुको भविष्यमाथि ठूलो खेलवाड हुँदैछ। यसले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जानेछ।‘ यति एयरलाइन्सको यो विमान २३ वर्ष पुरानो हो। यसले पहिलो उडान सन् १९९५ को अगस्त २५ मा गरेको थियो।

पहिले ट्रान्स स्टेट्स एयरलाइन्सको स्वामित्वमा रहेको यो विमान सन् २००६ को अप्रिलदेखि यति एयरलाइन्सले किनेर चलाउन थालेको हो।

के भन्छन् प्राधिकरणका डिजी?
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले यतिको पोखरामा भएको ‘इन्सिडेन्ट’ गम्भिर प्रकृतिको भएको स्वीकार गरे। ‘जहाज ल्याण्ड गरेर ट्याक्सी वे गर्ने बेलामा ट्याक्सी वे तिर नगएर घाँस तिर गयो। इट्स भेरी सिरीयस,' उनले बिजमाण्डूसँग भने, 'पाइलट वा मेकानिकल समस्या हो हामीले अध्ययन गरिरहेका छौं। यसको पूर्ण प्रतिवेदन आएपछि मात्रै केही भन्न सक्छौं।‘ उनले यतिको जस्तै जहाज विश्वका अन्य मुलुकमा उडान भएन/नभएको समेत अध्ययन हुने बताए।

अहिले विएइ कम्पनीका प्राविधिकहरु समेत काठमाडौंमै छन्। ती प्राविधिकहरुलार्इ समेत अध्ययन गर्न लगाउँदैछौं,’ गौतमले भने,यो पटक/पटक समस्या दोहोरिएकोले जहाजनै रोक्नुपर्ने अवस्था पनि आउन सक्छ। तर यसका लागि डिटेल स्टडी हुनुपर्छ।‘ यतिको यो जहाज विएइ कम्पनीको जेटस्ट्रीम जहाज हो।

उनले इन्सिडेन्ट हुनेवित्तिकै विमान कम्पनीका गुणस्तर विभागका प्रमुख र क्यानको मूख्य इ'न्सपेक्टर'ले हेरेर जहाजलार्इ उडान अनुमति दिएको बताए।‘कुनै ठाउँमा जहाज ग्राउण्डेड गरेर मर्मतपछि मात्रै उडान गर्न दिइन्छ,’ गौतमले भने,तर हामीले ग्राउण्डेड नगरेपनि राम्रोसँग हेरेपछि मात्रै उडान भर्न दिएका छौं। यस्तो इस्युमा हामी संवेदनशील बन्नैपर्छ।मैले माइन्युट्ली हेर्नु भनेर सेफ्टीका कर्मचारीलार्इ भनेको छु।‘

‘सूचना गोप्य’
यति एयरलाइन्सको जहाजको दुर्घटनालार्इ लुकाउन प्राधिकरणभित्रका कर्मचारी नै सकृय देखिएका छन्। सेफ्टी विभागमा रहेका अधिकांश कर्मचारी दुर्घटनापछि सेफ्टी इन्स्पेक्सन गरेको भन्दै तर्किए।

अझ कतिपय कर्मचारीले निजी विमान कम्पनीलार्इ सूचना समेत चुहाउने गरेका छन्। ‘क्यानका कर्मचारीले निजी विमान कम्पनीका कुनै जानकारी सकेसम्म लुकाउने र कसैले मागे पहिल्यै जानकारी समेत दिने गर्छन्,’ क्यानकै एक कर्मचारीले भने, 'मन्त्रीनै हटाउनसक्ने शक्तिशाली व्यक्ति निजी विमान कम्पनीका भएकाले क्यानका उपल्लो तहका कर्मचारीले समेत सूचना लुकाउँछन्।‘

क्यानका सेफ्टी विभागका निर्देशक भेषराज सुवेदीले हरेक इन्सिडेन्टपछि सेफ्टीका विभागबाट जहाजको निरीक्षण गरेर उडान अनुमति दिइने भन्दै धेरै कुरा गर्न चाहेनन्।‘हामीले कुनै इन्सिडेन्टपछि सेफ्टी विभागका इन्स्पेक्टर गएर अनुगमन गर्छन्।यतिमा पनि भएको छ।’उनले भने।