प्रधानमन्त्रीकै छायाँमा मलेसियामा कसरी भयो अर्बौ डलरको भ्रष्ट्राचार अमेरिका पुग्यो पैसा

बिजमाण्डू
२०७५ असार १८ गते ०९:२९ | Jul 2, 2018
प्रधानमन्त्रीकै छायाँमा मलेसियामा कसरी भयो अर्बौ डलरको भ्रष्ट्राचार अमेरिका पुग्यो पैसा

 
२०१८ मा भएको मलेसियाको चुनावले महाथिर मोहम्मदलाई ९३ वर्षको उमेरमा फेरी एकपटक सत्ताको शिखरमा पुर्यायो। २२ वर्ष प्रधानमन्त्रीको नेतृत्व गरेका महाथिरले आफ्नै चेला नाजिव रजाकलाई सत्ताबाट बेदखल मात्रै गरेनन् मलेसियाको इतिहासको एउटा ठूलो भ्रष्ट्राचार काण्डमा समेत छानविन सुरु गराए।

Tata
GBIME
Nepal Life

रजाक प्रधानमन्त्री हुँदा वान मलेसिया डेभलपमेन्ट फण्ड (वानएमडिबि) मार्फत अर्वौं डलरको भ्रष्ट्राचार काण्ड भएको थियो। रजाकले बन्द गरेको भ्रष्ट्राचार काण्डको यो फाइल महाथिर आएपछि फेरी खुलेको छ।

तर त्यस अघि नै अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिस(डिओजे)ले छानविन गरेर यो काण्डसँग सम्वन्धित केही तथ्यहरु सार्वजनिक गरिसकेको छ। मलेसियाको अनलाइन सञ्चारमाध्यम मलेसिया किनीले डिओजेको तथ्यका आधारमा मलेसियाबाट अर्वौं डलर कसरी अमेरिका पुगेको थियो भनेर ग्राफिकल प्रस्तुती गरेको छ। त्यही समाचारको साभार।

सुरुवात…

यो वर्षको फेब्रुअरी अन्तिममा इन्डोनेसियाको वालीमा एउटा सुविधासम्पन्न याट्च जफत भयो। यो याट्चको जफतसँगै अमेरिकाकको डिपार्टमेन्ट अफ जस्टिस (डिओजे)ले दायर गरेको एउटा मुद्दा फेरी अहिले चर्चामा छ।

सन् २०१६ र २०१७ मा डिओजेले वानएमडिबिबाट लगिएको रकमबाट खरिद गरिएका एक अर्व ७० करोड डलरका विभिन्न सम्पत्ती नियन्त्रणमा लिन श्रृखलावद्धरुपमा मुद्दा दायर गरेको थियो।

डिओजेका अनुसार सन् २००९ देखि २०१४ को बीचमा वानएमडिबि तथा त्यससँग संलग्न अधिकारीले साढे चार अर्व डलर पैसा रुपमा अमेरिका तथा विश्वको वित्तीय प्रणालीमा गैरकानुनी रुपमा प्रवेश गराएका थिए। यसरी लगिएको रकम व्याक्तिगत लाभका लागि प्रयोग गरेको आरोप डिओजेले लगाएको छ।

डिओजेले गैरकानुनी ढङ्गले आर्जन गरेको सम्पत्ती जफत सम्वन्धि यो सबैभन्दा ठूलो र विस्तृत प्रयास भएको बताउँदै समेत आएको छ।

यसरी लगिएको रकमबाट महँगा सम्पत्ती, कला, निजी विमान, गहना किनिएको थियो भने केही रकम हलिउड सिनेमा निर्माणमा समेत खर्च गरिएको थियो। यसरी लगिएको रकमबाट 'द वल्फ अफ वाल स्ट्रिट' लगायतका सिनेमा बनाउन समेत खर्च गरिएको थियो।

र यसरी पैसा लाने व्याक्तिको सूचीमा मलेसियाका व्यापारी झो लोको नाम छ। झो लो जसको पूरा नाम लो तायक झो हो । डिओजेले दायर गरेको मुद्दामा झोलाई यो खेलको मास्टरमाइन्डका रुपमा चित्रित गरिएको छ। झोसँगै थुप्रै अन्य व्यक्ति माथि पनि मुद्दा चलाइएको छ। त्यसमध्ये झोका साथी रिजा अजिजको नाम समेत छ। उनी मलेसियाका पूर्व प्रधानमन्त्री नाजिव रजाकका सौतेनी छोरा हुन्।

त्यसवाहेक वानएमडिबिका थुप्रै अधिकारीको नाम समेत दायर मुद्दामा छ। त्योसँगै एक जना मलेसिया अफिसियल वान नाम गरेका एक अनाम व्यक्तिमाथि पनि मुद्दा चलाइएको छ। जो नाजिव आफै भएको अनुमान छ।

यो प्रकरणमा हलिउड नायक लियोनार्दो दिक्याप्रिओ, मोडेल मिरण्डा केर समेत मुछिएका छन्। दायर मुद्दामा सन् २००९ देखि २०१४ सम्मको पाँच वर्षलाई चार भाग गुड स्टार, आभार विभिआई, ट्यानोर र अप्सन बाइब्याकमा विभाजन गरिएको छ।

सयौं पेजको मुद्दामा एक एक खाता विवरणलाई प्रस्तुत गरिए पनि त्यो कारोवार निकै जटिल ढङ्गले गरिएको छ। यो स्टोरीमा पाठकले सहज ढङ्गले बुझ्ने गरी कसरी पैसा एउटा खाताबाट अर्को खातामा पुग्यो भन्ने विवरण दिइएको छ।
 

गुड स्टार फेज

यो अवधिमा मलेसियाको वानएमडिबि हुँदै यसरी पैसा ट्रेलको यस्तो जालो बन्छ, तर त्यो कसरी हुन्छ ?

डिओजेकाअनुसार सन् २००९ मा स्थापना भएपछि वानएमडिबिबाट (मलेसिया सरकारको पूर्ण स्वामित्व भएको पुँजी लगानी कम्पनी) एक अर्ब डलर अवैध ढङंगले निकालियो।

सन् २००९ र २०११ मा वानएमडिबिले साउदी अरवको पेट्रोलियम पदार्थ उत्खन्न गर्ने कम्पनी पेट्रोसाउदी इन्टरनेशनल (पिएसआई)सँग संयुक्त लगानी गर्ने सम्झौता गर्यो।

संयुक्त लगानीको कम्पनी(वानएमडिबि-पिएसआई)ले पिएसआईको स्वामित्वमा  तुर्केमिनिस्तान र अर्जेन्टिनामा रहेको तेल खानी उत्खनन गर्ने योजना बनाएको थियो।

वानएमडिबिले कम्पनीमा एक अर्व डलर लगानी गरेर ४० प्रतिशत साझेदारी खरिद गर्ने सम्झौता भएको थियो। तर त्यसमध्ये जम्मा ३० करोड डलर मात्रै संयुक्त लगानीको कम्पनीको खातामा पुग्यो। बाँकी ७० करोड डलर झोको कम्पनी गुड स्टार लिमिटेडको खातामा पुग्यो।


 
दुई जना अधिकारी जसलाई डीओजेले वान एमडिबि अफिसर १ र २ का रुपमा व्याख्या गरेको छ। उनीहरुले बैंकका अधिकारीलाई गुड स्टार पिएसआईको सहायक कम्पनी भएको भन्दै गलत जानकारी दिए। वान एमडिबिका सञ्चालक समितिका सदस्यहरुले संयुक्त लगानीको कम्पनीले साझेदार पिएसआईको ऋण भुक्तानीका लागि ७० करोड भुक्तानी दिइएको बताए।

तर झोको वान एमडिबिमा कुनै वैधानिक हैसियत थिएन। उनी तेरेङ्गु इन्भेष्टमेन्ट अथोरेटि(टिआइए)मा सल्लाहाकार थिए। त्यही टिआइएलाई सरकारले पुर्नसंरचना गरेर सन् २००९ मा वानएमडबि बनाएको थियो।

झोले रिजामार्फत नाजिवको परिवारमा सम्वन्ध बनाएका थिए। झो र रिजाको सम्वन्ध विश्वविद्यालयमा पढ्दैदेखि थियो।

जुन २०१० मा वान एमडिबिले संयुक्त लगानीको कम्पनीमा भएको ४० प्रतिशत सेयर विक्रि गर्ने निर्णय गर्यो। कम्पनीले सेयर विक्रिवापत नगद लिनुको सट्टा लगानीमा नाफा समेत देखाएर र त्यसलाई जोडेर एक अर्व २० करोड डलरको ऋणको आफू धनी हुने निर्णय गर्यो।
 
 

तीन महिनापछि संयुक्त लगानीको कम्पनी वाएमडिबि-पिएसआईले वानएमडिबिबाट ५० करोड थप ऋण लियो। मे २०११ मा वानएमडिबिले संयुक्त लगानीको कम्पनीलाई थप ३३ करोड ऋण दियो तर यो रकम फेरी पनि गुड स्टार कम्पनीको खातामा पुग्यो।

२५ अक्टोवर २०११ सम्ममा वानएमडिबिबाट एक अर्ब तीन करोड डलर गुडस्टारको खातामा पठाइएको थियो। झोले यस रकममध्ये तीन करोड ५० लाख डलरमा लण्डनमा स्ट्राटोन पेन्टहाउस र स्ट्राटोन फ्ल्याट खरिद गरे। एक करोड डलर द वुल्फ अफ वाल स्ट्रिट फिल्म निर्माणका लागि पठाइयो।


 
यो रकमको केही हिस्सा पिएसआरका सहसंस्थापक तारेक वेवाइडको खातामा पुग्यो। उनले त्यसबाट सफ्टवेयर कम्पनी पलान्तिर टेक्नोलोजी खरिद गरे।

त्यसको केही रकम वानएमडिबि अफिसर वानलाई समेत एरिक तान नामक व्याक्तिको खातामार्फत भूक्तानी गरियो।
सन् २०१७ मा सिंगापुरको अदालतले एरिक तान नै झो लो भएको खुलासा गर्यो।
 

 
यो अवधिमा मलेसियन अफिसियल वान (एमओवान)ले दुई करोड डलर भूक्तानी लिए। डिओजेले एमओवानलाई मलेसिया सरकारमा उच्च अधिकारी र वानएमडिबिमा पनि कार्यकारी अधिकार लिएका व्याक्ति भनेर जानकारी दिएको छ।
 

 
मलेसियाका मन्त्री अब्दुल रहमान ढलानले सन् २०१६ मा बिबिसिलाई अन्तर्वार्ता दिंदै पूर्वप्रधानमन्त्री नाजिव नै एमओवान भएको बताए। तर नाजिवले भने वानएमडिबिमा गलत नभएको कुरा बाराम्वार दोहोर्याउँदै आएका छन्।
 

 
झोले गैरकानुनी ढङ्गबाट गुड स्टारमा आएको रकमबाट खरिद गरेका सम्पत्तीमा पर्दा हाल्न ल फर्मको प्रयोगसँगै कम्पनीको जालो र पितालाई अघि सारे।

२१ अक्टोवर २००९ देखि १३ अक्टोवर २०१० को बीचमा झोले ३६ करोड ८० लाख डलर गुड स्टारबाट अमेरिकी ल फर्म श्रीयारमान एलएलपीको खातामा पठाए।

यो रकम विलासी सम्पत्ती, होटल र प्राइभेट जेट खरिद गर्न खर्च गरियो। यसमा एल अर्मिटेज होटल, वेभर्लि हिलको हिलक्रेस्ट सम्पत्ती, पार्क लाउरेल कम्प्लेक्सको युनिट र बर्मबार्डिएर ग्लोबल ५००० विमान लगायत थिए।

 
झोले आफ्ना पिता ल्यारिको बैंक खाता समेत प्रयोग गरेर सम्पत्ती खरिद गरेको डिओजेले भेट्यो।

गुडस्टारले जुन २०११ देखि सेप्टेम्वर २०१३ को बीचमा करिव ५० करोड ८० लाख डलर आवुदावी-कुवेत-मलेसिया इन्भेष्टमेन्ट कर्पोरेशन(एडिकेएमआईसि)मा पठायो। झोले एडिकेएमआईसिलाई पैसा धुलाउन(मनी लाउण्डरिङ)का लागि प्रयोग गरे। झोले यो सबै कारोवार गरेपछि सेप्टेम्वर २०१३ मा गुडस्टारको खाता बन्द गरे।

त्यसपछि एडिकेएमआईसिबाट २०११ र २०१२ को बीचमा तीन पटक गरेर झोले ३२ करोड ७० लाख डलर पिता ल्यारीको खातामा ट्रान्सफर गरे। त्यसपछि ल्यारीको खाताबाट तीन करोड डलर सिल्उने तथा २६ करोड ८० लाख डलर झोको निजी खातामा पठाए।

सिल्उनले प्राप्त गरेको रकममध्ये दुई करोड ७० लाख डलर सेयरम्यान आईओएलएमा पठाइयो। यसबाट आएको केही रकम टाइमवार्नर पेन्टहाउस खरिदका लागि प्रयोग गरियो।


 
 
यही बीचमा झोले ल्यारीबाट प्राप्त रकममध्ये १० करोड ६० लाख डलर इएमआई म्युजिक पब्लिसिङ ग्रुप अमेरिका होल्डिङ इन्क खरिद गर्न खर्च गरे। त्यसैगरी १४ करोड ६२ लाख डलर सेल्उनेमा पठाए। सेल्उनेमा पठाएको १४ करोड ६२ लाख डलरमध्ये तीन करोड ६२ लाख डलर उनले रिजाका लागि केन्तास टाउनहाउस खरिदका लागि आभार बीभिआई समयमा खर्च गरे।
 

 
इएमआई खरिद गर्दा भूक्तानी गरिएको रकम आफ्नो पारिवारिक आम्दानी भएको जस्तो भान झोले प्रस्तुत गरेका थिए।

सेल्उने तथा झोको आफ्नै खातामा रहेको पाँच करोड १६ लाख डलर एकसाथ ल फर्म डिएलए पाइपरमा पठाइयो। यो फर्ममार्फत ओरियलो म्यान्सन, द ग्रिन कन्डोमिनियम र भिसेरि होटल समूहको शेयर खरिदका लागि प्रयोग गरियो। भिसरिको शेयर खरिदका लागि अर्को ल फर्म सेयरम्यान आईओएलएमार्फत समेत रकम भूक्तानी गरियो।
 
 
 

आभार -बिभिआई अवधि

यो जालो कसरी तयार भयो तल विस्तृत छ ।

सन् २०१२ मा वानएमडिबिले मलेसियामै उर्जा कम्पनी खरिद गर्न साढे तीन अर्ब डलर बोन्डमार्फत उठायो। त्यसमध्ये एक अर्व ३६ करोड ७० लाख डलर गैरकानुनी रुपमा भूक्तानी भयो।

यसरी निष्काशन गरिएको बोन्डका लागि इन्टरनेशनल पेट्रोलियम इन्भेष्टमेन्ट कम्पनी (आईपिआईसि) ग्यारेन्टी बसेको थियो। आईपिआईसि कम्पनी आवुधावी सरकारको स्वामित्वमा भएको लगानी कम्पनी हो।

त्यसको बदलामा वानएमडिबि आईपिआईसिको सहायक कम्पनी आभार इन्भेष्टमेन्ट पिजेएस जो उर्जा क्षेत्रमा क्रियाशिल छ त्यसको ४९ प्रतिशत सेयर खरिद गर्न राजि भयो।
 

 
वानएमडिबिले बोन्डमार्फत जुटाएको रकम ब्रिट्रिस भर्जिन आइसल्याण्डमा दर्ता भएको आभार इन्भेष्टमेन्ट पिजेएस लिमिटेड (आभार बिभिआई)मा पठाउन थालियो। ब्रिट्रिस भर्जिनमा दर्ता भएको आभार विभिआईको नाम आईपिआईसिको सहायक कम्पनी आभारसँग मिल्दो जुल्दो थियो। तर आभार नाम गरेका यी दुई कम्पनीबीच कुनै साइनो सम्वन्ध भने थिएन।
 
 

त्यतिवेला आईपिआईसिको प्रवन्ध निर्देशक र आभारको अध्यक्ष खादिम अब्दुल अल क्वासि थिए भने आभारको सिईओ मोहम्द बादावी अल हुसैनी थिए। तथापि यी दुवै जना ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको आभार बिभिआईका निर्देशक थिए।
 

 
खादिम र मोहम्मदले आभार बिभिआईका नाममा लुगानोमा बिएसआई बैंकमा खाता खोले। वानएमडिबिले बोन्डबाट उठाएको रकम उनीहरुले यही खाताबाट डाइभर्ट गर्न सुरु गरे। झोले पनि आभार बिभिआई नामको स्वीस एकाउण्ट खोलेर त्यसमा वानएमडिबिको एक अर्व ३६ करोड ७० लाख डलर रकम ट्रान्सफर गराउन सफल भए।

आभार बिभिआईमार्फत एक अर्व नौ करोड २० लाख डलर दुई वटा अन्तराष्ट्रिय लगानी कम्पनी इन्ट्रप्राइज इमर्जिङ मार्केट फण्ड र क्रिस्टिक इन्भेष्टमेन्ट फण्डमा पठाइयो। फेरी यी दुई लगानी कम्पनीले त्यो रकम व्ल्याक स्टोन रियल स्टेट पार्टनरमा पठाए। यो इरिक टान अर्थात झो लोको कम्पनी थियो।

 
 
व्ल्याकस्टोन कम्पनीले मोहम्मदको स्वामित्वमा भएका दुई कम्पनी रायन इन्क र एमबि कन्सल्टिङ एलएलसिलाई एक करोड १६ लाख र पाँच करोड ५० लाख डलर पठायो। खादिमको स्वामित्वमा भएको कम्पनी भास्कोले समेत ४७ करोड २७ लाख डलर पायो। यही पैसाबाट वाल्कर टावरमा पेन्ट हाउस, लाउरेल बेभर्लि हिल्समा म्यान्सन र हिलक्रिस्ट प्रोपर्टी खरिद गरियो।
 

 

एमओवानले समेत व्ल्याक स्टोनबाट तीन करोड डलर पाए। वानएमडिबिका जनरल काउन्सेल तथा ग्रुप स्ट्राटेजीका कार्यकारी निर्देशक जास्मिन लुले समेत ५० लाख डलर पाइन्। उनले यो रकमबाट वान म्याडिसन पार्क कन्डोमिनियममा एउटा आवास खरिद गरिन्।
 

आभार बिभिआईले २३ करोड ८० लाख डलर रेड ग्रानेट क्यापिटलमा पठायो। यो रिजा सहरिज अब्दुल अजिजले स्थापना गरेको कम्पनी हो। रिजा प्रधानमन्त्री नाजिवका सौतेनी छोरा हुन्। जसलाई डिओजेले एमओवानका नातेदारका रुपमा व्याख्या गरेको छ।
 

 
रेड ग्रानेटमा पाएको रकम रिजाले फिल्म निर्माण कम्पनी रेड ग्रानेट पिक्चर्समा पठाए। यो कम्पनीले द वल्फ अफ वाल स्ट्रिट, ड्याड्डिज होम तथा डम्ब एण्ड डम्बर टु जस्ता फिल्म बनायो।

वल्फ अफ वाल स्ट्रिट फिल्मको निर्माणमा गुडस्टार र आभार बिभिआई अवधिमा छ करोड डलर भूक्तानी दिइयो। रेड ग्रेनाइट पिक्चर्सको अनुसन्धान नटुङ्गिदासम्म रिजाले हेल्थ इन्सुरेन्स कभर गर्ने गरी तलव मात्रै पाउने गरी खाता अमेरिकी सरकारले खाता सिल गर्यो।


 
 
रेड ग्रेनाइट क्यापिटलले समेत ल फर्म कम्पनी सेयरम्यान आईओएलएको खातामा नौ करोड ४३ लाख डलर पठायो। यसबाट थुप्रै विलासी सम्पत्तीहरु खरिद गरियो। गुडस्टार अवधिमा झोले खरिद गरेको हिलक्रिस्ट प्रोपर्टी खरिद गर्न रिजाले एक करोड ७५ लाख डलर र पार्क लाउरेल कन्डोमेनियम खरिद गर्न तीन करोड ३५ लाख डलर झोलाई भूक्तानी दिए।
 
 
रिजाले फिल्मका पोस्टर उत्पादन गर्नका लागि रेड ग्रानाइट क्यापिटलबाट ४२ लाख डलर खर्च गरे।
 

 
रिजाले पार्क लाउरेल कन्डोमेनियमको भित्ता यिनै फिल्मका पोस्टरले ढाके भने उनले थुप्रै पोस्टर उपहारमा समेत दिए। त्यसमध्ये रेट ग्रेटाइट पिक्चरका सहसंस्थापक जोय, हलिउड नायक लियोनार्दो दि क्याप्रियो र द वल्फ अफ वाल स्ट्रिटका निर्देशक समेत थिए।

 
त्यसैगरी झोको कम्पनी व्ल्याकस्टोनले ३२ करोड १३ लाख डलर अल्सेन चान्स होल्डिङ लिमिटेडमा पठाए। यो कम्पनीले भवन र परियोजना निर्माणमा कन्सल्टिङ गर्ने गरेको थियो। अल्सेन चान्सबाट रिजाले मेट्रोपोलिस पोस्टर खरिद गर्न १२ लाख डलर खर्च गरे। यो जर्मन कलाकार हेइन्ज सुल्जान्युद्मको १९२७ को मुक फिल्म मेट्रोपोलिसको लिथोग्राफ पोस्टर थियो।
 
 
 
अल्सेन चान्सले एक करोड १० लाख डलर रकम भेनेटियन रिसोर्ट होटलको क्यासिनोलाई समेत पठाएको थियो। यो रकम झोको क्यासिनोमा भएको बक्यौता तिर्नका लागि  पठाइएको थियो। रेन ग्रेनाइट क्यापिटलले  यसैका लागि चार करोड १० लाख डलर अल्सेन चान्समा पठाएको थियो।


 
झोले आमा इभ्लिन गोहका लागि २८ लाख डलरको हिराको औंठी र इयररिङ खरिद गरेका थिए। पैसा पारिवारिक स्रोतबाट आएको हो भन्ने देखाउनका लागि झोले सुरुमा अल्सेन चान्सबाट पैसा पिताको खातामा पठाए त्यसपछि मात्रै आफ्नो खातामा ट्रान्सफर गरेका थिए।

त्यसैगरी झोले अल्सेम चान्सबाट १४ करोड २२ लाख डलर भुक्तानी गरेर १५ करोड सम्पत्ती भएको अमेरिकाको प्राइभेट इक्विटी फर्म इलेक्ट्रम खरिद गरेका थिए।
 
 
 
खादिमको भास्को इन्भेष्टमेन्टलाई दुई करोड डलर भूक्तानी गर्नु पहिले अल्सेन चान्सबाट गुडस्टारमा २७ करोड ५५ लाख डलर भूक्तानी गरिएको थियो।
 
 

ट्यानोर अवधि

यो अवधिमा कहाँबाट कसरी पैसा सर्यो 

मार्च २०१३ मा वानएमडिबिले तीन अर्ब डलर जुटाउन बोन्ड जारी गर्यो। यो रकम आभार र आवुधावी मलेसिया इन्भेष्टमेन्ट कम्पनी (एडिएमआईसि)को संयुक्त लगानीको कम्पनीका लागि उठाइएको थियो। यो रकमबाट क्वाललम्पुरमा वित्तीय केन्द्र तुन रजाक एक्सचेञ्ज परियोजना पूरा गर्ने उद्देश्य थियो।

यसरी उठाएको तीन अर्वमध्ये तीनवटा विदेशी लगानी फण्ड डेभोनसाएर क्यापिटल ग्रोथ फण्ड, इन्ट्रप्राइज र क्रिस्टिकमार्फत एक अर्ब २६ करोड डलर ट्यानोर फाइनान्स कर्पोरेशन र ग्रान्टोन प्रोपर्टि होल्डिङ लिमिटेड नामको दुई कम्पनीको खातामा पठाइयो। यी दुवै कम्पनीको स्वामित्व एरिक टान अर्थात झो लोसँग भए पनि यसको सम्वन्ध वानएमडिबि र एडिएमआईसिसँग नभएको डिओजेको दलिल छ।

 
 
यसरी ट्यानोरमा आएको रकममध्ये ६८ करोड १० लाख डलर मार्च २१ देखि मार्च २५ २०१३ को बीचमा एमओवानको खातामा पठाइयो। त्यसमध्ये ६२ करोड डलर फेरी २६ अगस्ट २०१३ मा ट्यानोरको खातामा फिर्चा आयो।

वालस्ट्रिट जर्नलले २०१५ मा एउटा रिपोर्ट छाप्दै वानएमडिबिको ६८ करोड १० लाख डलर २१ मार्चदेखि २५ मार्च २०१३ को अवधिमा नाजिवको बैंक खातामा ट्रान्सफर भएको समाचार प्रकासित गरेको थियो।

नाजिवले व्यक्तिगत लाभका लागि सार्वजनिक सम्पत्तीको दुरुपयोग नगरेको दावी गर्दै साउदी राजपरिवारबाट राजनीतिक चन्दा प्राप्त गरेको दावी गरे। त्यतिवेलाका मलेसियाका महान्यायाधिवक्ता मोहम्मद अपन्दी अलीले समेत नाजिवले गलत नगरेको भन्दै सफाइ दिए। उनले प्राप्त गरेको रकममध्ये ६२ करोड डलर सन् २०१३ को अगस्तमै दाताको खातामा फिर्ता पठाएको दावी समेत गरे।
 

 

डिओजेको डकुमेन्टअनुसार यसरी एमओवानबाट फिर्ता आएको रकमबाट झोले एमओवानको श्रीमतीका लागि २२ क्यारेटको हिराको हार खरिद गरेर दिए।
 
 
 
झोले ट्यानोरको खातामा भएको रकममध्ये १३ करोड ७० लाख डलर सात वटा कला खरिद गर्नका लागि प्रयोग गरे। त्यसमा

  • मार्क रायडेन (सात लाख ४० हजार डलर)
  • एड रुस्चा (तीन लाख ६७ हजार डलर)
  • जिन माइकेल बास्क्टिको डचहेड्स (चार करोड ८८ लाख डलर)
  • एलेक्जेण्डर काल्डरको स्ट्याण्डिङ मोवाइल (५३ लाख ८७ हजार डलर)
  • एलेक्जेण्डर काल्डरकै टिक ट्याक ट्वे (३० लाख ३५ हजार डलर)
  • लुसियो फोन्टनाको कन्सिटो स्पाजिले एटिसि (७९ लाख ५० हजार डलर)
  • मार्क रोथ्कोको एल्लो एण्ड ब्लु (सात करोड १५ लाख डलर)

टानले पछि रेडनको कला रेड ग्रेनाइट पिक्चरका सहसंस्थापक म्याकफरल्याण्डलाई र डचहेड, एल्लो एण्ड ब्लु, कन्सिटो स्पाजेलि र टिक ट्याक टोय झो(आफै)लाई उपहार दिए।
 

 
झोले थप सम्पत्ती खरिद गर्दा पुँजीको स्रोत आफ्नै पारिवारिक हो भन्ने देखाउन फेरी एक पटक आफ्ना पिता र भाई लो टेक झेनको आवरणलाई उपयोग गरे। ग्राण्टोन र ट्यारोनबाट पैसा प्रवाह सुरु हुन्थ्यो, पिता र दाजुका कैयौं खातामा घुमेपछि त्यो पैसा झोको खातामा पुगेर रोकिन्थ्यो।

 

उनले यही पैसा लगेर भ्यान गोको 'ला मैसन दे भिन्सेन्ट अ अर्लेस', कलाउड मोन्टको 'सेन्ट जर्जेज मजेउर' र 'नेह्मपियस' चित्र खरिद गरे। लण्डनको मेयफेयर स्ट्राटनमा अफिस समेत खरिद गरे। त्यसैगरी उनले ११.७२ क्यारेटको मुटु आकारको एउटा हिरा खरिद गरेर मोडल मिरन्डा केरलाई उपहार समेत दिए।

 

 
यसको केही हिस्सा ल फर्म डिएलए पाइपरमा समेत पुग्यो। त्यही पैसाबाट २० करोड डलरमा पार्क लेन होटल खरिद गरे भने मोहम्मदलाई १२ लाख डलर समेत दिए। मे २०१७ मा डिओजेले पार्क लेन होटलका साझेदार स्टेभन विटकफलाई होटल विक्रिमा राख्न बाध्य पार्यो। यसरी डिओजेका कारण झोले पार्क लेन होटलबाट बाहिरिनुपर्यो।
 

 
ल्यारीको खाताबाट ट्रान्सफर गराएको १० करोड ५१ लाख डलर तथा खरिद गरेका कलालाई धितोमा राखेर झोले इक्वानिमिनिटी याट्च खरिद गरे। यो याट्च २६ पाहुना र ३३ क्रु मेम्वर बोक्न सक्ने सबैभन्दा सुविधाजनक थियो। यसमा हेलिकोप्टर ल्याण्ड गर्न सक्छ, सिनेमा, फिटनेश सेन्टर, मसाज रुम, स्टिम, साउना र पौडि पोखरी भएको यो याट्चले मोनाको याट्च शोमा उत्कृष्ट उपाधि पाएको थियो।
 

 

यो याट्च अमेरिकाको फेडलर व्युरो अफ इन्टिलिजेन्स (एफबिआई) र इन्डोनेसियाका अधिकारीले यही वर्ष फेब्रुअरी २८ मा बालीमा नियन्त्रणमा लिए। अमेरिकाले याट्च सिज गर्न खोजेका छन्, झोले इन्डोनेसियाको अदालतमा मुद्दा दायर गरेर त्यसलाई रोक्न खोजेका छन्।
वानएमडिबिबाट ट्यारोनको खातामा गएको पैसाबाट खरिद गरिएका तीन वटा कला झोले हलिउड नायक डि क्याप्रिओलाई उपहारमा दिएका थिए।
त्यतिवेला एसआरसि वानएमडिबिको सहायक कम्पनी थियो तर त्यसको स्रोत भने झोले उपयोग गर्दै आएका थिए। उनले त्यसबाट एउटा फोटोग्राफ र एउटा पाब्लो पिकासोको पेन्टिङ किनेका थिए। सन् २०१२ मा एसआरसिको स्वामित्व मलेसियाको अर्थमन्त्रालयमा ल्याइयो भने डिक्याप्रिओले उपहारमा पाएका कला डिओजेलाई हस्तान्तरण गरे।
 
 

यसै अवधिमा ल्यारीको खाताबाट ट्रान्सफर भएको ३५ करोड डलरमध्ये तीस करोड डलर खर्च गरेर झोका दाजु लो टेक झेनले फ्लाई ह्विल स्पोर्टस इन्क कम्पनी खरिद गरेका थिए। यो कम्पनीले अमेरिकामा फिटनेश क्लव सञ्चालन गर्दै आएको छ।
 
 
 

अप्सन बाइव्याक अवधि

बैंकबाट लिएको ऋण समेत व्याक्तिको खातामा यसरी पुग्यो। 

सन् २०१४ मा वानएमडिबिले आइपिआईसिको सहायक कम्पनी आभारको उर्जा सम्पत्ती खरिद गर्नका लागि जर्मन बैंकबाट दुई पटक गरेर एक अर्ब २२ करोड डलरको ऋण लियो।

तर त्यो ऋणमध्ये ८५ करोड डलर फेरी सेसेल्समा दर्ता भएको तर आभार जस्तै नाम भएको अफसोर कम्पनी आभार विभिआई (ब्रिटिस भर्जिनमा दर्ता भएकोभन्दा फरक कम्पनी)मा पठाइयो।

वानएमडिबिका अधिकारीहरुले यो ऋण आईपिआईसिका लागि भएको भन्ने गलत तथ्य देखाएर लिएका थिए।

अभार सेसिल्स आइपिआईएस र अभारसँग सम्वन्धित कम्पनी थिएन। तर आभारका सिईओ तथा आभार बिभिआईका निर्देशक मोहम्मद भने आभार सेसिल्समा पनि निर्देशक भने थिए।
 
 

 
यसरी ट्रान्सफर गरिएको केही ऋण रकम अप्रत्यक्ष रुपमा जास्मिन लु र एमओवानलाई पठाइयो। यो रकम एफिनिटी इन्टरनेशनल पार्टनर लिमिटेड तथा व्ल्याकरक कमोडिटिज (ग्लोबल)मार्फत पठाइएको थियो।

उस्तै नाम भए पनि व्ल्याकरक कमोडिटिज (ग्लोबल) लिमिटेडसँग ग्लोबल इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनी व्ल्याकरक इन्कवीच भने कुनै सम्वन्ध थिएन्।
यसमध्ये आभार सेसेल्सबाट २७ वटा १८ क्यारेटका सुनका नेकलेस र ब्रासलेट खरिद गर्नका लागि १३ लाख डलर खर्च गरिएको थियो।
 
 

बाँकि पैसा आभार सेसिल्सबाट भिस्टा इक्विटी इन्टरनेशनल पार्टनर लिमिटेड, टिकेआइएल क्यापिटल पार्टनर, ड्रागन मार्केट र ड्रागन डाइनास्टिमार्फत झोको खातामा पुग्यो।

 
 
डिओजेका अनुसार एरिक टान अर्थात झो नै एफिनिटी इक्विटि, भिस्टा इक्विटी, टिकेआइएल क्यापिटलका मालिक थिए। ड्रागन मार्केट र ड्रागन डाइनास्टिको स्वामित्व पनि उनीसँगै थियो।
 

 
झोले एफिनिटी इक्विटिमार्फत अल्फा सिनर्जीमा पठाएको १४ करोड २० लाख डलर समेत आफ्नो खातामा ट्रान्सफर गरेका थिए।
 
 
 
त्यसपछि झोले त्यही पैसाबाट ८.८८ क्यारेटको हिराको पेन्डेन्ट, ११ क्यारेटको हिराको इएररिङ, त्यसैलाई सुहाउने नेकलेस, ब्रासलेट खरिद गरेर मोडल मिरिन्डा केरलाई गिफ्ट गरे। केरले ती सबै उपहार डिओजेलाई फिर्ता गरिसकेकी छन्।
उनले यहीमध्ये १४ करोड डलर खर्च गरेर सुपर याट्च दि इक्वानिमिटि समेत खरिद गरेका थिए।

 

 

पैसाको चक्र

अपसन बाइव्याक अवधिमा पनि पैसा व्यक्तिगत लाभमा प्रयोग गर्ने विधि अन्य अवधिमा जस्तै थियो। तर यसपटक जर्मन बैंकबाट लिएको ऋणको केही हिस्सा वानएमडिबिको सहायक कम्पनी ब्राजेन स्काई लिमिटेडमा परेको प्वाल टाल्नका लागि समेत खर्च गरिएको थियो।


 
 
सन् २००९ को गुडस्टार अवधिमा वानएमडिबिले संयुक्त लगानीको कम्पनी वानएमडिबि-पिएसआईका लागि लगानी गरेको एक अर्ब ८३ करोड डलरमध्ये एक अर्ब तीन करोड डलर झो तथा उनीसँग सम्वन्धित व्यक्तिको लाभमा प्रयोग गरिएको थियो।

अक्टोवर २०१५ मा वानएमडिबिले ब्राजेन स्काई होल्डिङमा दुई अर्ब ३१ करोड ८० लाख डलरको फण्ड भएको दावी गर्यो। कम्पनीले सुरुमा लगानी भएको एक अर्व ८३ करोड डलरसँगै ४८ करोड ८० लाख डलर नाफासहित फण्ड दुई अर्ब ३१ करोड ८० लाख डलर पुगेको जानकारी दिएको थियो।

ब्रिज पाटर्नर इन्भेष्टमेन्ट लिमिटेडले व्यवस्थापन गरेको यो 'फण्ड युनिट'लाई डिओजेले मूल्यविहिन दावी गरेको छ।

जर्मन बैंकबाट वानएमडिबिका लागि दिइएको ९७ करोड ५० लाख डलर ऋणमध्ये आभार सेसिल्सले २३ करोड ३० लाख डलर पाएपछि त्यसको दुई दिनमा ११ करोड १० लाख डलर लम्बासा ग्लोबल अपर्चुनिटी फण्डमा ट्रान्सफर गरिएको थियो।

लाम्बासा पनि इन्ट्रप्राइज र सिस्नेक जस्तै पैसा पास गर्नका लागि खडा गरिएको नक्कली कम्पनी थियो।

लाम्बासाले पैसा पाएपछि त्यसको केही दिनमा त्यो पैसा फेरी ब्रिज ग्लोबल फण्डमा ट्रान्सफर गरियो। र त्यो रकम फेरी ब्राजेन स्काईमा पठाइयो। ब्राजेन स्काइले त्यसबाट नौ करोड ४० लाख डलर वान एमडिबि ग्लोबल इन्भेष्टमेन्ट लिमिटेडमा पठायो। यो वानएमडिबिको अर्को असली सहायक कम्पनी थियो।

यो सबै कारोवार विभिन्न कम्पनीमा वानएमडिबिले गरेको लगानी सही छ भनेर ढाँट्नका लागि गरिएको थियो।

जर्मन बैंकबाट दोस्रो चरणको ऋण पाएपछि आभार सेसिल्सले त्यो पैसा पहिले जस्तै गरी ब्राजेन स्काईमा पठायो। पाँच पटकसम्म यो पैसा रोटेशन गर्ने चक्र पूरा गरेपछि त्यो रकम वानएमडिबि ग्लोबल इन्भेष्टमेन्टमा नपठाएर आभार सेसिल्समै फिर्ता गरियो।

यसरी छ पटकको चक्र पूरा गर्दा ब्राजेन स्काईमा लगानी र नाफा भएको गरी एक अर्ब ४१ करोड २० लाख डलर फण्डको पूरै ऋण चुक्ता गरिएको देखाइयो।
 
 
 
ब्राजेन स्काईको फण्डलाई जर्मन बैंकले धितो राखेको थियो। ऋणका लागि बैंकको अनुमति विना फण्ड ट्रान्सफर गर्न नपाइने शर्त थियो। तर बैंकको अनुमति विना नै फण्ड ट्रान्सफर भएपछि जर्मन बैंकले ऋणको शर्त उल्लघन भएको ठहर गर्यो। बैंकले पहिलो किस्ताको ९७ करोड ५० लाख डलर ऋण फिर्ता गर्न ताकेता गर्यो।

मलेसिया सरकारले यही बेला वानएमडिबिको केही सम्पत्ती आफूले लिने घोषणा गर्दै त्यसको बदलामा एक अर्ब डलर आईपिआईसिका लागि दिने निर्णय गर्यो।

अप्रिल २०१६ मा वानएमडिबि र मलेसियाको अर्थमन्त्रालयले आइपिआईसिलाई दिने भनेको पूरा रकम चुक्ता नभएको भन्दै विवाद सिर्जना गर्यो। अप्रिल २०१७ मा यो विवादलाई सल्टाउन वानएमडिबिले आइपिआईसिलाई एक अर्व २० करोड डलर दिने प्रतिवद्धता गर्यो। यही आधारमा मलेसिया सरकारले गत वर्ष आइपआईसिलाई एक अर्ब २० करोड डलर दियो।
 
 

अब के हुन्छ ?

 
यो कारोवारलाई लिएर स्विजरल्याण्ड र सिंगापुरका थुप्रै बैंकलाई नियामक निकायले कारवाही गरिसकेका छन्। स्विस सरकारले विभिन्न बैंक खाताबाट वानएमडिबिसँग सम्वन्धित १० करोड डलर सिज समेत गरेको छ।

जनवरी २०१७ पहिले न्युजिल्याण्डमा झोसँग सम्वन्धित सम्पत्ती डिओजेले जफत गर्न खोजेको थियो। तर न्युजिल्याण्डको अदालतले झोको सम्पत्तीको अधिकारलाई सुरक्षित गर्दै थुप्रै सम्पत्ती नयाँ ट्रस्टमा सार्न अनुमति दिएको छ।

झोसँग २५ करोड ६० लाख डलर बराबरको बमबार्डिएर जेट, वेभर्लि हिलमा हिलक्रिस्ट प्रोपर्टी लगायत तीन वटा सम्पत्ती छन्।

डिओजेले गत अगस्टमा झोविरुद्ध सार्वजनिक मुद्दा चलाएको छ भने एफबिआईले क्रिमिनल मुद्दामा छानविन सुरु गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी तथा रिपब्लिकनका डोनर एलिएट ब्रोइडिले झोमाथि भैरहेको छानविन रोक्न ट्रम्पसँग लविङ गरेका छन्।
सन् २०१३ को चुनावदेखि नै वानएमडिबि मुद्दा मलेसियामा तातो विषय बनेको छ। मलेसियामा केही महिना अघि भएको चुनावमा महाथिरले यही विषयलाई मुद्दा बनाएका थिए। उनले यही कारण चुनावमा जित समेत हासिल गरे।

अहिले मलेसिया सरकारले विभिन्न एजेन्सीमार्फत यो मुद्दामा छानविन गरेको छ। पूर्वप्रधानमन्त्री नाजिवदेखि उनकी श्रीमतीसम्म बयान लिइएको छ। नाजिवको घरमा छापा मार्दा कम्तिमा दश करोड आरएम नगद बरामद गरेको छ भने करोडौं डलरको हिरा, जवाहरात, डिजाइनर व्याग लगायत बरामद गरेको छ।