‘फोर्सफुल’ नभनी बाणिज्य बैंकहरुको ‘बिग मर्जर’ गर्ने पक्षमा गभर्नर, पूर्वाधारलाई छुट्टै विभाग

बिजमाण्डू
२०७५ असार २८ गते ०६:४२ | Jul 12, 2018
‘फोर्सफुल’ नभनी बाणिज्य बैंकहरुको ‘बिग मर्जर’ गर्ने पक्षमा गभर्नर, पूर्वाधारलाई छुट्टै विभाग

 
काठमाडौं। नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको 'फोर्सफुल मर्जर' को बिषयलाई 'सफ्ट' लाईनबाट उठाएको छ। आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बाणिज्य बैंकहरुको मर्जरलाई विशेष प्राथमिकतामा राखेका छन्।
 
संख्या नै तोकेर मर्जरमा जाने तयारीमा रहेका गभर्नर नेपालले सरकारी पक्षबाट ठूलो साथ नपाउने देखेपछि 'फोर्सफुल' मर्जरलाई तत्कालका लागि थाति राख्दै सफ्ट लाइनबाट मर्जर अगाडि बढाउने पक्षमा देखिएका हुन्।
 
'बाणिज्य बैंकहरुबीच गाभ्ने गाभिने र प्राप्ति प्रकृयालाई थप प्रोत्साहित गरिने छ' उनले भने। गभर्नर विकास बैंक र फाइनान्स कम्पनीको मर्जरमा भन्दा बाणिज्य बैंकहरुबीचकै मर्जरमा बढि लक्षित हुने क्षन् भन्ने उनको मौद्रिक नीतिमा देखिन्छ। गभर्नर निकट स्रोतका अनुसार, आगामी बर्ष बाणिज्य बैंकहरुको संख्या घटाउन राष्ट्र बैंकले विशेष पहल गर्ने छ।
 
ठूलो संख्याका कारण बाणिज्य बैंकहरुबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्न र वित्तीय क्षेत्र स्थायित्वलाई थप सुदृढीकरण गर्न मर्जरलाई प्रोत्साहित गरिने उनले बताए।
 
गभर्नर नेपालले लघुवित्त संस्थाहरुको मर्जरलाई पनि प्राथमिकतामा राखेका छन्। मौद्रिक नीतिमा लघुवित्त संस्थाहरु गाभ्ने बिषयले पनि प्राथमिकता पाएको छ।
 
राष्ट्र बैंकले पूर्वाधार विकास बैंकहरुको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विभाग गठन गरेर अगाडि बढ्ने संकेत गरेको छ। पूर्वाधार विकास बैंकहरुको स्थापना र संचालनको लागि आवश्यक नियमन, निरिक्षण र सुपरिवेक्षण सम्बन्धि नीतिगत ब्यवस्थाहरु तर्जुमा गरिने गभर्नर नेपालले बताए।
 

Tata
GBIME
Nepal Life