महालक्ष्मी ब्राण्डमा नयाँ तोरी तेल उद्योग, ३२५ रुपैयाँ लिटर, सानो लगानीमा जिल्लामै उद्योग

रासस
२०७५ असार ६ गते १५:३५ | Jun 20, 2018
बागलुङ। महालक्ष्मी तेल उद्योगले प्रशोधित शुद्ध तोरीको तेल बजारमा ल्याएको छ। उद्यमी सुवास राजभण्डारीको एकल लगानीमा खुलेको उद्योगले दैनिक एक सय लिटरसम्म तेल उत्पादन गर्ने गरेको छ। 
 
धवलागिरि क्षेत्रका उपभोक्तालाई लक्ष्य गरी तेल उद्योग सञ्चालन गरेको उद्यमी राजभण्डारीले बताए। आधुनिक उपकरणजडित जिल्लाकै पहिलो उद्योग भएको उनको दावी छ। तोरी पेल्न र शुद्धीकरणको लागि इटालीयन प्रविधिका ‘स्ट्रेलर’ र ‘कम्प्रेसन’ यन्त्र जडान गरिएको छ। 
 
तीन चरणमा तेल छानिन्छ। परीक्षण उत्पादन गरी तेलको गुणस्तर कायम गरेर बजारमा पठाइएको राजभण्डारीले बताए। तेलको मूल्य प्रति लिटर ३२५ रुपैयाँ कायम गरिएको छ। बाह्र लिटरभन्दा बढी खरिद गर्नेलाई प्रति लिटर तीन सयका दरले तेल उपलब्ध गराउने गरिएको छ।
 
एक महिलाअघि सञ्चालन गरिएको उद्योगबाट उत्पादित तेल बागलुङसँगै, म्याग्दी, पर्वत र मुस्ताङको बजारमा पुगेको छ। यस क्षेत्रमा न्यून मात्रमा उत्पादन हुने भएकोले उद्योगको लागि बाहिरबाट तोरी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। उनले करीब ३० लाख रुपैयाँको लागतमा सो उद्योग सञ्चालन गरेका हुन्। 

Tata
GBIME
Nepal Life