बैंकहरुबीचको भद्र सहमतिले ऋणको ब्याज कति घट्ला? बैंकर भन्छन्- अब ऋण महँगिँदैन

बिजमाण्डू
२०७५ असार ८ गते १६:४७ | Jun 22, 2018

 
काठमाडौं। निक्षेपको ब्याज बढाबढले ऋणको ब्याज महँगिएर अर्थतन्त्रलाई नै समस्या पार्छ भन्ने तर्कसहित बैंकर्स संघले भद्र सहमति गरेको छ। उसले निक्षेपको ब्याज बृद्धि रोक्दै ऋणको पनि बढ्न नदिने सहमति गरेको छ।
 
तर बैंकहरुको भद्र सहमतिले ऋणको ब्याज दर घट्छ त? 
 
बैंकर्सले ऋणको ब्याज नघटे पनि थप बढ्न नपाउने तर्क गर्न थालेका छन्। 
 
'सहमति तोडिएपछि ब्याज दर १२/१३ प्रतिशतसम्म पुग्न थालेको थियो' संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बिजमाण्डूसँग भने, 'यही दरमा निक्षेप नवीकरण हुँदा आधार दर बढ्थ्यो र ऋण थप महँगो हुन्थ्यो। अब कम्तिमा आधार दर बढ्न पाउँदैन।'
 
बैंकहरुसँग रहेको निक्षेपमध्ये ५ देखि १० प्रतिशत नवीकरणको चरणमा छ। यो निक्षेप १२/१३ प्रतिशतमा नवीकरण नभएर साढे १० प्रतिशतमा नवीकरण हुन्थ्यो। बैंकहरुबीचको सहमतिपछि अब केही सस्तोमा नवीकरण हुन्छ।
 
'ब्याज दर घट्छ घट्दैन भन्न सक्दिन तर अब बढ्दैन' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'यसले पनि ऋणीलाई फाइदा नै पुर्याउँछ।'
 
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकहरुको नाफाका लागि सहमति नगरिएको प्रस्ट पार्दै ब्याज दरमा सुनिष्चितता सहमतिले ल्याएको बताए। 
 
'यहाँ जति पनि ब्याज बढ्ने अवस्था आइसकेको थियो। यसले ऋणको ब्याज अझ महँगो बनाउने थियो' उनले भने, 'अब ऋणको ब्याज बढ्दैन। बरु निक्षेप पहिलेभन्दा कम दरमा राखिने भएकाले ऋणकै ब्याज दर पनि सामान्य भए पनि घट्ने अवस्था छ।'
 
बैंकहरुले आधार दरलाई देखाएर ब्याज बढाए पनि राष्ट्र बैंकले त्यो अस्वभाविक भएको जनाएको छ। बैशाखसम्मको विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले निक्षेपमा दिनेभन्दा ऋणमा लिने ब्याज अस्वभाविक रुपमा महँगो भएको उल्लेख गरेको छ।
 
बैंकहरुको ब्याज बढाबढको अवस्थाले मूल्य बृद्धिमा पनि चाप पर्ने देखिएको शाहको भनाइ छ। अब भने मूल्य बृद्धिमा पनि ब्याज दरका कारणले ठूलो चाप पर्दैन, उनले भने।
 
'ब्याज बढ्दा उपभोग्य सामग्रीको समेत मूल्य बढ्छ' उनले भने, 'निक्षेपकर्ताले बढि ब्याज पाए पनि ऋणको बृद्धिले हुने मूल्य बृद्धिका कारण उ आँफै पनि पीडित हुन्थ्यो। त्यसैले ब्याज महँगो हुनु कसैका लागि पनि राम्रो होइन।' 

Tata
GBIME
Nepal Life