बजारप्रति लगानीकर्ता सशंकित हुँदा कारोबार रकम घट्यो, सूचक बढेपनि जम्मा १८ करोडको कारोबार

बिजमाण्डू
२०७६ असोज ६ गते १५:४४ | Sep 23, 2019


काठमाडौँ। लगातार दुई कारोबार दिन घटेको शेयर बजारमा तेस्रो दिन झिनो अंकको सुधार देखिएको छ। कारोबार मापक सूचकमा सुधार देखिएपनि कारोबार रकम भने क्रमिक रूपमा घट्न थालेको छ।

Tata
GBIME
Nepal Life

सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १.७३ अङ्कले बढेर ११४०.९८ अंकमा उक्लिएको छ। दुई कारोबार दिनमा शेयर बजार ३४ अङ्कले घटेको थियो।

गत बिहीबार र आइतबार शेयर मापक सूचक भारी अङ्कले घटेको थियो। शेयर बजारमा अल्पकालीन लगानीकर्ताले छोटो समयको नाफा सुरक्षित गर्न थालेपछि शेयर बजार घट्दो क्रममा देखिएको हो।

पछिल्लो समय दुई कारोबार दिनमै बजारले फराकिलो अङ्कको बढेको थियो।

सोमबारको कारोबारमा शेयर बजार मापक सूचकमा झिनो अङ्कको बढोत्तरी देखिएको भएपनि लगानीकर्ताले शेयर कारोबार घटाएका छन्।
पछिल्ला कारोबार दिनहरूमा लगानीकर्ताहरूले शेयर कारोबार घटाउँदै लगेका छन्। सोमबार कारोबार रकम करिब १८ करोड रुपैयाँमा खुम्चिएको छ।

सात लाख ४३ हजार कित्ता शेयर १७ करोड ७२ लाख रुपैयाँमा कारोबार भयो।जबकी अघिल्लो दिन आइतबार करिब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आइतबारको तुलनामा कारोबार रकम करिब पाँच करोड रुपैयाँले खुम्चिएको हो। छोटो समयमै बजार फराकिलो अंकले बढ्ने र त्यही अनुरूप फर्किन थालेपछि लगानीकर्ता अन्योलमा परेका छन्। आगामी दिनमा बजारले तय गर्ने दिशा सुनिश्चित नहुँदा उनीहरूले कारोबार घटाएका हुन्।लगानीकर्ताले बजार बढ्ने बलियो आधारको पर्खाइमा रहेका छन्।

सोमबार सकैभन्दाबढी प्रभु बैंकको सबैभन्दा बढी शेयर कारोबार भयो। उसको मात्रै एक करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। शिवम् सिमेन्टको दोस्रो बढी कारोबार भएको छ। उसको एक करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सोमबार उपसूचक मिश्रित देखिएका छन्। १२ समूहको शेयर कारोबारमा तीन समूहको उप सूचक घटेको छ। जलविद्युत फाइनान्स र सामूहिक लगानीकोषका उपसूचक घटेका हुन्।

बाँकी रहेका सबै उपसूचक बढेका छन्। सबैभन्दाबढी ट्रेडिङ समूहको उपसूचक २.८४ प्रतिशतले बढेको छ।