भाइब्रेन्ट नेपालगञ्ज: कुलमान जस्तै कर्मशील ‘धवल राजा’, जसले यसरी बदल्दैछन् बाँकेको मानचित्र

भावना शर्मा/बिजमाण्डू
२०७६ असोज ५ गते १४:१६ | Sep 22, 2019
भाइब्रेन्ट नेपालगञ्ज: कुलमान जस्तै कर्मशील ‘धवल राजा’, जसले यसरी बदल्दैछन् बाँकेको मानचित्र


Tata
GBIME
Nepal Life

हाल देखिएका फराकिला सडक तथा नाला र ढल व्यवस्थापनका लागि उपमहानगरपालिका तथा एडिबीको एकीकृत शहरी विकास परियोजना अन्तर्गत मुख्य र सहायक मार्ग गरी कुल  १८ किलोमीटर सडक तथा नाला बनिसकेको छ। 

नेपालगञ्ज। २४ वर्षका रमेश रैदास कारकाँदोको मिलिजुली टोलमा बस्छन्। ७ पढेर उनले स्कुल छोडिदिए अनि साहुको ट्याक्टर चलाउन थाले। अहिले पनि उनका धेरै साथीहरु काम खोज्दै भारत गएका छन्। कोही खाडी देशमा पनि छन्। रमेशलाई भने आफ्नै टोल रमाइलो लाग्न थालेको छ। 

किन त?

'हाम्रो नेपालगञ्ज अहिले त धेरै राम्रो भैसक्यो नि!' उनले उत्साहित हुँदै भने- 'म हुर्किँदा यही बाटोमा दिसा बस्थें। न धारा थियो न ट्वाइलेट। नालामात्रै बग्थ्यो बाटोमा। स्कुल जान पनि हिलोमा गाडिएर हिँड्नुपर्ने, त्यै झोकमा ७ पढेपछि पढाइ नै छोडिदिएँ।' 

उनी सानोमा घुँडासम्म गाडिएर जुन बाटो हिँड्थे अहिले त्यहाँ पिसिसी ढलानयुक्त बाटो बनेको छ। बाटोको किनारमा नाला। घर/घरमा ट्वाइलेट छ अनि धारा पनि। तीन महिनाअघि छोरा रोहित जन्मिँदा त उनी सरर रिक्सामा हालेर श्रीमतीलाई अस्पताल लैजान सक्ने भए। 

नजिकै अस्पताल, बाटो अनि घरमा भएको धारा र ट्वाइलेट यी सबै रमेशको परिवारको आधारभूत आवश्यकता थिए जुन नेपालगञ्जका हरेक साना टोलका ससाना सपना थिए जुन यहाँ  पूरा भैसकेको छ। 'पैसा त काम गरेर कमाइहालिन्छ। बस् परिवारलाई तकलिफ हुन भएन!' रमेश नेपालगञ्जको बदलिँदो परिवेशप्रति आशावादी छन्। 

जाजरकोटका पृथ्वीवहादुर सिंह तीन वर्ष अघि नेपालगञ्ज झरे। चार वर्षअघि पक्षघातबाट थलिएका पृथ्वीबहादुर उपचार गर्नकै लागि तीन वर्षअघि पहिलोपटक नेपालगञ्ज आएका थिए। पटक पटकको ओहोरदोहोरबाट आजित भएपछि उनी यतै सरे। अहिले उनी नेपालगञ्जमै भाडामा बसेर उपचार अघि बढाइरहेका छन्। लौरोले टेकेर विस्तारै बाटोमा हिँड्छन्। 

उनको साथी लौरो अनि लौरो टेक्ने बाटो पनि पक्की सडक। हिँड्दा लड्छु कि भन्ने पहिलेजस्तो डर उनलाई छैन। कारण नेपालगञ्जका सबैजसो ठूला बाटाहरु चिल्ला कालोपत्रे भइसकेका छन्। टोलका ससाना बस्तीभित्र पनि ४ मिटरको पिसिसी ढलानयुक्त बाटो बनेको छ। 'यहाँ बस्दा उपचार हुन्छ। सबैथोकको सुविधा छ जुन हाम्रो ठाममा छैन' उनले भने।

पृथ्वी बहादुर जस्ता पश्चिमी पहाडी भेगका २४ वटा जिल्लाका बिरामीहरुको उपचार थलो पनि हो नेपालगञ्ज। २५ वटा साना ठूला अस्पताल र मेडिकल कलेज भएको नेपालगञ्ज पछिल्लो समय मेडिकल हब झैं बनेको छ। 

अमिर खाँ कारकाँदो १८ स्थित मुसलमान टोलका बासिन्दा हुन्। उनी पनि अहिले आफ्नो गाउँघर वरपर भएको विकासलाई नजिकबाट नियालिरहेका छन्।‘यति फोहोर हुन्थ्यो कि सँधै गनाउने। बाटोमा पानी जम्ने, पानीमा गाडिएर हिँड्नुपर्ने। हाम्रो टोलका त २, ३ जना बच्चालाई जमेको पानीमा हिँड्दा सर्पले टोकेर मार्यो,’ उनले भने।  अहिले त बाटोमा पानी पनि रोकियो हिँड्न सजिलो भयो हिलो पनि सकियो। बर्मा टोलकी दिलबरिया रैदास जस्तै उनले पनि खुशी पोखे। 

यसै टोलका रामफेरन चमारलाई वरपर सबैको घरमा चर्पी भएपछि आफ्नोमा पनि कहिले होला भन्ने लागिरहेको छ। वरिपरिका सबैले पाएको आफूले नपाएकोमा चिन्ता रहेछ उनलाई। 'पहिले त म बाहिरै दिसा बस्थें। सबैको घरमा भयो मेरो पनि पाइखाना भए हुन्थ्यो।' बस्तीमा देखिएको परिवर्तनले उनमा जीवनस्तर वृद्धिको लालसा मात्र होइन चेतनाको स्तर पनि बढेको देखिन्छ। 

यी प्रतिनिधि पात्रहरुको दैनिकी जति सहज हुँदै गएको छ त्यसरी नै समग्र नेपालगञ्जमा आशाको लहर दौडिएको छ। नेपालगञ्जका सडकहरु चौडा र उच्चस्तरको बनेका छन्। सडक किनारमा कतै फोहोर देखिँदैन।

बाटोको दुबैतर्फ सडकमा रुखहरु रोपिएका छन्। ठूला साना अस्पताल र मेडिकल कलेजका साथै उद्योगहरु छन्। हस्पिटालिटी सेक्टर उस्तै चलायमान छ। सोल्टी जस्ता तारे होटलले समेत संभावनायुक्त शहर मानेर नेपालगञ्जमा आफूलाई विस्तार गरिसकेको छ। वास्तवमै गतिशिल देखिन्छ नेपालगञ्ज।

'पाँच वर्षअघि नेपालगञ्ज पुगेका र अहिले आउने जो कोहीले यो परिवर्तन महसुस गर्न सक्छन्'- नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले भने। दुई वर्षअघि मेयर पदमा निर्वाचित हुँदा ताकाको अवस्था सम्झिँदै धवलशमशेरले त्यसयता नेपालगञ्जको विकासकालागि सबै दल, कर्मचारी र नागरिकहरु एकमत भएर अघि बढेको बताए। 

उनका अनुसार हाल नेपालगञ्जमा जनसंख्या बढ्दै गएको छ। पहाडी भेगबाट बसाई सरेर नेपालगञ्ज झर्ने क्रम तीब्र भएको छ। उनी नेपालगञ्जलाई शिक्षा, स्वास्थ्य, पर्यटन तथा उद्योग ब्यापारको हब बनाउन प्रयास भैरहेको बताउँछन्।

ठूलो संख्यामा खुलेका अस्पताल, होटलहरु, शैक्षिक केन्द्रहरु तथा उद्योग व्यापारको क्षेत्रलाई सँधै चलायमान बनाइराख्नकै लागि आफू केन्द्रित भएको उनले सुनाए।

मानसरोवर जाने भारतीयहरुको स्टे जोन बनेको नेपालगञ्जमा भारतीय पर्यटकलाई टिकाउनका लागि थप ८ वटा क्यासिनो संचालनमा ल्याउने तयारी भैरहेको पनि उनले जानकारी दिए। 

नेपालगञ्जको शहरी क्षेत्रमा जनघनत्व बढिरहेको छ। त्यसकै ब्यवस्थापनकालागि नेपालकै नमुनाका रुपमा नेपालगञ्जमा पहिलोपटक आधुनिक फोहोर ब्यवस्थापन केन्द्र पनि संचालनमा आइसकेको छ। फोहोरको डम्पिङ साइटका रुपमा मात्र नभई प्रशोधन केन्द्रका रुपमा १२ बिघा जमीनमा संचालनमा आएको फोहोर ब्यवस्थापन केन्द्रले सफा सहरको अभियानलाई मात्र सहयोग गर्ने नभई कम्पोष्ट मल उत्पादन गरी आय आर्जनको स्रोत समेत बन्नेमा उनी ढुक्क छन्। 

नेपालगञ्जमा भैरहेको यस परिवर्तनमा सहयोगीका रुपमा एशियाली विकास बैंकको एकीकृत शहरी विकास परियोजनाले सघाइरहेको छ। यसै परियोजना अन्तर्गत नेपालगञ्जमा सडक, ढल र फोहोर ब्यवस्थापनको लागि कामहरु भएका हुन्। सन् २०१४ देखि  सुरु भएको एकीकृत शहरी विकास परियोजना अन्तर्गत यस क्षेत्रमा विकास निर्माणका काम भएका हुन्।

यहाँ हाल देखिएका फराकिला सडक तथा नाला र ढल व्यवस्थापनका लागि उपमहानगरपालिका तथा एडिबीको एकीकृत शहरी विकास परियोजना अन्तर्गत मुख्य र सहायक मार्ग गरी कुल  १८ किलोमीटर सडक तथा नाला बनिसकेको छ। परियोजना यसै वर्ष सकिँदैछ।

सडक तथा नालाको उचित व्यवस्थापनका कारण ठूलो पानी पर्नासाथ जलमग्न बन्ने नेपालगञ्ज शहरमा हाल बढीमा २ घण्टामै पानी सुक्ने गरेको मेयर धवलशमशेरले जानकारी दिए।

उनले भने – 'पहिले पानी सुक्न ६ घण्टाभन्दा बढी लाग्ने गर्थ्यो। नेपालगञ्ज डुबानमा भन्दै समाचार आउँथ्यो। अब त २, ३ घण्टामै पानी सुक्छ। बर्षाको समयमा पनि शहरमा पानी नजम्नु हाम्रो ठूलो सफलता हो।'

नेपालस्थित एडिबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिटका प्रमुख रुडी भान डेल सन् २००७ मा पहिलोपल्ट नेपाल आउँदा काठमाडौंका सडकभरी फोहोरको थुप्रो देखेका रहेछन्। उनलाई पहिलो इम्प्रेसन नै काठमाडौं फोहोरको शहर भन्ने परेको रहेछ।

एडिबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिटका प्रमुख रुडी भान डेल (बीचमा)

नेपालगञ्जमा भएको फोहोर ब्यवस्थापन, सडक विस्तार र समुदाय केन्द्रित कामले दिलाएको परिवर्तनलाई उनी सफलताको रुपमा ब्याख्या गर्छन्। 'नागरिकका आधारभूत सेवाहरुको उचित ब्यवस्थापन नभएमा सँधै समस्या हुन्छ। नेपालगञ्जमा सीमित स्रोतमा पनि उत्कृष्ट काम भएको छ। र समुदायलाई सपोर्ट गर्ने कामले विशेष अर्थ राख्छ'-उनले भने। 

नेपालगञ्ज शहर

एशियाली विकास बैंकले नेपालगञ्जका ससाना बस्तीहरुमा २९ वटा क्लस्टर छानेर काम थालेको थियो। सन् २०१४ बाट सुरु भएको यो परियोजना अन्तर्गत २९ टोलहरुमा ४ सय ६ वटा ट्वाइलेट र ढलान गरेका पक्की बाटो बनेका छन्। 

एडिबीको कुल ११ करोडको सामुदायिक कार्यक्रम अन्तर्गत यी टोलहरुमा विकासको काम भैरहेको एकीकृत शहरी विकास परियोजनाका सोसल सेफगार्ड मननकुमार झाले बताए। बस्तीमै रहेर काम अघि बढाइरहेका झाका अनुसार एडिबीको सहयोगले बिपन्न बस्तीको रुप फेरिँदै गएको छ।

अनलाईन मार्फत आफ्नो नगरपालिकाका कामकारवाही तथा हरेक गतिविधीबारे पारदर्शिता कायम राखेका  मेयरको कर प्रणाली सुधारका लागि नयाँ योजना पनि छ। उनी शहरको फोहोर ब्यवस्थापनका लागि वैज्ञानिक किसिमको कर प्रणाली लागू गर्ने तयारीमा छन्। धवलशमशेर भन्छन्, 'नेपालमा अधिकांश योजना हचुवामा हुन्छ। धेरै भ्रष्टाचार र लोपमा लिप्त छन्। त्यो लोभ र वदमासीबाट यो शहर मुक्त रहोस् भन्नेमा लक्षित छु।' 

मेयर धवलशमशेर

धनीलाई न्युनतम १०० रुपैयाँ र बिपन्न बर्गलाई न्युनतम ३० रुपैयाँ लिने गरी काम सुरु गरेको उनले जानकारी दिए। बर्ग छुट्याएर कर लगाउँदा कोही पनि असन्तुष्ट नहुने उनको आँकलन छ। 

'यहाँ मान्छेलाई उक्साउन सजिलो छ। पहाडी, मुस्लिम र मधेशी समुदाय भएकाले यहाँ सबैलाई मिलाएर विकासका साझेदार बनाएर लैजानु नै सबैभन्दा ठूलो चुनौती पनि छ। तर विकासका सवालमा यहाँ राजनीतिक पार्टी, बोर्ड वा कर्मचारी  र नागरिक सबै एकजुट छौं। कसैबीच कन्फ्लिक्ट छैन। बरु सोसल मिडियाले हचुवामा हल्ला मच्चाइदिन्छन्।'- उनको लामो हाँसो सुनियो।   

धवलशमशेर हालको अवस्थामा नेपालगञ्जबासीको 'रे अफ होप' हुन् जसले जनताप्रति विकासका संभावनाहरुको असिमित ढोका खुल्ने आशा जगाइदिएका छन् र रमेश रैदासजस्ता युवाहरुलाई देशभित्रै कामको अवसर र परिवर्तनको आभाष दिलाएका छन्।