स्ट्याण्डर्ड चार्टर्डले अहिले सम्मकै राम्रो रेटिङ ‘ट्रिपल ए’ पायो, सबैभन्दा सुरक्षित बैंक

बिजमाण्डू
२०७६ असोज २ गते २०:२६ | Sep 19, 2019
स्ट्याण्डर्ड चार्टर्डले अहिले सम्मकै राम्रो रेटिङ ‘ट्रिपल ए’ पायो,  सबैभन्दा सुरक्षित बैंक


Tata
GBIME
Nepal Life

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले अहिलेसम्मकै सबैभन्दा राम्रो रेटिङ पाएको छ। इक्रा नेपालले बैंकको रेटिङ गर्दा अति उच्च मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपी ट्रिपल ए’ पाएको हो।

बैंकको प्यारेन्ट बैंक एससिवी युकेले समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त एजेन्सीबाट ‘ए टु’ रेटिङ प्राप्त गरेको छ।बैंकले वित्तीय जोखिम धेरै कम भएकोले सबैभन्दा राम्रो रेटिङ प्राप्त गरेको हो। बैंकले सम्पूर्ण लगानी सुरक्षित क्षेत्रमा मात्रै गर्दै आएको छ। ठूलो कर्जा प्रवाह गर्दा बैंकले सबैभन्दा सुरक्षित ऋणको रेटिङ पाएका व्यक्ति तथा संस्थालाई मात्रै प्राथमकिता दिने गरेको एजेन्सीले जनाएको छ।

तुलनात्मक रुपमा अन्य बाणिज्य बैंकहरुको भन्दा सस्तो व्याजदर रहेकोले राम्रो रेटिङ पाएका ऋणीहरुको पहिलो रोजाइमा बैंक रहेको एजेन्सीले जनाएको छ।बैंकिङ क्षेत्रमा तरलताको अभाव हुँदा पनि बैंकको निक्षेप संकलन स्वस्थ रहेको एजेन्सीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। बैंकिङ क्षेत्रको कस्ट अफ फण्ड ६.४८ प्रतिशत रहेको अवस्थामा बैंकको भने जम्मा ४.१७ प्रतिशत छ। बैंकमा निक्षेप संकलन गर्ने व्यक्ति तथा संस्थाले सुरक्षित बैंक रोजेको संकेत गर्छ।

बैंकको अण्डर राइटिङ व्यवस्थापन कडा भएकोले पनि सबै वित्तीय सूचक राम्रो छ। बैकको व्यवसायिक बृद्धिदर र नाफाको बृद्धिदर स्वस्थ रहेको एजेन्सीले जनाएको छ। केही बैंकहरुको नाफा कुनै वर्ष धेरै प्रतिशतले बढ्ने र  कुनै वर्ष बृद्धिदर नै घट्ने गरेको पाइन्छ। तर बैंकको यो पक्ष धेरै राम्रो रहेको एजेन्सीले जनाएको छ।

बैंकको ३५ प्रतिशत निक्षेप र ३० प्रतिशत ऋण २० जना ग्राहकसँग छ। बैंकको साना तथा मझौता कर्जाको हिस्सा ५५ प्रतिशत छ। यसले बैंकको कर्जाको जोखिम बाँडिएको संकेत गर्छ। प्यारेन्ट कम्पनी स्ट्याण्डर्ड चार्टर्ड ग्रुप र एससिवी युकेले बैंकलाई व्यवस्थापकीय र प्राविधिक सहयोग गर्दै आएको छ। यसले पनि बैंकलाई थप प्रतिस्पर्धी बनाएको एजेन्सीले जनाएको छ। बैंकको ७० प्रतिशत शेयर पूँजी एससिवी युकेको छ।