वीरगंज। अर्थमन्त्रालयले चासो राखेपछि प्रिन्सा अटोमोटिभले जस्तै गरी आयात गरिएका टेस्ला र विद्युतीय ज्यागुआरको भन्सार जाँचपास रोकिएको छ।
आवश्यक कागजात प्राप्त नभएपछि टेस्ला र विद्युतीय ज्यागुआरको भन्सार जाँचपास रोकीएको वीरगञ्जस्थित सिर्सिया भन्सार प्रमुख उमेश श्रेष्ठले जानकारी दिए।
विद्युतीय ज्यागुअर कार काठमाडौंको किशोर गियर प्रालिले र अमेरिकन कम्पनी टेस्ला मोटर्सले उत्पादन गरेको इलेक्ट्रिक टेस्ला कार वेस्टार ग्यालेक्सी ट्रेडिङले आयात गरेको हो।
सिर्सिया भन्सारमा ज्यागुआरका दुई वटा र टेस्लाको एउटा गरी तीनवटा गाडीको भन्सार जाँचपास रोकिएको प्रमुख श्रेष्ठले जानकारी दिए। यी तीन वटा गाडी झण्डै २० दिन अघि वीरगञ्ज आइपुगेका थिए।
‘सवारी साधन पैठारी सम्बन्धी कानुनअनुसार केही कागजात पुगेको छैन, ती कागजात माग गरेका छौ,’ भन्सार प्रमुख श्रेष्ठले भने, ‘कागजात उपलब्ध नगराए हामी कारवाही प्रकृया थाल्छौ।’ उनले अहिले धेरै कुरा गर्न नमिल्ने समेत बताए।
ज्यागुआर र टेस्लाको कार समेत बेलायतकै जेम्सन कार्टर लिमिटेडबाट आयात गरिएको स्रोतले जानकारी दियो। जेम्सन कार्टर राज वेदीले सञ्चालन गर्ने कार रिटेलर कम्पनी हो। यही कम्पनीबाट जर्मन कम्पनी अडिका तीन वटा विद्युतीय गाडी प्रिन्सा अटोमोटिभले आयात गरेको थियो।
प्रिन्साले जुन प्रक्रियाबाट गाडी आयात गरेको थियो, ज्यागुआर र टेस्ला समेत त्यही प्रक्रियाबाट आयात गरिएको स्रोतले जानकारी दियो। आर्थिक ऐन २०७६ अनुसार प्रिन्साले गाडी आयात गर्न पूरा गरेको प्रक्रिया गैरकानूनी हो।
नेपालमा नयाँ सवारी साधन आयात गर्न दुई वटा बाटा छन्। पहिलो बाटो हो, निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत सवारी साधनको आयात गर्ने।
दोस्रो बाटो हो, निर्माता कम्पनीले नेपालका लागि विदेशस्थित कम्पनीलाई आधिकारिक विक्रेता तोक्ने अनि त्यही आधिकारिक विक्रेताले नेपालमा नियुक्त गरेको आधिकारिक विक्रेतामार्फत सवारी साधन आयात गर्ने।
तर प्रिन्साको सन्दर्भमा अडिले गाडी निर्यात गर्ने बेलायती कम्पनी जेम्सनलाई आधिकारिक विक्रेता नियुक्त गरेको छैन्। आधिकारिक विक्रेता नबनिकनै जेम्सनले भने प्रिन्सालाई आधिकारिक विक्रेता नियुक्त गरेको छ।
ज्यागुआर र टेस्लाका सन्दर्भमा समेत यही प्रक्रिया फ्लो गरिएको स्रोतले जानकारी दियो। टेस्ला र ज्यागुआर कम्पनीले जेम्सनलाई नेपालका लागि आधिकारिक विक्रेता नियुक्त गरेका छैनन् तर जेम्सनले भने विन अथोरोटी नेपालका लागि आफ्नो आधिकारिक विक्रेता नियुक्त गरेको छ।
पछिल्लो समय नेपालमा विदेशबाट अनाधिकृत रुपमा कार आयात गर्ने क्रम बढेपछि आयातकर्तामाथि समेत छानविन थालिएको छ। अनाधिकृत रुपमा महँगा गाडी तेस्रो मुलुकबाट भित्र्याएको उजुरीपछि अर्थमन्त्रालयले छानविनका लागि भन्सार विभागलाई मौखिक निर्देशन दिएको थियो।
त्यही आधारमा विभागले सबै भन्सार कार्यालयलाई अनाधिकृत रुपमा आएका गाडीको जाँचपास रोक्न निर्देशन दिएको छ। यो निर्देशनपछि तेस्रो मुलुकबाट आएका गाडी सुख्खा बन्दरगाहमा रोकिएका छन्।
रिटेलर कम्पनीबाट गाडी आयात गरेर बिक्री गर्न पाईँदैन्। अर्थमन्त्रालय स्रोतका अनुसार यसरी आयात भएको गाडी जफत गर्न सक्ने समेत अधिकार ऐनले भन्सार विभागलाई दिएको छ।