सम्पत्ति हस्तान्तरणमा कर: हठात निर्णय समाजले स्वीकार्दैन, गगन थापाको विचार

बिजमाण्डू
२०७६ असोज १ गते १३:५२ | Sep 18, 2019
सम्पत्ति हस्तान्तरणमा कर: हठात निर्णय समाजले स्वीकार्दैन, गगन थापाको विचार


Tata
GBIME
Nepal Life

सम्पत्तिसम्बन्धी नयाँ नियम ल्याउँदै छ भन्ने कुरा मैले पनि छिटफूट रुपमा सुनेको छु।

सरकारले कुनै पनि कानुन ल्याउँदै गर्दा त्यसको निश्चित उद्देश्य बोकेको हुन्छ। त्यसका आफ्ना औचित्य पनि हुन्छन्। त्यसले तत्कालीक के प्रभाव पार्छ? दीर्घकालिन के प्रभाव पार्छ? सबै कुरालाई हेर्नुपर्ने हुन्छ। के सोचेर ल्याउन लागिएको हो? यो एउटा कुरा भयो। त्यो थाहा पाइएको छैन।

दोस्रो कुरा करकै सन्दर्भमा भन्ने हो भने करको दरको हिसाबले हेर्ने हो भने हामी उच्च दर भएको देशमध्येमा पर्छौ। त्यसैले यस विषयलाई नागरिक तहबाट कसरी लिइन्छ भन्ने हो।  

यी विषयमा केही छलफल भएकै छैन। पार्टीमा पनि छलफल भएको छैन। यस्तो अवस्थामा मेरो ठम्याई के हो भने, हाम्रो जस्तो सामाजिक संरचनामा सामाजिक सुरक्षाको ठूलो दायित्व परिवारले बोकेर बसेको हुन्छ। वर्षौअघिदेखि 'इभोल्भ' भएर आएको यस्तो संरचनालाई हठातको निर्णयले परिवर्तन पनि हुँदैन। 

यसरी परिवारले गर्दै आएको जिम्मेवारी राज्यले बोक्न सक्ने अवस्थाको विकास नभइ र  विश्वासमा नलिइ हठात निर्णय गर्दा यसलाई समाजले स्विकार्दैन। यस्तो हुन खोजे यसले ठूलो उथलपुथल ल्याउँछ।

दोस्रो कुरा अर्थमन्त्रीको टिप्पणी सुन्दै गर्दा हामीहरुमा उद्यमशीलता नभएको, विकास नभएको, भ्रष्टाचार सबै समस्याको कारण सम्पत्ति परिवारबाट एउटाबाट अर्कोमा हस्तान्तरण हुने प्रणालीले भएको भन्ने आरोप लगाउनुहुन्छ। यसको प्रमाण के? यसको तथ्य के? यो हटाइयो भने उहाँले भनेको जस्तो हुन्छ? 

मैले काम गरे। मैले आर्जन गरेको सम्पत्ति मेरो परिवारसम्म जाने कुरा चाहि जाँदैन। यसबाट उहाँले भन्नुभए जस्तो समस्या समाधान हुन्छ त? यसले थप लगानी गर्छ, थप सञ्चय गर्छ भन्ने कुराको प्रमाण के हो त? के के आधारमा हो?

हचुवा र लहडको भरमा यस्तो विषयलाई स्थापित गर्ने कोशिश गर्नुहुँदैन। यो सन्दर्भमा मेरो अनुरोध हो। 

अर्थमन्त्रीले भनेजस्तो हो भने प्रमाणसहित बसेर छलफल गरौ। अहिले हाम्रो राज्यकोषको अवस्था के छ? जुन सञ्जाल बनाएका छौ। सामाजिक सुरक्षामा जनताको विश्वास कतिको छ? सामाजिक सुरक्षाको आधार त अहिले परिवार नै हो। यसको विकल्पमा कर तिरेपछि राज्यबाट सुविधा कसरी आउँछ। त्यो जनतालाई थाहा छँदै छ।

उद्यमशीलता भएन। भ्रष्टाचार यही सम्पत्ति हस्तान्तरणका कारण हुन्छ भनेर अर्थमन्त्रीको भाषण सुनेको हो। अरु साइडको स्टोरी पनि होला नि। मान्छेले काम गर्न खोज्छ। लगानी गर्न खोज्छ। सबैतिरबाट हेरेरमात्र यो बाटो लाग्नुपर्छ। 

यो उहाँहरुको निर्वाचनको घोषणापत्रमा भन्नुभएको विषय पनि हैन। यो संसदमा प्रस्तुत गरेको विषय नै हो। यो बीचमा आएको विषय छ। साँच्चै फाइदा हुने खालको सोचाइ वा प्रस्तावना छ भने हामी त विद्वान अर्थमन्त्रीसँग के अपेक्षा गर्छौ भने जुन ठाउँमा राख्नुपर्ने हो त्यहाँ राखिन्छ। छलफल गरिन्छ। उहाँको लामो भाषणको सानो अंश बनेर बाहिर आएको कुरा छ। अथवा यसलाई उहाँले पानीटेस्ट गरेको पनि हुन सक्छ। कतिको तातो छ कतिको चिसो छ भनेर। हेर्दै जाउँ कस्तो हुन्छ। 

तर, कुन उद्देश्यका लागि ल्याएको हो बुझ्न सकिएको छैन। यदि जबर्जस्ती यो पैतृक सम्पत्तिमाथि उच्च कर लगाउने नीति ल्यायो भने यो पुरा हुन्छ भन्ने मलाई लाग्दैन। यसलाई नेपाली समाजले स्वीकार नै गर्दैन।