लगानी बोर्डले सहयोग नगरेपछि ५५ करोड डलरको डाङ्गोटे बाहिरिँदै, ‘लिक्विडेसन’ सक्यो

बिजमाण्डू
२०७६ भदौ ३० गते १०:५६ | Sep 16, 2019
लगानी बोर्डले सहयोग नगरेपछि ५५ करोड डलरको डाङ्गोटे बाहिरिँदै, ‘लिक्विडेसन’ सक्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारी सहयोग नपाएपछि अन्तत: नाइजेरियाको कम्पनी एलिको डाङ्गोटे बाहिरिने भएको छ। ६ बर्षअघि लगानी स्वीकृत गराए पनि सरकारले सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा खानी नदिँदा अन्तत: डाङ्गोटे बाहिरिने भएको हो।

एलिकोको नाइजेरियाली कम्पनी डाङ्गोटे ग्रूपले नेपालमा सिमेन्ट उद्योग स्थापनाका लागि ५५ करोड अमेरिकी डलर लगानी भित्र्याउने अनुमति १५ कात्तिक ०७० मा नै पाएको थियो। 

निरन्तर पहल गर्दासमेत खानी विभागदेखि लगानी बोर्डसम्मको असहयोगले डाङ्गोटे फिर्ता हुने भएको हो। उसले नेपालमा गर्ने भनेको लगानी भारतमा गर्ने भएको छ।

'डाङ्गोटेले यहाँबाट बाहिरिन 'लिक्विडेसन' को काम सकिसकेको छ' कम्पनीमा आबद्ध एक अधिकारीले भने, 'अब सरकारलाई औपचारिक जानकारी दिएर बाहिरिने तयारीमा छौं।'

उनका अनुसार, सरकारले एकातिर बैदेशिक लगानी भन्ने तर लगानी गर्छु भन्नेलाई निरास बनाउने काम गर्छ। यहाँ कर्मचारीस्तरदेखि राजनीतिक तहसम्म कुनै गम्भिरता छैन।

'लगानी प्रबर्द्धन गर्न बनेको लगानी बोर्डले पनि कुनै सहयोग गरेन। अनि निरासा बोकेर बाहिरिनु परेको छ' ती अधिकारीले भने, 'नेपाल आउन चाहने बैदेशिक लगानीलाई पनि यसले राम्रो सन्देश दिँदैन।'

डाङ्गोटेले ठिक तीन वर्षअघि खानी विभागले बोलपत्र आह्वान गरेका १५ स्थानकामध्ये पाल्पा, धादिङ र मकवानपुर गरी तीन ठाउँको खानीका लागि प्रस्ताव हालेको थियो । जसको प्राविधिक मूल्यांकनमा भने डाङ्गोटेलाई अयोग्य ठहर्याइयो। जबकि, सिमेन्ट उत्पादनको प्राविधिक क्षमता डाङ्गोटेको सबैभन्दा बलियो पक्ष हो।

करिब डेढ बर्षअघि पनि यसले धादिङको ‘एक’ खानी उपलब्ध गराइदिन लगानी बोर्डमार्फत सरकारलाई आग्रह गरेको थियो। त्यसबाहेक पनि प्रस्तावित उत्पादन क्षमता (दैनिक ६ हजार टन) धान्ने धादिङ, मकवानपुर आसपास राम्रो गुणस्तरको चुनढुङ्गा भएको कुनै पनि भए हुने भनेको थियो।

नेपालमा सिमेन्ट उद्योग खोल्न डाङ्गोटेले सन् २०१३ मै यसको प्रक्रिया थालेको थियो। दैनिक ६ हजार टन क्लिंकराइजेशन क्षमतासहितको सिमेन्ट उद्योगका लागि ५५ करोड अमेरिकी डलर लगानी गर्ने प्रस्ताव लगानी बोर्डमा पेश गरेको थियो।