मौसम परिवर्तनको प्रभावः नेपालका अधिकांश नदीको पानीको सतहनै घट्यो

बिजमाण्डू
२०७६ भदौ २९ गते ०८:५८ | Sep 15, 2019
मौसम परिवर्तनको प्रभावः नेपालका अधिकांश नदीको पानीको सतहनै घट्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो समय साना जलविद्युत आयोजनाका प्रवर्द्धकले मौसम परिवर्तनका कारण खोलामा पानी घटेपछि नोक्सानी धान्नै नसक्ने बताएपछि सबैको ध्यान तानेको छ। वर्षौ अध्ययन गरेर आयोजना निर्माण गरेका लगानीकर्ताले विजुली बेचेर बैंकको ऋण तिर्न पनि नसकेको बताए।

यो विषयसँगै के साच्चिकै उनीहरुले भनेजस्तै पानीको सतह घटेर विजुली उत्पादन घटेको हो? ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागको तथ्यांक हेर्दा साना आयोजनामा पानीको बहाब घटेको देखिन्छ। साना आयोजना बनाउनेले हाइड्रोलोजीको अध्ययननै नगरि लगानी गरेको भेटिएको छ। अहिले पनि त्यो अध्ययनलाई पाखा लगाएर अन्धधुन्द लगानी भइरहेको पाइन्छ।

६६ नदीको बहाब मापन, १७ नदी खराब १४ मात्रै राम्रा
जल तथा मौसम विज्ञान विभागले ६६ वटा नदीलाई ९४ ठाउँमा स्टेशन राखेर दैनिक पानीको सतहको बारेमा अध्ययन गरेको छ। सन १९६२ देखि २०१५ सम्मको अध्ययनमा १४ नदीका १८ वटा स्टेशन राम्रा छन् भने १७ वटा नदीका १८ वटा स्टेशनमा भने पानीको बहाब नराम्रो छ। बाँकी ३५ नदीका ५८ वटा स्टेशनको बहाब भने ठिकै रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाउँछ।

खराब बहाब भएका नदीहरुमा सिंजाखोला, ढुङ्गाड, भेरी (जामु), कन्द्रा,शारदाखोला, मारिखोला, झिमरुकखोला, मोदी खोला (बगर र नयाँपुल), लाङटाङखोला, फलङ्कुखोला, मनहरी खोला, लोथर खोला, बागमती (भोर्लेनी), सबया खोला, हिन्वाखोला, तमोर र माइखोला छन्।

यी मध्ये माईखोला, मोदी खोला, झिमरुकखोला, लाङटाङ खोला,शारदाखोला, बागमतीमा जलविद्युत आयोजना निर्माणाधिन तथा केही सम्पन्न भएर सञ्चालनमा आईसकेका छन्।

नदीको बहाब राम्रो हुने नदीहरुमा कर्णाली, मर्स्याङ्दी, त्रिशुली, ताडी, नारायणी, बागमती (चोभार), कुलेखानी, अरुण, लिखु, दुधकोशी, सुनकोशी, सेती, कालीगण्डकी र साईलीगाड मात्रै छन्। यी नदीहरुमा ठूला क्षमताका जलविद्युत आयोजना निर्माणाधिन छन्।

साना खोलाको सतह घटदै
विभागको तथ्यांकले ठूला नदी भन्दा साना खोलामा मौसम परिवर्तनको प्रभाव धेरै रहेको देखाउँछ। नेपालका अधिकांश नदीनालाको पानीको स्रोत हिमालयनै हुन्। पछिल्लो समय नेपालमा हिमनदी सुक्ने, हिउँ परिरहने ठाउँमा हिउँनै नपर्ने लगायतका समस्याले धेरै नदिमा पानीको सतह तलमाथी भइरहने समस्या छ। नेपालका सबै नदिनालाको बहाब मापन नगरेपनि मापन गरिएका नदीको सतह हेर्दा साना खोलामा पानीको बहाब खराब रहेको देखाउँछ। 

ठूला नदीमा पानीको बहाब धेरै तलमाथी नहुने भएकाले ती आयोजनामा जोखिम देखिदैन। तर सानो खोलामा भने ढिलोचाँडो हाईड्रोलोजीको समस्या आउने विज्ञ बताउँछन्।पानी बहाब घटेर नोक्सानी भएको जलविद्युत आयोजना १० मेगावाट भन्दा साना छन्।

४ हजार मेगावाटका ५०० आयोजनामा जोखिम
जलविद्युतमा लगानी गर्ने उदेश्यले सरकारले स्थापना गरेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल)ले २५ मेगावाट भन्दा साना आयोजनामा लगानी नगर्ने रणनीति अपनाई सकेको छ। 

सुरुवाती दिनमा २५ मेगावाट भन्दा साना आयोजनामा लगानी गरेपनि साना आयोजनामा जोखिम धेरै भएको निष्कर्ष सहित कम्तीमा २५ मेगावाट भन्दा ठूला जलविद्युतमा आयोजनामा मात्र लगानी गर्ने नीति अपनाएको हो।

नेपाल विद्युत प्राधिकरणले पनि पछिल्लो समय साना जलविद्युत आयोजनामा हात हालेको छैन। 

सरकारी स्वामित्वका कम्पनीले साना आयोजनाबाट हात झिकिरहेको अवस्थामा निजी क्षेत्रका प्रवर्द्धकको हातमा भने तीनै साना आयोजना धेरै छन्। २५ मेगावाट भन्दा साना ४९६ आयोजना छन्। जसको कुल क्षमता करिब चार हजार मेगावाट छ।

साना खोलाको बहाबमा हाईड्रोलोजीको समस्या देखिन सुरु भइसकेकोले यी ५०० आयोजनाले पनि भविष्यमा हाईड्रोलोजी समस्याको सामना गर्नुपर्ने देखिन्छ।

यी मध्ये ४८९ मेगावाट क्षमताका ८४ वटा आयोजना सञ्चालनमा आइसकेका छन्। जसमा ४ वटा आयोजना मात्रै विद्युत प्राधिकरणको छन्। बाँकी ८० आयोजना निजी क्षेत्रको छन्। एक मेगावाट भन्दा साना १५ आयोजनाको क्षमता पनि ११ मेगावाट छ। अहिले देखिएको समस्या यिनै सञ्चालनमा आएका आयोजनामा मात्रै हो। अन्य आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन्।

सर्भे अनुमति पाएका २०७ आयोजनाको कुल क्षमता एक हजार नौ सय ७० मेगावाट भन्दा बढी छ। यी सबै निजी क्षेत्रबाट प्रवर्द्धन गर्न लागिएका आयोजना हुन्। यसमा १ मेगावाट भन्दा साना आयोजनाको संख्या १६ वटा छ।

सर्भे लाइसेन्सका लागि निवेदन दिने २३ आयोजनाको क्षमता ७५ मेगावाट छ। १ मेगावाट भन्दा साना आयोजनाको संख्या १२ वटा छ। 

उत्पादन अनुमति माग्ने ३० आयोजनाको क्षमता १५५ मेगावाट छ। यी मध्ये १२ आयोजना १ मेगावाट भन्दा पनि साना छन्।

त्यसैगरि उत्पादन अनुमति पाएका अर्थात निर्माणाधिन आयोजनाको संख्या १५२ वटा छ। जसको कुल क्षमता एक हजार दुई सय २५ मेगावाट छ। तीमध्ये २२ वटा आयोजना एक मेगावाट भन्दा पनि साना छन्।त्यसमा पनि अधिकांश निजी क्षेत्रकै जलविद्युत आयोजना छन्।

कस्तो छ नेपालका नदिनालाको अवस्था?

परियोजना

सन् २०००

सन् २००५

सन् २०१०

सन् २०१५

कर्णाली

४१२

३८६

३६०

४०६

तिला

२०.९

२१.३

१६.७

१७.७

चमेलिया

२३.७

२३.८

२२

१९.२

ठूलो भेरी

३७.२

४३.७

३२.३

४७.७

भेरी

१०६

९७.५

९४.४

९१.७

मारीखोला

११.३

१५.७

१४.२

२०.२

मोदी खोला

११.७

११.४

८.९

१२

मर्स्याङ्दी

३०

३१.२

३२.८

२७.४

लाङटाङ खोला

३.०३

३.४६

३.७७

३.३५

त्रिशूली

४८.९

५२.४

५२

४७.१

बागमती

०.४८१

०.५२४

०.२४१

०.३११

खिम्ती खोला

४.३८

३.७३

५.२४

सुनकोशी

११७

८१.५

९६.२

८७.१

तमोर

३५.९

८७.२

७८.६

 

माई खोला

११.९

३.९१

२.२

६.०३

(हरेक ५/५ वर्षको जनवरी महिनाको पानीको बहाब)

सन २००० को तथ्याङ्क हेर्दा अहिले नेपालका अधिकांश नदिनालाको बहाब घटेको देखिन्छ। यसरी पानीको बहाब घट्नुमा विश्वव्यापी तापक्रम बृद्धिले हिमालमा धेरै हिउँ नपर्ने, परेपनि चाँडै पग्लिने समस्या मुख्य कारण हु्न्।

सन २००० मा ४१२ क्यु मिटर प्रति सेकेण्ड पानी बग्ने कर्णालीको चिसापानीमा २००५ र २०१० मा पानीको मात्रा घटेपनि २०१५ मा आइपुग्दा उक्त मात्रा बढेर ४०६ क्युमिटर प्रतिसेकेण्ड पानी बगिरहेको छ। यसले कर्णालीमा पानीको सतह नघटेको देखाउँछ। 

तर साना नदिनालामा गनिने माई खोलामा भने सन २००० मा ११.९ क्युमिटर प्रति सेकेण्ड पानी बग्ने गरेकोमा २०१५ मा आइपुग्दा उक्त पानीको बहाब ६.०३ क्युमिटर प्रतिसेकेण्डमा बगिरहेको छ। २००५ मा ३.९१ र २०१० मा २.२ क्युमिटर प्रतिसेकेण्ड मात्रै पानी बगिरहेको थियो।

बागमती, लाङटाङ र खिम्ती खोलामा पनि पानीको मात्रा थोरै देखिन्छ। यहाँ प्रति सेकेण्ड ५ भन्दा कम क्युमिटर पानी मात्रै बग्छ।

पानीको बहाब हरेक वर्ष घटबढ भइरहन्छ। वर्षातमा पानी पर्दा हाईड्रोलोजी पनि बढी देखिन्छ। कुनै वर्ष धेरै पानी नपर्दा भने खोलामा पानीको बहाब धेरै घट्ने गरेको हाइड्रोलोजी इन्जिनियर दशरथ शाहले बताए।

'ठूला नदीमा पानीको बहाब तल माथी भएपनि १८९५ वा २००० तिरको बहाब भन्दा धेरै कम भएको पाइदैन। साना नदिनालामा भने बहाब आधा सम्मले घटेको पाइन्छ' शाहले भने।

साना आयोजना बनाउन प्रतिबन्ध लगाऊ
सरकारले निजी क्षेत्रलाई सहयोग नगरे साना जलविद्युत आयोजना बनाउनै प्रतिबन्ध लगाउनुपर्ने सिंगटी जलविद्युत कम्पनीका प्रुमख कार्यकारी अधिकृत गणेश कार्की बताउँछन्। 

'साना आयोजनामा हाइड्रोलोजी घटेको छ छैन भनेर सरकारले अनुसन्धान गरोस। कोही प्रवर्द्धक रहरले सडकमा आएका छन् भने कारबाही गरोस्। होइन भने विद्युत बेचेर बाँच्न नसक्नेलाई सरकारले हेर्नुपर्छ' उनले बिजमाण्डूसँग भने। उनले सरकारले स्थिर ब्याजदर र प्रति मेगावाट पचास लाख रुपैयाँ अनुदान पनि तत्काल दिनुपर्ने बताए।