रेवानको अध्यक्षमा एन्डिजका अरनिको राजभण्डारी सर्वसम्मत चयन, ‘सेवा शुल्क विवाद टुंग्याउँछु’

बिजमाण्डू
२०७६ भदौ २७ गते १२:५५ | Sep 13, 2019


काठमाडौं। रेष्टुरेण्ट व्यवसायीको छाता संगठन रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपालले नयाँ कार्यसमिति  चयन गरेको छ।

Tata
GBIME
Nepal Life

अरनिको राजभण्डारीले सर्वसम्मत रुपमा अध्यक्षको पद सम्हालेका छन्। यस अघि रेवानमा कोषाध्यक्ष र महासचिव पदको कार्यभार सम्हाल्दै आएका राजभण्डारी सहित १३ जनाको नयाँ  कार्यसमिती चयन भएको रेवानले जनाएको छ।

लामो समयदेखि रेष्टुरेण्ट व्यवसायमा आवद्ध अध्यक्ष राजभण्डारी एन्डिज (एण्डिज आइसक्रिम एण्ड फास्टफुड इन्डस्ट्री) का संचालक हुन्। 

रेवानका अनुसार संचालक अध्यक्ष राजभण्डारीसँगै उपाध्यक्षमा संघर्ष विष्ट, महासचिवमा एकराज अधिकारी, कोषाध्यक्षमा नरेश श्रेष्ठ, सह-कोषाध्यक्षमा नृपेश श्रेष्ठ चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष राजभण्डारीले नेपाल भ्रमण वर्ष लक्षित कार्ययोजना बनाउने बताएका छन्। आउँदै गरेको नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकलाई दिइने सुविधा विस्तारका लागि गृहकार्य सुरु भइसकेको उनले जानकारी दिए।

हाल संचालनमा आइरहेका देशभरका रेष्टुरेण्टलाई तीन तहमा वर्गीकरण गर्ने योजना बनाएको उनले बताए। 'अहिले मुलुकभर कयौँ रेष्टुरेण्टहरु संचालित छन्। यी रेष्टुरेण्टको आधिकारीकस्तरको पहिचान दिनेगरी वर्गीकरण गरी संचालनमा ल्याइनेछ।' भण्डारीले बिजमाण्डूसँग भने।

रेष्टुरेण्टमा खाद्यले गर्दै आएको अनुगमनलाई मध्यनजर गर्दै रेष्टुरेण्टलाई स्तरीय मापदण्डमा ल्याउने योजना रहेको उनले बताए।
वर्षौँदेखि नटुंगिएको १० प्रतिशत सेवाशुल्कमा हुँदै आएको विवाद समाधानलाई मुख्य प्राथमिकतामा राखिएको बताउँदै राजभण्डारीले भने,'वर्षौदेखि हामीले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवाशुल्क विवाद अझै पनि साम्य भएको छैन। अझै पनि यो मुद्दा अदालतमा थाती छ। मजदुर ट्रेड युनियनसँग बसेर यो विवाद छिट्टै हल गर्ने योजना बनाएका छौँ।'

मुलुकभर संचालित रेष्टुरेण्टसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा आवद्ध क्षेत्रलाई एउटै छातामुनि ल्याउनका लागि  महोत्सव आयोजना गर्ने योजना रहेको उनले बताए।

उनका अनुसार रेवान क्षेत्रीय संगठनको सहकार्यमा छिट्टै 'फ्ल्यागसिप इभेन्ट' आयोजना गरिनेछ। 'उपत्यका बाहिर समय समयमा स्ट्रिट फेस्टिभल आयोजना हुँदै आएको छ। हामीले वृहद रुपमा पर्यटकका लागि मात्र नभइ केन्द्रीय र क्षेत्रीय रेष्टुरेण्टसँग आवद्ध संचालक, जनशक्ति, सामाग्री विक्रेता, उत्पादक लगायत सबैलाई एकैठाउँमा सहभागी गराएर यो इभेन्ट आयोजना गर्नेछौँ।' उनले भने।

नेपाली रैथाने परिकारले विश्वव्यापी रुपमा प्रवर्द्धन गर्नका लागि गृहकार्य सुरु भइसकेको र छिट्टैे यो अभियानमा अगाडी बढ्ने योजना रहेको उनले बताए।