पोहोरभन्दा चाँडो तरलता अभाव, नयाँ बर्ष लागेपछि ४१ अर्बले ऋण बढ्यो, निक्षेप १२ अर्ब घट्यो

बिजमाण्डू
२०७६ भदौ २७ गते ०९:४५ | Sep 13, 2019
पोहोरभन्दा चाँडो तरलता अभाव, नयाँ बर्ष लागेपछि ४१ अर्बले ऋण बढ्यो, निक्षेप १२ अर्ब घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नयाँ आर्थिक बर्ष लागेपछि बैंकहरुले ४१ अर्ब रुपैयाँ ऋण बिस्तार गरेका छन्। ऋण दिने स्रोत निक्षेप भने घटेकोघटै नै छ।

असार मसान्तयता निक्षेप १२ अर्ब रुपैयाँले घटिसकेको छ। दसैंतिहारलाई लक्षित गरेर आयात ब्यापार मौलाउँदा ऋण लगानी बढेको बैंकरको भनाइ छ। 

'तर यहीपाराले ऋण बिस्तार भइरहने हो भने पोहोरभन्दा चाँडो तरलता अभाव हुने अवस्था देखिन्छ' एक बैंकरले भने, 'प्लानिङ बिना बैंकहरुले भ्याटभ्याट ऋण दिइरहेका छन्। यो राम्रो लक्षण भने होइन।'

दसैंको बिदा सुरु हुनुअघिनै तरलता अभावले प्रणालीलाई गाँजिसक्ने बैंकरको अनुमान छ। 'यतिबेला गएको ऋण अल्पकालिन प्रकृतिको हो' ती बैंकरले भने 'तर जुन फ्लोमा गएको छ यसले त पोहोरभन्दा चाँडो अभाव सुरु हुने देखाउँछ।' 

अहिले बैंकहरुले २५ खर्ब ३९ अर्ब ऋण बिस्तार गरेका छन्। निक्षेप २८ खर्ब ६६ अर्ब पुगेको छ। यद्यपी पछिल्लो एक सातामा निक्षेप ९ अर्बले बढेको छ। तर असार मसान्तको तुलनामा भने घटेको छ। असार मसान्तमा बैंकहरुसँग २८ खर्ब ७८ अर्ब निक्षेप थियो।

पछिल्लो एक सातामा ऋण बिस्तार १० अर्बले भएको छ। 'आयातका लागि खोलिएको प्रतितपत्र (एलसी) भुक्तानीले पनि सातामै ह्वात्त ऋण बढेको हो।' ती बैंकरले भने, 'असारयता हेर्ने हो भने उपभोग्य क्षेत्रमा ऋण गइरहेको छ।' 

बैंकहरुका अनुसार, यो अवधिमा आयात उच्च भएका कारण ऋण बिस्तार अधिक देखिएको हो। आन्तरिक रुपमा पनि सवारी साधन कर्जा ह्वात्तै बढेको छ। दसैंतिहारका लागि उपभोग्य खाद्यान्नदेखि अन्य औद्योगिक कच्च पदार्थ आयात उच्च भएको छ, यसले गर्दा प्रतितपत्र ब्यापक खोलिएको छ। 

बैंकहरुसँग साउन लागेपछि सरकारी खर्चका कारण निक्षेपमा सुधार आएको थियो। नाफा बृद्धिबाट जम्मा भएको रकम पनि बैंकहरुसँग थियो। त्यही पैसा अहिले ऋण बिस्तार गर्न प्रयोग भएको बैंकरहरु बताउँछन्।

राष्ट्र बैंकका अनुसार अधिकांस बैंकको कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ७८ प्रतिशत हाराहारी पुगिसकेको छ। राष्ट्र बैंकले सिसिडी ८० प्रतिशत नघाउने नहुने ब्यवस्था गरेको छ।

'निक्षेपको स्रोत हेरेर लगानी गर्न हामीले भनिरहेका छौं। कसैले नघाएको देखिएमा हामी कारवाहीमै उत्रिन्छौं' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'अब कुनै पनि हालतमा छुट दिने पक्षमा हामी छैनौं।'

Month Date Deposit Lending
LCY FCY Total LCY FCY Total
Ashad 2075 32/03/2075 2389 81 2470 2057 54 2111
Aswin 2075 31/06/2075 2436 87 2523 2183 62 2246
Poush 2075 30/09/2075 2557 99 2656 2302 66 2368
Chaitra 2075 29/12/2075 2584 119 2703 2349 71 2420
Ashad 2076 31/03/2076 2764 114 2878 2422 76 2498
Shrawan 03/04/2076 2750 115 2865 2408 76 2485
10/04/2076 2754 108 2862 2405 77 2482
17/04/2076 2750 109 2859 2409 79 2488
24/04/2076 2749 109 2858 2419 81 2499
31/04/2076 2746 110 2855 2426 81 2507
Bhadra 06/05/2076 2746 107 2853 2434 82 2516
13/05/2076 2749 108 2857 2447 83 2529
20/05/2076 2756 111 2866 2456 83 2539