भारतमा गाडीको बिक्री निराशाजनक अवस्थामा, १६ वर्षपछि मारुतीको नो प्रोडक्सन डे, क-कसले काम रोके

बिजमाण्डू
२०७६ भदौ २३ गते १४:११ | Sep 9, 2019

भारतको केन्द्रीय बैंक आरबीआईले उपभोक्ताले लिने ऋण सहज बनाउनकालागि ब्याजदरका बारेमा नयाँ ब्यबस्थाको घोषणा गरेपनि अटो बजारको उत्साह फर्काउन सकेको छैन।

Tata
GBIME
Nepal Life

दश महिनादेखि भारतको सवारी साधानको बिक्री निरन्तर घटिरहेको छ। यसबाट भारतीय अटो बजार निराशाजनक अवस्थामा पुगेको छ।

अगस्ट महिनामा मात्रै कारको बिक्री ४१.०९ प्रतिशत घटेको छ। यस्तै दुई पांग्रे सवारीको बिक्रीमा २२ प्रतिशतले कमी आएको छ। कमर्सियल भेइकलमा ३८ प्रतिशतले बिक्री घटेको छ।

भारतीय अटोमोबाइल निर्माता सोसाइटी सियामले सार्वजनिक गरेको तथ्यांक अनुसार अगस्टमा प्यासेन्जर भेहिकलको बिक्री सबैभन्दा बढी घटेको छ। लगातार १० महिनादेखि भारतमा सवारी साधनको बिक्रीमा गिरावट रोकिएको छैन।

सियामले जारी गरेको तथ्यांकले हरेक किसिमका सवारीको ब्रिक्रीमा २२ देखि ४१ प्रतिशतसम्मको गिरवाट देखिएको छ।  यस्तै हेभी कमर्सियल भेहिकलको बिक्रीमा सबैभन्दा बढी ५३ प्रतिशतले कमी आएको छ।

यसैबीच हेभी सवारी साधन निर्माण गर्ने कम्पनी अशोक ले ल्याण्डले आफ्ना ५ वटा उत्पादन प्लान्टमा नो वर्क डेज घोषणा गरेको छ। एक हप्ता अघि मारुती सुजुकीले पनि आफ्ना दुईवटा प्लान्टमा ३ दिन नो प्रोडक्सन डे घोषणा गरेको थियो। मारुतीले १६ वर्षपछि  यसरी उत्पादन नै बन्द गरी नो प्रोडक्सन डे घोषणा गर्नुपरेको हो।

अगस्टमा मारुती सुजुकीको बिक्री ३६ प्रतिशतले घटेको छ भने हुण्डाईको बिक्री १७ प्रतिशतले घटेको छ। टाटा मोटर्सले पनि गत वर्षको अगस्टमा भन्दा आधामात्रै सवारी साधन बेच्न सक्यो।

केहि दिन अघि आरबिआईले होमलोन, अटोलोन, पर्सनल लोन, साना तथा लघु उद्योगले पाउने लोनको ब्याज दरमा कटौती गर्न बैंकहरुलाई निर्देशन दिएको थियो।

आरबिआइले बैंकहरुलाई सर्कुलर जारी गर्दै ऋणको ब्याजदर कायम गर्न नयाँ ब्यवस्था अपनाउनुपर्ने भनेको छ जस अनुसार ब्याजदर तय गर्दा उपभोक्तालाई कम ब्याजदर तिरेर ऋण लिन पाउने सुविधा प्राप्त हुन्छ।

यो व्यवस्था आगामी अक्टोबरदेखि बैंकहरुले लागू गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन छ।