लामो समय चिप्स जस्ता फास्ट फुड खानेलाई अन्धाेपन हुन सक्ने चिकित्सकहरुको चेतावनी

बिजमाण्डू
२०७६ भदौ १७ गते १५:५५ | Sep 3, 2019
लामो समय चिप्स जस्ता फास्ट फुड खानेलाई अन्धाेपन हुन सक्ने चिकित्सकहरुको चेतावनी


Tata
GBIME
Nepal Life

लन्डन। बेलायतका एक जना १७ बर्से किशोरले दृष्टि गुमाएपछि चिकित्सकहरुले प्रशोधित खानेकुराको अत्यधिक प्रयोग नगर्न चेतावनी दिएका छन्।

१० वर्षसम्म सससँग आलु चिप्स र कुरकुरेजस्ता प्रशोधित खानेकुरा मात्र खाने गरेका ती किशोरले अब फेरि देख्न नसक्ने गरी जीवनभरिका लागि दृष्टि गुमाएको चिकित्सकहरुले बताएको बिबिसीले जनाएको छ।

नेत्ररोग सम्बन्धी डाक्टरहरुले ती किशोरले त्यस्ता फास्ट फुड मात्र नियमित खाने गरेकाले आँखाका लागि आवश्यक पौष्टिक तत्वको अभावमा दृष्टि गुमाएको र अब उनको दृष्टि नफर्कने जानकारीसमेत दिएको द इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।

बेलायतको ब्रिस्टलमा डाक्टरहरुले ती किशोरको उपचार गरेका थिए। ती किशोरको दृष्टि धमिलिँदै गएपछि उपचार थालेका डाक्टरहरुले उनको दृष्टि पूरै गुमाउन्जेलसम्म उपचार गरेका थिए। उपचाररत रहँदा नै ती किशोरको दृष्टि क्षमता गुमेको थियो।

प्राथमिक तहको शिक्षा सकेलगत्तै ती किशोरले चिप्स, फ्रेन्च फ्राइज, प्रिंगल र सेतो पाउरोटी लगायत ‘रेडिमेड’ खानेकुरा मात्र खाने गरेको उनको परिवारले बताएको छ। उनले आक्कलझुक्कल मात्र ह्यामका केही टुक्रा वा ससेज खाने गरेका थिए।
उनको दृष्टिसम्बन्धी गरिएका विभिन्न परीक्षणबाट उनको शरीरमा भिटामिनको अत्यधिक कमी देखिनुका साथै कुपोषणका कारण दृष्टिसम्बन्धी स्नायुमा निको नहुने गरी क्षति पुगेको पाइएको छ।

नाम सार्वजनिक नगरिएका ती ब्रिस्टल सहरका किशोरले ७ वर्षको उमेरदेखि नै प्रशोधित खानेकुरा मात्र खान थालेको उनकी आमाले बताइन्। उनी १४ वर्षको उमेरमा पुग्दा नपुग्दै उनको श्रवण क्षमता निकै घद्दै गएपछि डाक्टरकोमा उपचारका लागि लगिएको थियो। उनले कम सुन्न थाल्दा, जतिबेला पनि थाकेको महसुस गर्न र लगातार बिरामी हुन थालेपछि उनलाई उपचारका लागि डाक्टरकहाँ लगिएको थियो।

त्यसबेला डाक्टरले परीक्षणपछि उनको शरीरमा भिटामिन बी१२ को कमी रहेको भन्दै औषधि दिएका थिए। तर ती किशोरले नियमित औषधिसेवन नगरी बीचैमा छाडेका थिए भने फास्टफुड खान छाडेर सन्तुलित भोजन समेत गरेनन्।

यसको तीन वर्षपछि ती किशोरको दृष्टि क्षमता झन् झन् खस्कँदै गएकाले उनलाई ब्रिस्टलस्थित ब्रिस्टल आई हस्पिटलमा भर्ना गरिएको एनल्स अफ इन्टर्नल मेडिसिन जर्नलले जनाएको छ।

‘उनको स्थानीय माछा र चिप्स पसलबाट दैनिक रुपमा किनेर चिप्स खाने गरेका थिए’, ती किशोरको उपचारमा संलग्न ब्रिस्टल आँखा अस्पतालका डाक्टर डेनिज एटनले भनिन्, ‘उनी क्रिस्प, प्रिंगल र उनले कहिलेकाहिँ मात्र सेतो पाउरोटी र आक्कलझुक्कल ह्याम खाने गरेका थिए– फलफूल र सागसब्जी त उनले मुखमै हाल्ने गरेका थिएनन्।’

डा. एटनका अनुसार ती किशोरले चिप्स र क्रिस्पबाहेकका स्वस्थ्य र सन्तुलित भोजत लगायत फलफूल÷सागसब्जी जस्ता खानेकुरा खान मन नै नलाग्ने र त्यस्तो भोजन फिटिक्कै मुखमा हाल्दै हाल्दैनथे। उनलाई चिप्स र क्रिस्प मात्र खान सक्छु भन्ने महसुस गर्ने गरेको पनि डा. एटनले बताइन्।
डा. एटन र उनका सहकर्मीहरुले अस्पतालमा भर्ना भएपछि ती किशोरको शरीरमा रकेको भिटामिनको मात्र फेरि परीक्षण गरे। परीक्षणमा उनीहरुले भिटामिन बी१२ को मात्रा अत्यन्त न्यून पाए। यति मात्र नभएर उनको शरीरमा चाहिने अरु केही अत्यन्त महत्वपूर्ण भिटामिन र खनिज– तामा, सेलेनियम र भिटामिन डीको समेत अत्यन्त थोरै थियो।

ती किशोरको शारीरिक तौल बिएमआई (बडी मास इन्डेक्स) का आधारमा न त मोटो थियो न दुब्लो नै तर उनी कुपोषित थिए अर्थात् उनको शरीरलाई चाहिने आवश्यक पोषणको मात्रा अन्यन्त न्यून थियो।
डा. एटनले भनिन्, ‘उनका हाडमा चाहिने जति खनिज नै थिएन, जुन उनको उमेरका किशोरलाई यस्तो हुनु साँच्चिकै हामीलाई झस्काउने तथ्य थियो।’

के हो न्युट्रिस्नल अप्टिक न्युरोप्याथी
उनले दृष्टि क्षमता गुमाएपछि उनलाई दृष्टिविहीनकै श्रेणीमा राखिएको छ।

‘किशोरको दृष्टिपटलको बीचमा ब्लाइन्ड स्पटहरु छन्। यसको अर्थ उनी गाडी चलाउन, पढ्न, टेलिभिजन हेर्न र अनुहार चिन्न सक्दैनन्,’ डा. एटनले बताइन्, ‘तर उनी आफ्नो वरिपरि सीमित मात्रामा हिँडडुल गर्न भने सक्छन्, किनभने उनी अलिअलि भने देख्न सक्छन्।’

ती किशोरको यस्तो अवस्थालाई चिकित्सा विज्ञानका शब्दमा न्युट्रिस्नल अप्टिक न्युरोप्याथी भनिन्छ, जुन अवस्था सुरुवातमै पहिचान गर्न सके उपचार गर्न र निको पार्न सकिन्छ। तर लामो समय बेवास्ता गरिए दृष्टिसम्बन्धी स्नायुका रेशा (फाइबर) मर्छन् र दृष्टि सधैंका लागि गुम्छ अर्थात निको हुँदैन र कहिल्यै पनि देख्न सकिँदैन।

डा. एटनले यस्ता मेडिकल केसहरु असामान्य भएकाले अत्यन्त न्यून संख्यामा मात्र आउने जानकारी दिइन्। तर उनले यस्तो अवस्था आउन सक्छ जस्तो लागेमा तत्काल चिकित्सककहाँ आफ्ना छोराछोरीलाई लैजान पनि आग्रह गरेकी छिन्।

एआरएफआइडी अवस्था कस्तो हो?
ती किशोर ‘एआरएफआइडी’ (अभोइड्यान्ट–रेस्ट्रिक्टिभ फुड इन्टेक डिस्अर्डर) भनिने भोजनसम्बन्धी अवस्थाबाट ग्रस्त भएको चिकित्सकले बताएका छन्।

बेलायतको नर्विचस्थित असन्तुलित भोजनसम्बन्धी परोपकारी संस्था बिट (बिइएटी) का अनुसार यस्तो अवस्थाका व्यक्तिले कुनै खास खास किसिमका ढाँचा, गन्ध, स्वाद वा रुपरंगका खानेकुराहरु खान मन पराउँदैनन् वा त्यस्ता खानेकुरा कुनै निश्चित तापक्रममा भए मात्र खाने गर्छन्।
ती किशोरकी आमाले छोराको दृष्टि स्नायु मरेको र अब कहिल्यै पनि देख्न नसक्ने कुरा डाक्टरले जानकारी दिँदा पत्याउनै नसकेको बताएकी छिन्। उनले भनिन्, ‘डाक्टरले भनेको कुरामा हामीले विश्वासै गर्न सकेनौं।’

फास्ट फुड कसरी छुटाउने?
त्यसरी फास्ट फुडमात्र खाने केटाकेटीका अभिभावकलाई उनी सल्लाह दिन्छिन्– नआत्तिनुहोस्। आफ्ना छोराछोरीले फास्ट फुड खाँदा बिस्तारै बिस्तारै हरेकपल्ट एउटा एउटा गरेर सन्तुलित खानेकुरा थप्दै जानुस्।
उनले त्यस्ता केटाकेटीलाई भिटामिनका चक्की÷ट्याब्लेट पनि खुवाउन सकिने तर त्यसले सन्तुलित आहाराको पूर्ति भने नगर्ने पनि जानकारी दिइन्।

‘भिटामिनका चक्की खानुभन्दा सन्तुलित भोजन खाएर शरीरमा प्राकृतिक तवरबाट आवश्यक भिटामिन र खनिजलगायत पोषण दिनु सर्वोत्तम हो,’ डा. एटनले भनिन्, ‘किनभने भिटामिन ए लगायत कतिपय भिटामिनका चक्की धेरै खानु हानिकारक हुन्छ।’

डा. एटनका अनुसार शाकाहारी खासगरी पूर्णतः ‘भेगन’ व्यक्तिहरुमा भिटामिन बी१२ को कमी हुने र त्यसले दृष्टि क्षमतामा असर पार्छ। यसका लागि उनीहरुले माछामासुबाहेक अन्य खानेकुराबाट भिटामिन बी१२ को आवश्यक मात्रा लिनुपर्ने पनि डा. एटनले बताइन्।