निक्षेपकर्ताजस्तै ऋणी पनि खोसाखोस गर्न थाले बैंकर, आधार दरकै हाराहारीमा ऋण

बिजमाण्डू
२०७६ भदौ ५ गते १२:२९ | Aug 22, 2019
निक्षेपकर्ताजस्तै ऋणी पनि खोसाखोस गर्न थाले बैंकर, आधार दरकै हाराहारीमा ऋण

Tata
GBIME
Nepal Life

काठमाडौं। निक्षेपमा जस्तै ऋणमा पनि बैंकहरुले ग्राहक खोसाखोस गर्न थालेका छन्। नयाँ ऋण माग्नेहरु खासै नआएपछि भएकै ऋणीहरु खोसाखोस सुरु भएको हो।

ऋणी खोसाखोस हुँदा कर्पोरेट ग्राहकको ब्याज पनि घट्न थालेको छ। बैंकहरुले आधार ब्याज दरकै हाराहारीमा ऋणी खोस्न थालेका छन्। १३/१४ प्रतिशतसम्म ब्याज तिरिरहेका कर्पोरेट ग्राहकको ब्याज १०/११ प्रतिशतमै आएको छ। बैंकहरुले आधार दरमा लिने प्रिमियम निक्कै घटाएर ऋण दिन थालेका छन्। विगतमा ३/४ प्रतिशतसम्म प्रिमियम लिएका बैंकहरुले अहिले ग्राहक हेरेर एक/डेढ प्रतिशतसम्म प्रिमियम लिइरहेका छन्।

राष्ट्र बैंकले आधार दरभन्दा तल ऋण दिन नपाउने ब्यवस्था गरेको छ। त्यही भएर कतिपय बैंकले आधार दरमै बसेर पनि अल्पकालिन ऋण (तीन महिनासम्मको) दिइरहेका छन्। तर यस्तो ऋण नयाँले भन्दा पनि अर्को बैंकमा भएका ग्राहकले लिइरहेका छन्।

'अहिले नयाँ ऋणको माग खासै छैन। त्यसैले पनि ब्याज घटाएर ऋणी आकर्षित गर्ने क्रम चलेजस्तो देखिन्छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजमाण्डूसँग भने, 'अहिले ऋणको ब्याज दर घटाउन प्रतिस्पर्धा चल्न थालेको छ।'

घटेर ऋण स्वाप गर्दा ग्राहकले शुल्क तिर्नु पर्दैन। तर कतिपय बैंकले भने शुल्क लिएर मात्र ऋण स्वाप गर्न दिइरहेका छन्। ऋणमा प्रतिस्पर्धा चल्न थालेपछि पहिले तरलता अभाव हुँदा अर्को बैंकलाई बेचेको ऋण बैंकले आफ्नो खातामा फिर्ता ल्याइसकेका छन्।

'अहिले नयाँ ऋणको माग नै छैन भन्दा पनि हुन्छ। पछिल्लो दुई बर्ष ठूला परियोजनामा पर्याप्त ऋण गएकाले पनि यसपाली ऋणको माग नदेखिएको हो' बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने। 

अहिले बजारमा करिव १०० अर्ब रुपैयाँ अधिक तरलता छ। तरलता बढि भएका कारण अन्तर बैंक सापटी पनि घटिसकेको छ। बढि भएको तरलतालाई लगानी गर्नका लागि बैंकहरुले मार्केटिङ गरिरहेका छन्। तैपनि नयाँ ऋण खासै जान सकेको छैन। नयाँ आर्थिक बर्ष सुरु भएपछि जम्मा ९ अर्ब रुपैयाँ मात्र नयाँ ऋण बिस्तार भएको छ।

बैंकहरुले अहिले गाडी तथा घर कर्जाको स्किमसमेत ल्याउन थालेका छन्। विगतमा ऋण माग्न आउनेले तरलता अभावका कारण 'टोकन' लिएर बस्नु पर्ने अवस्था थियो। बैंकले पैसाको जोहो गरेपछि मात्र ऋणीले पैसा पाउँथे। अहिले माग्न आउनेजतिलाई बैंकले आवश्यक विश्लेषण गरी ऋण दिइरहेका छन्।

'विगतको प्रबृत्ति हेर्दा साउन/भदौमा खासै ऋण जाँदैन थियो। त्यसैले यसलाई स्वभाविक नै मान्नु पर्छ' दाहालले भने, 'अहिले क्लोजिङ सकेर ब्यवसायिक घरानाहरु आराम गरेर बसेको देखिन्छ।'

अहिले आधार दर कम भएका बैंकहरुले धमाधम ग्राहक खोसेर ऋण दिइरहेको बैंकरहरु बताउँछन्। ग्राहकलाई बैंकले तीन महिनासम्म ब्याज नबढाउने जानकारी दिएका छन्। 'दसैंलगत्तै ऋणको माग बढ्न जान्छ। तीन महिनापछि ती ग्राहकको पनि ऋणको ब्याज बृद्धि हुने छ' एक बैंकरले भने, 'यो कुरा नबुझी कतिपय ग्राहक भने अर्को बैंकबाट अहिले सस्तो ब्याज दिन्छु भनेर प्रतिबद्धता जनाएका बैंकमा सरिरहेका छन्।'