आक्रामक लगानीको ‘साइड इफेक्ट’ देखिन थाल्यो, धमाधम लिलामीको सूचना, निर्देशित ऋणमा समस्या

बिजमाण्डू
२०७६ भदौ ५ गते ०९:०२ | Aug 22, 2019
आक्रामक लगानीको ‘साइड इफेक्ट’ देखिन थाल्यो, धमाधम लिलामीको सूचना, निर्देशित ऋणमा समस्या

Tata
GBIME
Nepal Life

काठमाडौं। गत आर्थिक बर्षको 'क्लोजिङ' पछि बैंकहरुले धमाधम डुबेको ऋण उठाउन लिलामीको सूचना निकाल्न थालेका छन्। अघिल्लो बर्षभन्दा खराब कर्जा अनुपात घटेको तथ्याङ्क देखाएका बैंकहरुले ऋणीको धितो लिलाम गर्न सातदेखि ३५ दिनेसम्म सूचना जारी गर्न थालेका हुन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाली बैंकहरुको खराब कर्जा कम हुनुमा 'एभर ग्रिनिङ' प्रमुख कारण रहेको बताइरहँदा पछिल्लो समय खराब ऋण सार्बजनिक हुन थालेको हो। अहिले अधिकांस बैंकले लिलामीको सूचना निकालेर डुबेको ऋण उठाउन थालेका छन्।

पछिल्लो दुई बर्ष आक्रामक लगानी गरेका कारण खराब ऋणको मात्रा बढ्न थालेको हो।

'पक्कै पनि त्यसबेलाको असर अहिले बिस्तारै देखिन थालेको छ' बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बिजमाण्डूसँग भने, 'तर ठूलो मात्रामा ऋण बिग्रिएको होइन। फाट्टफुट्ट ऋण बिग्रिनु भनेको स्वभाविक हो।'

बैंकहरुले ऋण विस्तार गरेर वासलात ठूलो देखाउन 'क्यासफ्लो' नहेरी धितो मात्रै हेरेर कतिपय ऋण दिएका छन्। यस्ता ऋणहरुमा समस्या देखिन थालेको राष्ट्र बैंकको 'अनसाइट इन्स्पेक्सन' मा देखिएको छ। 

'धितो टन्नै लिएको हुन्छ। तर यसले तिर्न सक्छ सक्दैन भनेर हेरिएको हुँदैन' राष्ट्र बैंकका एक सुपरिवेक्षकले भने, 'सुरुसुरुमा नियमित भएको ऋण पनि ६/८ महिनामा समस्या देखिएको हुन्छ।'

राष्ट्र बैंकका  अनुसार, केही बैंकमा खराब ऋण बढि नै थुप्रिन थालेको छ। 'प्रुडेन्टली चलेका बैंकहरुले अब यो ऋणी समस्यामा पर्यो है भन्ने थाहा पाएपछि त्यसको ऋण अर्को बैंकतिर सार्न लगाउँछन्' ती अधिकारीले भने, 'वासलातको आकार बढाउन त्यो बैंकले केही बढि नै पैसा दिएर ऋणीलाई आफ्नोमा तान्छ। यसले गर्दा ऋणी तान्ने बैंकचै अहिले बढि जसो लिलामीको सूचना निकाल्नेमा परेको देखिन्छ।'

बैंकहरुको खराब ऋण बढ्न थालेपछि अदालतमा मुद्दा मामिला पनि बढ्न थालेको छ। बैंकले ऋण उठाउन धितो लिलाम गर्छन्। धितो लिलाम रोक्न ऋणीले अदालतमा मुद्दा हालेर अन्तरिम आदेश ल्याउँछ।

'बिग्रिएको ऋणमा मुद्दामामिला केही बढि नै हुने गरेको छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, 'यसले गर्दा बैंकको ऋण उठ्ने समय झन् लम्बिन्छ।'

बैंकहरुको कुल ऋणको आकार बढेका कारण खराब ऋणको अनुपात प्रतिशतमा कम देखिन्छ। तर रकमकै आधारमा हेर्दा भने खराब ऋणको मात्रा उच्च देखिन्छ। प्रतिशतको आधारमा हेर्दा अघिल्लो बर्ष खराब ऋण १.४५ प्रतिशत थियो। अहिले औषत खराब ऋण १.३५ प्रतिशतमा झरेको छ।

यसैलाई रकममा हिसाब गर्दा अघिल्लो बर्ष कुल ऋण २१ खर्ब थियो। यस हिसाबले खराब कर्जा ३० अर्ब ४५ करोड थियो। अहिले कुल ऋण २४ खर्ब ८२ अर्ब नाघेको छ। यस हिसाबले खराब कर्जा ३३ अर्ब ५१ करोड पुगेको छ। एक बर्षमै २८ बाणिज्य बैंकको खराब कर्जा ३ अर्ब रुपैयाँले बढेको छ।

'नियामकले एभरग्रिनिङमा निक्कै कडाइ गरिरहेको छ। ब्यक्तिगत ओभरड्राफ्टको सीमा घटाइएको छ' ती अधिकारीले भने, 'त्यही भएर पनि खराब ऋण विस्तारै एक्सपोज हुन थालेको हो।'

बैंकरका अनुसार, राष्ट्र बैंकले निर्देशित गरेको ऋण विस्तारै बिग्रिन थालेको छ। राष्ट्र बैंकले जलविद्युत, पर्यटन र कृषि भनेर २५ प्रतिशत ऋण लगानी सीमा तोकिदिएको छ।

'अब विस्तारै होटलको ऋणमा समस्या देखिन थालेको छ। जलविद्युतको ऋण पनि बिग्रिन थालेको छ' एक बैंकरले भने, 'अहिले कृषि ऋणको सीमा पुग्न सकेको छैन। जस्तालाई पनि दिनुपर्ने अवस्था छ। अब बिस्तारै कृषि ऋण पनि बिग्रिनेवाला छ।'