हुलाकी राजमार्गमा पप्पुले पुल अलपत्र पारेपछि सात दिने अल्टिमेटम, नआए ठेक्का सम्झौंता तोडिने

बिजमाण्डू
२०७६ भदौ ४ गते १४:४२ | Aug 21, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। हुलाकी राजमार्ग आयोजनाले पुल अलपत्र पारेको भन्दै सात दिनमा उपस्थित हुन पप्पु कन्स्ट्रक्सनलाई निर्देशन दिएको छ।

भैरहवा लुम्विनी सडक खण्ड अन्तर्गत तिनाउखोला पुल र डण्डा खोला पुल अलपत्र पारेपछि पप्पु वाम्ती जेभी अनामनगरलाई सात दिनभित्र मुनासिव कारणसहित स्पष्टीकरणका साथ स्वीकार योग्य कार्य योजना पेश गर्न निर्देशन दिईएको छ। तोकिएको समयमा उपस्थित नभए  ठेक्का सम्झौता अन्त्य गर्दै प्रचलित कानुन बमोजिम कारबाहीको प्रकृया अघि बढाउने आयोजनाले जनाएको छ।

आयोजनाले यस अघिनै सार्वजनिक सूचना निकाल्दै १५ दिनभित्र कार्य सम्पन्न हुन नसकेको कारण खुलाएर कार्यसम्पन्न गर्न सक्ने संशोधित तालिका, स्रोत परिचालनको भरपर्दो योजना, कार्य सम्पादन गर्ने प्रतिवद्धता सहित आधिकारिक व्यक्ती आयोजनाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो।तर उक्त अवधीमा निर्माण व्यवसायीको तर्फबाट प्रतिनिधी उपस्थित नभएको आयोजनाले जनाएको छ। सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौतामा भएको प्रावधान बमोजिम  पप्पु वाम्तीसँग सम्झौता तोड्नुपर्ने कारण नभए साता दिनभित्र कारण सहित उपस्थित हुन भनिएको छ।

हुलाकी राजमार्गमा १० रुग्ण पुलमध्ये ५ वटा पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको छ। 'पप्पुको नियत नै गलत छ।' आयोजनाका एक इन्जिनियरले भने 'अरु ठेकेदारलाई कुनै समस्या छैन।तर त्यही कम्पनी विभिन्न बखेडा झिकेर काम रोक्छ।' हुलाकी राजमार्ग बनेपनि यी १० पुल तयार नभए संचालनमा आउन सक्दैन।