एनएसी ओशाका उडानका लागि तयार, सुरुमा पचास प्रतिशत मात्रै अकुपेन्सी, नारितामा जनवरीदेखि उडान

बिजमाण्डू
२०७६ भदौ ३ गते २०:०२ | Aug 20, 2019
एनएसी ओशाका उडानका लागि तयार, सुरुमा पचास प्रतिशत मात्रै अकुपेन्सी, नारितामा जनवरीदेखि उडान

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि काठमाडौं-ओशाका उडान गर्ने भएको छ।निगमले मंगलबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ओशाका उडानका लागि निगम पूर्ण रुपमा तयार रहेको बताए।उनले सुरुवातमा कम यात्रु भएपनि एक वर्षभित्र ८१ प्रतिशत अकुपेन्सी कायम गर्ने दाबी गरे।

'सुरुमा ५० प्रतिशत यात्रु ल्याउन सक्नु पनि राम्रो हो। हामीले पहिला संघाई हुँदै ओशाका उडान गर्दा सुरुको फ्लाइटमा ५० प्रतिशत भन्दा कम अकुपेन्सी थियो। तर १२ वर्षको अवधिमा ८१ प्रतिशत लोड फ्याक्टर कायम गर्न सफल भएका थियौँ।' उनले भने।

एक वर्षभित्र ८१ प्रतिशत एभरेज सिट फ्याक्टरमा जापान उडान गर्ने खरेलले दाबी गरे। जापान उडानका लागि सुरुमा अकुपेन्सी कमै रहने निगमका कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले बताए। 'फर्स्ट फ्लाइटको लागि हामीले राम्रै रेस्पोन्स पाइरहेका छौँ। तर त्यसपछिको फ्लाइट भने योजना अनुरुप संख्या प्राप्त गर्न सकिरहेका छैनौँ। यसका लागि हामी सेड्युल म्यानेजमेन्ट र मार्केटिङ तर्फ लागिरहेका छौँ।' दाहालले भने।

दाहालका अनुसार सेप्टेम्बर अन्तिम र अक्टोबरसम्म यात्रुको बुकिङ राम्रो छ।जापान उडानका लागि निगमले क्याविन क्रु तयार गरिसकेको अपरेशन डाइरेक्ट दिपु जुहार्चनले बताए। ओशाका उडानका लागि फ्युलिङमा जेट्याक्स कम्पनी, मेन्टिनेन्सका लागि सिंगापुर एसआइए जापान, ग्राउण्ड  ह्याण्डलिङका लागि सिकेटीएस लगायत कम्पनी तयार गरिसकेको उनले बताए।     

निगमले आउँदो जनावरीदेखि नारिता एयरपोर्टमा पनि नियमित उडान सुरु गर्ने खरेलले बताए। 'जनवरी फर्स्टदेखि हामी टोकियोको नारिता विमानस्थलमा नियमित उडान सुरु गर्नेछौँ।' उनले भने।एयरबस ३३० मार्फत गर्न लागिएको नियमित उडान साताको तीनवटा रहने निगमले जनाएको छ।