राजस्व लक्ष्य भेट्याउन अर्थमन्त्री खतिवडाका लागि चालु वर्ष पनि कठिन, भन्सार असुली वेहाल

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ भदौ ३ गते १७:१३ | Aug 20, 2019
राजस्व लक्ष्य भेट्याउन अर्थमन्त्री खतिवडाका लागि चालु वर्ष पनि कठिन, भन्सार असुली वेहाल

Tata
GBIME
Nepal Life

विराटनगर।अर्थमन्त्री डा युवराज खतिवडाले राजस्व सङ्कलनमा महत्वाकांक्षी लक्ष्य भेट्याउन सबै विकल्प प्रयोग गरेपनि देशभरका भन्सार कार्यालयको साउनकै राजस्व असुली नकारात्मक देखिएको छ।

भन्सार विभागले भन्सार राजस्व बढाउन मूल्यांकनको मापदण्डनै परिवर्तन गरेपनि असुलीमा भने प्रभाव नपरेको तथ्यांकमा देखिएको छ।देशको मूख्य नाका वीरगंज, भैरहवा,विराटनगर र काँकडभिट्टा भन्सार कार्यालयले साउन महिनामा लक्ष्य हासिल गर्न सकेनन्।वीरगंज भन्सारले गत आर्थिकवर्ष गत वर्षको साउन महिनाको जतिपनि राजस्व असुली गर्न सकेन्।

चालु आर्थिक वर्षको साउनमा वीरगंज भन्सारले १० अर्ब ९५ करोड ४ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको छ।यो भन्सारले १५ अर्ब १३ करोड ८७ लाख राजस्व असुलीको लक्ष्य राखेको थियो।यो लक्ष्यको ७२ दशमलब ३३ प्रतिशत मात्रै हो।गत वर्ष साउनमा १२ अर्ब ५९ करोड भन्सार राजस्व संकलन गरेको थियो।

चालु आवको साउनमा वीरगंजले भन्सार महसुलको ६ अर्ब ४८ करोड २६ लाखको लक्ष्यमा ३ अर्ब ७५ करोड ८२ लाख र भ्याट ६ अर्ब १२ करोड ६७लाखको लक्ष्यमा ४ अर्ब ४२ करोड ५२ लाख सङ्कलन गरेको छ।कार्यालयको चालु आवको वार्षिक लक्ष्य १ खर्ब ८८ अर्ब रुपैयाँ छ।त्यस्तै भैरहवा भन्सार कार्यालयले पनि साउनमा राजस्व असुली भेट्याउन सकेन्। कार्यालयका अनुसार साउन महिनामा ७ अर्ब १० करोड ७ लाख राजस्व असुली गरेको छ।

कार्यालयले साउनमा ८ अर्ब ५० करोड ८१ लाख रुपैयाँ सङ्कलनको लक्ष्य राखेको थियो।कार्यालयले भ्याटतर्फ २ अर्ब ३८ करोड ६९ लाख, भन्सार महसुलमा २ अर्ब ६९ करोड १२ लाख र अन्तःशुल्कबाट १ अर्ब ५९ लाख ४१ हजार सङ्कलन गरेको छ।कार्यालयको वार्षिक लक्ष्य १ खर्ब ६ अर्ब रहेको प्रमुख कमल भट्टराईले जानकारी दिए।चालु आर्थिक वर्षको साउनमा विराटनगर भन्सार कार्यालयको पनि लक्ष्य पुगेको छैन।विराटनगर भन्सारले साउनमा २ अर्ब ७१ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।यो कार्यालयले साउनमा ३ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो।

कार्यालयले भ्याट २ अर्ब ८ करोड १५ लाखको लक्ष्यमा १ अर्ब ४८ करोड ४२ लाख, भन्सार महसुलको १ अर्ब ७० करोड १५ लाखको लक्ष्यमा १ अर्ब ४ करोड २७ लाख र अन्तःशुल्कको २० करोड १४ लाखको लक्ष्यमा १८ करोड ६६ लाख रुपैयाँ असुली भएको जनाएको छ।कार्यालयको चालु आर्थिक वर्षको वार्षिक लक्ष्य ४९ अर्ब ६४ करोड ६० लाख रुपैयाँ राखेको छ।मुलुकको सबैभन्दा पूर्वको नाका काँकडभिट्टा भन्सार पनि लक्ष्य भेट्याउन असफल देखिएको छ।

कार्यालयले साउनमा ७३ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।कार्यालयले साउनमा १ अर्ब ६ करोड २६ लाखको लक्ष्य राखेको थियो।कार्यालयले भन्सार महसुलबाट ३४ करोड ४४ लाख र भ्याटबाट २९ करोड ३९ लाख रुपैयाँ सङ्कलन भएको जनाएको छ ।
कार्यालयको चालु आवको वार्षिक लक्ष्य १३ अर्ब २४ करोड छ।