जनउत्थान सामुदायिक लघुवित्तको नबिकेको हकप्रद लिलाममा, कति किन्नु उचित? यस्तो छ विवरण

बिजमाण्डू
२०७६ भदौ ३ गते ११:१६ | Aug 20, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले नबिकेको १८ हजार ५०३ कित्ता सर्वसाधारण तर्फको हकप्रद शेयर बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ।

संस्थाले गत असार १२ गतेदेखि साउन १५ गतेसम्म चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो।

संस्थाले सर्वसाधारणतर्फको नबिकेको हकप्रद शेयर लिलाम बढाबढको लागि भदौ १० गतेदेखि १७ गतेसम्म निवेदन दिन सूचना जारी गरेको छ।

सर्वसाधारणले न्युनतम १०० कित्तादेखि अधकतम १८ हजार ५०३ कित्ताकै लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

आवेदनका लागि सिद्धार्थ क्यापिटल नक्साल, जनउत्थानको कार्यालय बुटवल, सिद्धार्थ बैंकका शाखा कार्यालयहरु, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सर्खेत, धनगढी र महेन्द्रनगरबाट पाइनेछ।

संस्थाको हालको चुक्ता पुँजी ४ करोड २९ लाख रुपैयाँ छ। यसमा हकप्रद निष्कासनपछिको पुँजी जोडिएको छ। हकप्रद निष्कासन गर्ने समाचारसँगै गत एक वर्षको अवधिमा संस्थाको बजार मूल्य अधिकतम २९७० रुपैयाँसम्म पुगेको छ।

त्यस्तै हकप्रदको मूल्य समायोजनपछि सबैभन्दा तल्लो मूल्य ८६५ रुपैयाँसम्ममा कारोबार भएको छ। सोमबार संस्थाको बजार मूल्य ९७५ रुपैयाँमा कारोबार भएको थियो।

गत आर्थिक वर्षमा संस्थाले दुई करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। प्रतिशेयर आम्दानी ५७ रुपैयाँ छ। पुँजी बढेसँगै संस्थाको प्रतिशेयर आम्दानीमा थप गिरावट आउन सक्नेछ।

विगतका वर्षमा संस्थाले दिएको प्रतिफल हेर्ने हो भने अहिलेसम्म तीन वटा बोनस शेयर दिएको छ। विगतका तीन वर्षमै संस्थाले २० प्रतिशतका दरले बोनस शेयर दिएको थियो।