युनिलिभरको नाफा एक अर्ब ६ करोड रुपैयाँ, सूचीकृत कम्पनी मध्ये सर्वाधिक प्रतिशेयर आम्दानी

बिजमाण्डू
२०७६ भदौ २ गते १०:३९ | Aug 19, 2019
युनिलिभरको नाफा एक अर्ब ६ करोड रुपैयाँ, सूचीकृत कम्पनी मध्ये सर्वाधिक प्रतिशेयर आम्दानी


Tata
GBIME
Nepal Life

काठमाडौं। दोस्रो बजारमा सूचीकृत कम्पनी मध्ये सबैभन्दा धेरै शेयर मूल्य भएको युनिलिभर नेपालले गत आर्थिक वर्षमा एक अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ। युनिलिभरले अघिल्लो आर्थिक वर्षमा ९९ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो।

प्रतिशेयर आम्दानीको हिसावले पनि सबैभन्दा अगाडि युनिलिभर रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ११५८ रुपैयाँ छ। कम्पनीले आफ्नो उत्पादन बिक्री गरेर ५ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी जम्मा चार अर्ब ८६ करोड रुपैयाँ थियो। कम्पनीको बिक्री बढेसँगै नाफा ६.७४ प्रतिशतले सुधार भएको हो।

उत्पादन बिक्री र अन्य आम्दानी सहित जम्मा आम्दानी १७ प्रतिशतले सुधार भएर ६ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ। त्यस्तै जम्मा खर्च २१ प्रतिशतले बढेर चार अर्ब ८९ करोड रुपैयाँ पुगेको देखिन्छ।

नाफामा सुधारसँगै प्रतिशेयर आम्दानी ७३ रुपैयाँले बढेर ११५८ रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ छ। जगेडा कोषमा एक अर्ब ८१ करोड रुपैयाँ जम्मा भएको छ। अघिल्लो वर्ष ७०० प्रतिशत नगद लाभांस दिए सँगै जगेडा कोष केहि खुम्चिएको हो। अघिल्लो वर्ष कम्पनीको जगेडा कोषमा दुई अर्ब २३ करोड रुपैयाँ थियो। 

सर्वाधिक महँगो शेयर भएको कम्पनीको दोस्रो बजारमा गत वर्ष प्रतिकित्ता सबैभन्दा धेरै २१ हजार ११७ रुपैयाँमा कारोबार भयो भने सबैभन्दा सस्तो १८ हजार ५१७ रुपैयाँमा कारोबार भएको छ। वर्षभरिमा जम्मा ४० दिन मात्रै कारोबार भएको थियो। महँगो शेयर भएकोले जम्मा ७४७ कित्ताको मात्रै कारोबार भएको कम्पनीले जनाएको छ।