सरकारको प्यान नीति विरुद्ध वीरगंजका व्यवसायी, ५ हजार पसल बन्द गरेर दिनभर आन्दोलन

बिजमाण्डू
२०७६ भदौ २ गते ०९:४२ | Aug 19, 2019
सरकारको प्यान नीति विरुद्ध वीरगंजका व्यवसायी, ५ हजार पसल बन्द गरेर दिनभर आन्दोलन

Tata
GBIME
Nepal Life

वीरगंज। सरकारले चालु आर्थिक वर्षबाट ल्याएको नयाँ करका प्रावधान विरुद्ध ठूला उद्योगीनै आन्दोलित भइरहेका बेला बारा-पर्साका किराना व्यवसायीहरु पनि आन्दोलनमा उत्रिएका छन्। 

मुलुककै आर्थिक राजधानी वीरगंजका किराना व्यवसायीहरुको नेतृत्वमा आइतवारबाट आन्दोलन सुरु भएको छ। दिनभर करिब ५ हजार पसल बन्द गरी विरोध जनाएका छन्। पर्साको वीरगंज, पोखरीया, भिस्वा, जानकी टोल, बाराको परवानीपुर, कलैया, प्रसौनी, जितपुर, सिमरा, पथलैया, निजगढ लगायत दर्जनौ किराना व्यवसायीहरु आन्दोलित भएका हुन्।

अर्थ मन्त्रालयले गत साउन १ देखि जारी गरेको विभिन्न नीतिको कारण पसल तथा व्यापार गर्न निकै समस्या भइरहेकाले आफुहरु आन्दोलनमा उत्रेको पर्सा थोक तथा खुद्रा जनरल किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहाले बताए।

‘सरकारले हाम्रो पुरै व्यापार नै मार्न खोजेको छ,’ उनले भने, ‘हामीले उद्योग वाणिज्य संघ वीरगंजमार्फत ५ वटा माग राखेका छौं, असोज १ गते सरकारको निर्णय कुरेर बसेका छौं, सरकारले पेलेर जान खोज्यो भने कडा आन्दोलनमा उत्रन्छौ।’

उनले किराना पसलबाट ग्राहकले समान खरिद गर्दा बिना प्यान कार्ड १० हजारको समान किन्न पाउनु पर्ने व्यवस्था ल्याउनुपर्ने, प्यान कार्डधारी पसलले वर्षमा १ करोडसम्मको कारोबार गर्न पाउनुपर्ने, मकै बाहेक अन्य खद्यान्नलगायत समानमा लगाइएको भ्याट फिर्ता गर्नु पर्ने, विदेशबाट किराना समान आयातमा सरकारले लिइरहेको ३६ प्रतिशतसम्मको करको दरलाई खारेज गर्नुपर्ने व्यवसायीहरुको माग रहेको बताए। 

वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ताले किराना व्यवसायीलाई सरकारी नयाँ नीतिको कारण निकै मर्का परेको बताए। उनले सरकारले विभिन्न झन्झटिलो प्रकृया र कर प्रणालीमा पनि केही अव्यवहारिक व्यवस्था ल्याएकोले उनीहरु आन्दोलनमा उत्रेको बताए।