काठमाडौँ। ग्लोबल आइएमइ लघुबित्त बित्त्तीय संस्था र नेपाल एग्रो लघुबित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। गत बर्षको नाफाबाट ग्लोबल आइएमइले ३५ प्रतिशत बोनस शेयर दिने भएको छ भने नेपाल एग्रोले १५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो।
ग्लोबल आइएमइले कर प्रयोजनका लागि छुट्टै १.८४ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।
संस्थाले बम्पर लाभांश घोषणा गरेपछि दोस्रो बजारमा शेयरको मूल्य बढेको थियो। आइतबारको कारोबारमा संस्थाको शेयरमा लगानीकर्ताले झ्याम्मिँदा एकै दिनमा प्रति कित्ता शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। आइतबारको कारोबारमा १० प्रतिशत मूल्य बढ्दा प्रति कित्ता शेयर मूल्य ७४७ रुपैयाँमा उक्लिएको छ।
यसअघि संस्थाले करिब २२ प्रतिशतसम्म लाभांश दिएको थियो। आर्थिक वर्ष २०७३/७४ मा उसले २२ प्रतिशत लाभांश दिएको थियो। गत वर्ष संस्थाले १५.७८ प्रतिशत लाभांश दिएको थियो। संस्थाले ग्रामीण क्षेत्रका सर्बसाधारणको जीवनस्तर उकास्न लगानी गर्दै आएको छ।
दोस्रो बजारमा सूचिकृत भएको चार महिनामै नेपाल एग्रोले लाभांस घोषणा गरेको हो। गत वैशाखमा संस्थाको शेयर दोस्रो बजारमा सूचिकृत भएको थियो।
कम्पनीको चुक्ता पूँजी चार करोड ९७ लाख रुपैयाँ रहेको छ। गत वर्ष उसले एक करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो। प्रति शेयर आम्दानी ३७ रुपैयाँ ८६ पैसा रहेको छ।