लाभकर विवाद नसुल्झिँदा शेयर बजार निरन्तर ओरालो, आइतबार सूचक ९ अंकले झर्दा कारोबार समेत न्यून

बिजमाण्डू
२०७६ भदौ १ गते १५:४२ | Aug 18, 2019


काठमाडौँ। सरकारले पुँजी बजारलाई प्राथमिकता नदिएपछि शेयर बजार लगातार घट्दो क्रममा देखिएको छ। गत साता घट्दो क्रममा रहेको बजारले यो साताको सुरुवात पनि घटेरै गरेको छ।

Tata
GBIME
Nepal Life

आइतबार शेयर मापक सूचक ९.२० अङ्कले घटेर १२१४.८४ अंकमा ओर्लियो। गत साता बजार १४ अङ्कले घटेको थियो। आइतबार कारोबार मात्रै घटेन कारोबार रकम समेत करिब ३३ करोड रुपैयाँमा खुम्चिएको छ।

पूँजीगत लाभकरको विवाद समाधान नभएका कारण सूचक घटेको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए। सूचक लगातार घटेपनि सरकार चुप लागेर बसेको उनले आरोप लगाए।'लाभकरको विवादमा सरकार मूकदर्शक बन्यो 'ढकालले भने। सरकारको प्राथमिकतामा समेत पुँजी बजार नपरेको लगानीकर्ताको निष्कर्ष छ।

'सरकारको प्राथमिकतामा बजार परेन ' ढकालले भने। नयाँ आर्थिक वर्ष लागे देखिनै लगानीकर्ताले पूँजीगत लाभकर उठाउँदा लागत नखुलेको शेयरको हकमा एउटा निश्चित मिति (कट अफ प्राइस ) तोकिदिनु पर्ने माग गर्दै आएका छन्। तर उनीहरूको मागलाइ सरकार र सरोकारवालाले निरन्तर पन्छ्याउँदै आएका छन्।

आइतबारको कारोबारमा ३२ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। १६० कम्पनीका शेयर किनबेच भएका हुन्। ११ लाख कित्ता शेयर किनबेच भएको छ।

कारोबारको सुरुवातमा सामान्य अङ्क बढेको बजार पहिलो घण्टापछि निरन्तर घट्दो क्रममा देखिएको थियो। कारोबारको अन्त सम्मनै बजार फर्किन नसकेपछि सूचक घटेर बन्द भएको हो।  

ग्लोबल आइएमइ लघुबित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी करिब १० प्रतिशत कमाएका छन् भने गुराँस लघुबित्त वित्तीय संस्थाका शेयरधनीले करिब पाँच प्रतिशत गुमाएका छन्। दुवै संस्थाकाले आइतबार नै लाभांश घोषणा गरेका थिए।

ग्लोबल लघुबित्तले ३५ प्रतिशत बोनस घोषणा गर्दा दोस्रो बजारमा उसको मूल्य करिब १० प्रतिशतले बढेको छ। तर १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको गुराँस लघुवित्तको मूल्य करिब पाँच प्रतिशतले घटेको छ।

नेपानी शेयर बजारमा लगानीकर्ताले बोनस शेयरलाई प्राथमिकता दिने गरेका छन् जबकी अन्तर्राष्ट्रिय बजारमा नगद लाभांशलाई राम्रो मान्ने गरिन्छ।