बैंकास्योरेन्स बन्दको निर्णय कति सही? ‘जुम्रा मार्न कपाल खौरनु पर्नेमा टाउकै काट्ने काम भयो’

बिजमाण्डू
२०७६ भदौ १ गते १२:११ | Aug 18, 2019
बैंकास्योरेन्स बन्दको निर्णय कति सही? ‘जुम्रा मार्न कपाल खौरनु पर्नेमा टाउकै काट्ने काम भयो’

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्र बैंकले बैंकास्योरेन्स बन्द गरिदिएपछि त्यसलाई खुलाउन बैंकर तथा बीमा कम्पनीहरुले लबिङ गरिरहेका छन्। राष्ट्र बैंकले बैंकर्स संघलाई पुनरावलोकनको संकेत पनि गरेको छ। 

राष्ट्र बैंकले बिकृति रोक्ने नाममा बीमालेख नै बिक्री गर्न नपाउने व्यवस्था गर्नु उचित नभएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। उनले भने ‘जुन बैंकले बदमासी गरेको छ त्यसलाई कारबाही गर्न छाडेर व्यवसायमै रोक लगाउने काम हुनु गलत हो।’

बैंकमार्फत बीमालेख खरिद गर्दा बीमितलाई नै सजिलो हुने बैंकहरुको राय छ। बैंकमार्फत बीमा गर्दा बीमितको प्रिमियम सिधै बैंक खाताबाट काटिने हुँदा उनीहरुलाई धेरै सजिलो हुने दाहालले बताए। 

बैंकहरुलाई बीमा बीमालेख बिक्री गर्ने अनुमति दिँदा साना ऋणीका साथै उनीहरुको साक्षी बसेका समेतलाई बीमा गर्न बाध्य बनाउन थालेपछि राष्ट्र बैंकले बाध्य भएर रोक्नु परेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए। 

यदि बैंकहरुले बदमासी गरेका छन् भने राष्ट्र बैंकले कारबाही गर्नु पर्ने दाहाल लगायतका बैंकरहरुको राय छ। निरौलाका अनुसार बैंकहरुको हर्कतले भयाभह रुप लिएपछि रोक्न बाध्य हुनु परेको हो। बैंकहरुले बीमालेख बिक्री गर्न थालेपछि बीमा अधिकर्ताहरुले बिरोध गर्दै आएका थिए। कतिपय पहुँचवाल अभिकर्ताहरुले राष्ट्र बैंकमै गएर बैंकहरुले बीमा लेख बेच्न नपाउने व्यवस्था गरिदिन लविङ समेत गरेका थिए। 

निरौलाले भने 'बैंकहरुले करोड करोड रुपैयाँमाथिको कर्जा लिनेहरुका लागि बीमा गराउन नसक्ने तर जो बोल्न सक्दैन गरिव छ उसलाई चाँही बाध्यात्मक रुपमा बीमा गराउनु न्यायसंगत छैन।' 

पछिल्लो समय अभिकर्ताका साथै बैंकहरुबाट पनि धेरै संख्यामा बीमा बीमालेख बिक्री भइरहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले जानकारी दिए। अहिलेको अवस्थामा ३ देखि ५ प्रतिशत बीमालेख बैंकहरुबाट बिक्री भैरहेको पाण्डेले बताए। यदि बैंकहरुले बाध्यात्मक रुपमा बीमालेख बिक्री गरिरहेको भेटिएमा कारबाही गर्नुको सट्टा सिधै बीमालेख नै बिक्री गर्न नपाउनु उचित नभएको उनको पनि तर्क छ। 

विश्वमा नै बैंकहरुले कर्पोरेट एजेन्टको रुपमा जीवन तथा निर्जीवन बीमा बीमालेख बिक्री गर्न पाउने व्यवस्था रहेको सगरमाथा इनस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए। 

बैंकर एशोसिएसनको विरोधपछि नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अभ्यास हेरेर आवश्यक निर्णय गर्ने आश्वासन दिएको छ। तर अहिले जारी भएको सर्कुलरको अक्षरस पालना हुनु पर्ने निरौला बताउँछन्। उनले भने ‘बैंकहरुले अझै पनि वाध्यात्मक रुपमा बीमालेख बिक्री गरिरहेको गुनासो आएको छ। यस्तो काम पुर्ण रुपमा रोकिनु पर्छ।’

बैंकहरुले बोल्न नसक्ने ऋणीलाई जबरजस्ती बीमालेख बिक्री गर्नुको साटो करोड करोड रुपैयाँ कर्जा लिनेहरुलाई बीमालेख बिक्री गर्न नरौलाले चुनौती दिए। उनले भने ‘निमुखालाई बाध्यात्मक रुपमा बीमा गराउनेभन्दा पनि यति करोड रुपैयाँभन्दा माथिको कर्जा लिनेहरुलाई अनिवार्य रुपमा बीमा गराउँछौ भनेर लिखित प्रतिवद्धता दिएमा बैंकास्योरेन्स खुलाउने बारे अनि मात्र छलफल सुरु गर्ने छौ।’

बीमाको दायरा बढाउन बीमा समितिले बैंकहरुलाई कर्पोरेट एजेन्टको रुपमा काम गर्न पाउने जनाउँदै आए पनि नेपाल राष्ट्र बैंकको यस्तो निर्देशनपछि केहि पनि बोलेको छैन। बैंकले के गर्न हुने के गर्न नहुने भन्ने अधिकार नेपाल राष्ट्र बैंकसँग भएको हुँदा बीमा समितिले यस विषयमा कुनै पनि निर्देशन दिन नसक्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। तर बैंकहरुले बीमा कर्पोरेट एजेन्टको रुपमा बीमा गर्न पाउने प्रचलन विश्वमा नै भएको उनले बताए। 

अभिकर्ता मार्फत बीमालेख बिक्री हुँदा मिस सेलिङ हुने सम्भावना धेरै हुने तर बैंकहरु मार्फत बीमालेख बिक्री गर्दा थप व्यवस्थित र सुरक्षित हुने दाहालको तर्क छ। 

पछिल्लो समय बीमा क्षेत्रमा मिससेलिङको विषय उठ्दै आएको छ। अभिकर्ताहरुले बीमा गरेको १०/१५ वर्षमै बीमाङ्क रकम डबल हुने जस्ता प्रचारले बीमितमा गलत सन्देश प्रवाह भैरहेको छ। विगमा भएको केहि घटनाहरुको प्रमुख कारण अभिकर्ताको मिस सेलिङले गर्दा पनि देखिन्छ। बीमा क्षेत्रमा बीमालेखको ल्याप्सेस रेसियो बढ्दै गैरहेको सन्दर्भमा बैंक मार्फत बीमा बीमालेख बिक्री हुँदा यस्तो रेसियो कम हुने बैंकरहरुको राय छ। कतिपय अवस्थामा अभिकर्ताले बीमितलाई बीमालेख नै नदिएर आफैसँग राखेको पाइन्छ। तर बैंकहरुले बीमालेख जारी हुने वित्तिकै बीमितिलाई सम्पुर्ण विवरण दिने हुँदा यसको पारदर्शिता थप बढ्ने उनीहरुको राय छ। 

बैंकरका अनुसार, बैंकास्योरेन्स बन्द गरेर राष्ट्र बैंकले 'जुम्रा मार्न कपाल खौरने होइन  टाउकै काट्ने' जस्तो निर्णय गरेको छ।

बीमा गर्ने क्रममा आउने कमिसनका लागि बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको राष्ट्र बैंकको बुझाइ छ। कतिपय बैंकहरुले बीमा मात्रै गराएर हिड्न थालेको राष्ट्र बैंकको आरोप छ।

'विकृति नआएको होइन, विकृति पनि आएका छन्। तर त्यसलाई निराकरण गरेर जाने हो' बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने, 'बन्दै गरेर जाँदा कसैलाई पनि फाइदा गर्दैन।'