श्रीको क्यू-४०० टर्बोप्रोब आइतबार आइपुग्दै, वुद्ध र यतिसँग पोखरा र चितवनमा पनि प्रतिस्पर्धा

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ साउन ३२ गते २०:२१ | Aug 17, 2019
श्रीको क्यू-४०० टर्बोप्रोब आइतबार आइपुग्दै, वुद्ध र यतिसँग पोखरा र चितवनमा पनि प्रतिस्पर्धा

Tata
GBIME
Nepal Life

काठमाडौं।अढाई वर्ष अघि फिक्सविङ उडानमा प्रवेश गरेको श्री एयरलाइन्सको क्यू- ४००टर्बोप्रोब जहाज आइतबार काठमाडौं आइपुग्ने भएको छ।

डेढ वर्षअघि टर्बोप्रोब जहाज संचालनका लागि अनुमति मागेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणको शर्तैशर्तका कारण बल्ल जहाज आउन लागेको हो। श्री एयरलाइन्सका अनुसार जहाज भारतमा आइसकेको छ र आइतबार साँझसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।यो जहाज आएको १५ दिनपछि अर्को टर्बोप्रोब काठमाडौं आइपुग्छ

।स्रोतका अनुसार पहिलो जहाज ल्याउने पाइलटलेनै क्यानडाबाट अर्को जहाज ल्याउनेछन्। प्राधिकरण स्रोतका अनुसार टर्बोप्रोबले एक साताभित्र उडान अनुमति पाउनेछ।कम्पनीले टर्बोप्रोबमार्फत चितवन,सिमरा,पोखरामा उडान गर्नेछ। टर्बोप्रोब संचालनका लागि अनुमति माग्दा प्राधिकरणले शर्तसहित मात्रै जहाज चलाउन दिने भन्दै अड्को थापेको थियो।

सुरुमा श्री एयरले ल्याउन लागेको जहाज उपत्यका बाहिर राखेर उडान गर्नुपर्ने र जहाजको प्राविधिकमार्फत अडिट गराएर मात्र इजाजत दिन सकिने शर्त राखेको थियो।प्राधिकरणसँग क्यू-४०० टर्बोप्रोब जहाजको प्राविधिक नभएको भन्दै रोक्ने काम गरेको थियो।तर कम्पनीले प्राधिकरणका कर्मचारीलाई आवश्यक तालिम दिन पठाएको थियो। श्रीले ल्याउन लागेको जहाज ७८ सीटको जहाज हो।

कम्पनीले ल्याउन लागेको जहाजले उडान भरेपछि वुद्ध र यतिको कार्टेलिङ कम हुन्छ। यो क्षेत्रमा ट्राफिक राम्रो भएपनि भाडा भने महँगो छ। श्रीले चार वटा जेटमार्फत ट्रंक रुटमा उडान भरेपछि जहाज भाडा सस्तिएको छ।बुद्ध र यतिसँगै श्री थपिएकाले भाडा सस्तो मात्रै भएन सेवामा समेत सुधार भएको थियो।

अढाई वर्षमा छलाङ

अढाई वर्ष अघि फिक्सविङ उडान थालेको श्रीले हवाई उड्डयन क्षेत्रमा छलाङ मारेको छ।सुरुवातमा फिक्सविङ उडानका लागि ठूलै हण्डर खाएको यो कम्पनीले अन्तर्राष्ट्रिय उडानको अनुमति पाइसकेको छ।

एकै पटक तीन वटा क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका जहाज ल्याएर प्रतिस्पर्धामा उत्रिएको श्रीसँग ५० सिट क्षमताको सिआरजे २०० दुईवटा र ७८ सिटको सिआरजे ७०० एउटा जहाज छ।

हेलिकोप्टरमा नाम कमाएको यो कम्पनीले फिक्सविङ उडानका लागि जहाज ल्याएको चार महिनासम्म विमानस्थलमै थन्क्याएर राख्नुपर्यो।हवाई उड्डयन क्षेत्रमा रजगज गरिरहेका कम्पनीले श्रीलाई उडान गर्न नदिन ठूलै जोडबल गरे।तर लामो रस्साकस्सीपछि उडान अनुमति पायो।श्रीले उडान अनुमति पाएपछि भैरहवा,विराटनगर र नेपालगंजमा भाडानै सस्तियो।आन्तरिक हवाई कम्पनी वुद्ध र यति एयरलाइन्सले भाडासँगै आफ्नो सेवामा समेत सुधार ल्याउन बाध्य भए।

जोखिम पनि उत्तिकै

 विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)मा काम गरेर आएका कम्पनीका प्रवन्ध निर्देशक सुधीर मित्तलले श्रीलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुबैमा एकैसाथ एग्रेसिभ रुपमा लैजान खोजेका छन्।

क्यास वर्निङ र धेरै जोखिम भएको हवाई विजनेशमा व्यवस्थापकीय क्षमता राख्न सकेमा सफल हुन कठिन छैन।तर आन्तरिक उडानमा धेरै समय विताएका जायन्टहरुका बीचमा अघि बढ्न भने कठिन छ।आन्तरिक रुपमा उडान गरिरहेका स्थापित कम्पनीले अन्तर्राष्ट्रिय उडान समेत गरिरहेका छन्।तर त्यो स्थायी रुपमा सफल भने हुन सकेको छैन।

अहिले उडान भरिरहेको वुद्धले यसअघि भुटान समेत उडान गरेको थियो।अहिले वनारस,कोलकोत्ता उडान गरिरहेको छ।श्रीले श्री एयरलाइन्सले नयाँ दिल्ली,कोलकोत्ता,अहमदावाद, बेग्लोंर र ढाकाका उडानका लागि अनुमति पाएको हो।ती गन्तब्यमा वुद्ध,श्री वाहेक अरु हवाई कम्पनीसँग समेत प्रतिस्पर्धा गर्नुपर्नेछ।

अन्तर्राष्ट्रिय स्तरमा राम्रा विमान कम्पनी समेत टाट उल्टिएका छन्।केही समयअघि जेट एयरलाइन्स आर्थिक रुपमा टाट उल्टियो भने केही वर्ष अघि किङफिसर एयरलाइन्स समेत बन्द भयो। अहिले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम समेत आर्थिक रुपमा ठूलो संकटमा फसिसकेको छ।