अर्थमन्त्री खतिवडाको सहुलियत ब्याजको ऋण लगभग असफल: प्रमाणपत्र धितोमा २४ जनालाई ऋण

बिजमाण्डू
२०७६ साउन ३१ गते ०९:१९ | Aug 16, 2019
अर्थमन्त्री खतिवडाको सहुलियत ब्याजको ऋण लगभग असफल: प्रमाणपत्र धितोमा २४ जनालाई ऋण

Tata
GBIME
Nepal Life

काठमाडौ। सरकारले झ्याली पिटाएर ल्याएको शैक्षिक प्रमाणपत्र धितो ऋण कार्यक्रम लगभग असफल देखिएको छ। गत आर्थिक बर्षको बजेटबाट ल्याइएको यो कार्यक्रममा एकदमै न्युन सहभागिता देखिएकोछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पढिरहँदा तालीपाएको यो कार्यक्रममा जम्मा २४ जनाले मात्र ऋण पाएका छन्। कुल १ करोड २६ लाख ५० हजार रुपैयाँ ऋण गएको छ। यसमा सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिन्छ।

सबैभन्दा सफल भने ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा देखिएको छ। डा. रामशरण महत अर्थमन्त्री हुँदा सुरु भएको यो कार्यक्रममा १७ हजार २०३ जनाले ३७ अर्ब १२ करोड ७० लाख रुपैयाँ ऋण चलाएका छन्। यसमा पनि पाँच प्रतिशत ब्याज अनुदान छ। महतको कार्यक्रमलाई खतिवडाले पनि निरन्तरता दिएका छन्।

विदेशबा६ फर्किका युवालाई दिइने कर्जा पनि निक्कै नै असफल भएको छ। जम्मा ४९ जनाले १२ करोड ६५ लाख रुपैयाँ ऋण चलाएका छन्। यसमा पनि पाँच प्रतिशत ब्याज अनुदान छ।

यो सबै तथ्यांक गत आर्थिक बर्षसम्मको हो। ६ प्रतिशत ब्याज अनुदानको महिला उद्यमशील कर्जा तुलनात्मक रुपमा केही बढि गएको छ। यो ऋण ७९६ जना महिलाले चलाएका छन्। कुल ५८ करोड १३ लाख रुपैयाँ गएको छ।

दलित समुदाय ब्यवसाय विकास कर्जा पनि न्यून मात्रामा गएको छ। जम्मा ७० जनाले ३ करोड ९१ लाख रुपैयाँ चलाएका छन्। उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा ६० जनाले चलाएका छन्। कुल १ करोड ७६ लाख रुपैयाँ मात्र गएको छ। भुकम्प पीडितहरुको निजी आवास निर्माण गर्न भनेर ल्याइएको स्किममा ९३ जना मात्र सहभागी छन्। कुल २ करोड ६४ लाख रुपैयाँ मात्र ऋण गएको छ।

सरकारले ब्याज अनुदान दिने सात किसिमका कर्जामा कुल १८ हजार २९५ जना सहभागी छन्। उनीहरुले ३७ अर्ब ८३ करोड ९८ लाख ९३ हजार रुपैयाँ ऋण चलाएका छन्। यसमध्ये ३२ अर्ब ८२ करोड १५ लाख ६ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ। बाँकी पैसा ऋणीबाट भुक्तानी पनि भइसकेको छ।