शिवम् सिमेन्टको नाफा एक अर्ब ५० करोड, एक बर्षमै बिक्री गर्यो ११ अर्ब ३४ करोडको सिमेन्ट 

बिजमाण्डू
२०७६ साउन ३० गते १२:३९ | Aug 15, 2019
शिवम् सिमेन्टको नाफा एक अर्ब ५० करोड, एक बर्षमै बिक्री गर्यो ११ अर्ब ३४ करोडको सिमेन्ट 

Tata
GBIME
Nepal Life

काठमाडौं। शिवम सिमेन्टले गत आर्थिक बर्ष एक अर्ब ५० करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले ३१.४८ प्रतिशतले नाफा बढाएको हो। 

अघिल्लो बर्ष नाफा एक अर्ब १४ करोड रुपैयाँ थियो। 

कम्पनीले सिमेन्ट बिक्री गरेर ११ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ। उत्पादन खर्च भने ७ अर्ब २७ करोड रुपैयाँ छ। आम्दानीमा उल्लेख्य सुधार भए पनि कम्पनीको खर्च भने बढेको छ। कम्पनीले अरुलाई ७३ करोड रुपैयाँको बैंक निक्षेप तथा सापटी दिएको छ। 

गत आर्थिक वर्षमा सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गरेसँगै चुक्त पूँजी चार अर्ब ४० करोड रुपैयाँ पुगेको छ। प्रिमियमा प्राथमिक शेयर बिक्री गरेको कम्पनीको जगेडा कोषमा ९३ करोड ९७ लाख रुपैयाँ जम्मा भएको छ। शेयर प्रिमियम बाहेकको जगेडा कोषमा भने तीन अर्ब २२ करोड रुपैयाँ जम्मा गरेको छ। 

कम्पनीको समुहतर्फ भने एक अर्ब ४९ करोड रुपैयाँ नाफा रहेको छ। नाफामा सुधारसँगै प्रति शेयर आम्दानी ३४ रुपैयाँ छ। प्रति शेयर कुल सम्पत्ती मूल्य २८९ रुपैयाँ छ। प्राथमिक शेयर निष्काशनसँगै दोस्रो बजारमा कम्पनीको अधिकतम प्रति शेयर मूल्य ७१२ रुपैयाँसम्म पुगेको थियो।