नेपाल लाइफको व्यवसाय ४२ प्रतिशतले बढ्यो, बीमितलाई ११ अर्ब रुपैयाँ ऋण लगानी गर्यो

बिजमाण्डू
२०७६ साउन ३० गते १२:०३ | Aug 15, 2019
नेपाल लाइफको व्यवसाय ४२ प्रतिशतले बढ्यो, बीमितलाई ११ अर्ब रुपैयाँ ऋण लगानी गर्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष ५२ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ। गत आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदनपछिको नाफा भने एक अर्ब ११ करोड रुपैयाँ थियो। 

गत बर्ष लेखापरीक्षण हुन अगाडि यसै अवधिको नाफा ४७ करोड ९२ लाख रुपैयाँ थियो। तर लेखापरीक्षणपछि भने एक अर्ब ११ करोड रुपैयाँ पुगेको हो। अहिले सार्वजनिक भएको नाफा लेखापरीक्षणपछि बढ्ने कम्पनीले जनाएको छ। 

कम्पनीले गत बर्ष जीवन बीमा व्यवसाय ४२ प्रतिशतले बढाएको हो। असार मसान्तसम्ममा बीमा शुल्क २२ अर्ब ८२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो बर्ष १५ अर्ब ९८ करोड रुपैयाँ थियो। कर्जा लगानीबाट मात्रै कम्पनीले चार ४८ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी तीन अर्ब ९८ करोड रुपैयाँ थियो। पछिल्लो समय बैंकिङ क्षेत्रको उच्च व्याजदरको फाइदा उठाउँदै बीमा कम्पनीले राम्रो आम्दानी गर्न सफल भएका छन्। 

कम्पनीले बीमालेख धितोमा राखेर एक अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको छ। बीमितले आफ्नो बीमालेख धितो राखेर कर्जा लिन पाउने व्यवस्था छ। नेपाल लाइफले यस्तो क्षेत्रमा पछिल्लो समय कर्जा बढाउँदै आएको छ। गत वर्ष यस्तो कर्जा ११ अर्ब ८८ करोड रुपैयाँ प्रवाह गरेको छ। दीर्घकालिन क्षेत्रमा ४१ अर्ब २३ करोड रुपैंयाँको लगानी गरेको छ भने अल्पकालिन लगानी तर्फ १८ अर्ब २२ करोड रुपैयाँ छ। कम्पनीले गत वर्ष ७१ अर्ब ३५ करोड रुपैयाँ सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको जानकारी दिएको छ। 

यसै अवधिमा कम्पनीले ७ अर्ब ५९ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ६ अर्ब २१ करोड रुपैयाँको दाबी भुक्तानी गरेको थियो। कम्पनीले अझै एक अर्ब १५ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ। 

आर्थिक वर्ष २०७५/७६ को अन्तरिक बोनसदर प्रतिहजार ६३ रुपैयाँदेखि ८२ रुपैयाँसम्म रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ४३ करोड रुपैयाँ छ। कम्पनीले गएका वर्षमा बोनस शेयरलाई प्राथमिकता दिदै गर्दा जगेडा कोष घट्दै गएको छ।