कालोपत्रेको आयुनै कम भएपछि कंक्रिट सडक बनाउने सरकारको योजना, किन धेरै टिक्छ कंक्रिट सडक?

बिजमाण्डू
२०७६ साउन २९ गते १५:५६ | Aug 14, 2019
कालोपत्रेको आयुनै कम भएपछि कंक्रिट सडक बनाउने सरकारको योजना, किन धेरै टिक्छ कंक्रिट सडक?


Tata
GBIME
Nepal Life

काठमाडौं।सरकारले विटुमिन प्रयोग भएको सडक चाँडै भत्किन थालेपछि कंक्रिट सडक बनाउने योजना अघि सार्ने भएको छ। कालोपत्रे सडक एक झर पानीलेनै क्षतविक्षत बनाउन थालेपछि सिमेन्ट प्रयोग गरेर कंक्रिट सडक बनाउने योजना सरकारले अघि सार्न लागेको हो।

सडक विभागले कंक्रिट सडक निर्माणको अध्ययन सुरु गर्ने भएको छ।विभागका महानिर्देशक केशवकुमार शर्माले सडकको आयुलाई हेरेर कंक्रिट सडकको योजना बनाउन थालेको बताए।‘केही वर्षभित्रै नमूना सडक बनाउने सोच विभागले बनाएको छ। त्यसका लागि सिमेन्टको उत्पादन क्षमता बढ्नुपर्छ भने मूल्य पनि घट्नुपर्छ’उनले भने।

अहिले घुम्ती,धेरै उकालो र ओरालो, पानी जम्ने र सतह चिसो भैरहने ठाँउमा कंक्रिटनै प्रयोग गरिन्छ।तर त्यो सडकको लम्बाई पाँच सय मिटर भन्दा पनि कम छ।विभागकै उपमहानिर्देशक शिवहरी सापकोटाका अनुसार कालोपत्रे नखप्ने त्यस्ता सडकको पहिचान गरेर कंक्रिट सडक निर्माण भइरहेको छ।

कालोपत्रे/ढलान कुन उपयुक्त ?

कालोपत्रे विटुमिन र चिप्स  गरेर पक्की सडक निर्माण गरिन्छ भने कंक्रिट सिमेन्ट,छड,गिटी प्रयोग निर्माण गरिन्छ। संसारमा सबैभन्दा बढी सडक कालोपत्रे गरेर निर्माण भएको छ।अल्पकालिन रुपमा कालोपत्रे कंक्रिट भन्दा सस्तो पर्छ।

कालोपत्रेको तुलनामा ढलानको आयु धेरै हुन्छ तर यो महँगो पर्छ। इन्जिनियरहरुका अनुसार यो कंक्रिट सडक तीन गुणा भन्दा महँगो पर्छ।विभागका सिनियर डिभिजनल इन्जिनियर अमिन्द्र खड्काका अनुसार कालोपत्रे सडकको आयु अधिकतम १५ बर्ष हुन्छ भने कंक्रिटको आयु ४० बर्षसम्म हुन्छ। सिमेन्टको आयु ६० बर्षसम्मको हुने भएकाले मर्मत सम्भार गरेर ४० बर्ष टिकाउने डिजाईनमा निर्माण गर्न सकिन्छ। यसरी सडक निर्माण गर्दा कालोपत्रे भन्दा कंक्रिट तीन गुणासम्म लागत पर्ने उनले बताए।

विभाग अनुसार एक किलोमिटर कालोपत्रे सडक निर्माण गर्नका लागि दुई देखि पाँच करोड सम्म लाग्छ। तराईमा तुलनात्मक रुपमा लागत कम पर्न आउँछ भने पहाड र हिमालमा बढी पर्न आउछ। सडकको,डिजाईन,गुणस्तर,कालोपत्रेको प्रकार,मोटाई लगायतले लागत निर्धारण हुन्छ। प्रतिकिमी ७ करोड लागतसम्मका सडकहरु पनि विभाग मातहत नै निर्माण भएका छन्।थोरै लागतमा धेरै सडक निर्माण गर्नुपर्ने भएकाले मापदण्ड घटाएर २ करोडसम्ममा पनि कालोपत्रे गरिएको पनि छ।

ढलान गर्दा लाग्ने लागत विभागसँग छैन। कंक्रिट सडक निर्माण गर्दा न्यूनतम पनि १० करोडमाथि पर्न आउने उपमहानिर्देशक सापकोटाले जानकारी दिए। ढलानका लागि सिमेन्ट कंक्रिट पेभर मेसिन आवश्यक पर्ने भएकाले सुरुको लागत धेरै पर्न आउँछ। तर दीर्घकालीन रुपमा यो फाईदाजनक हुने निष्कर्षमा सडक विभाग पुगेको छ।

कालोपत्रे सडकको दुई/तीन बर्षमा आवधिक मर्मत गरिरहनुपर्छ तर ढलान यति छिट्टै मर्मत सम्भार गरिरहनुपर्दैन। ब्लक/ब्लकमा ढलान गरिने नयाँ प्रविधि विकास भएकाले मर्मत पनि सजिलै गर्न सकिन्छ। लागत पनि कम लाग्छ। पुरानो शैली अपनाएर ढलान गरियो भने मर्मत गर्न कठिन पर्ने अवस्था आउन सक्छ।

उकालो र ओरालो तथा पानी धेरै जमिरहने ठाउँमा ढलान नै गर्नुपर्छ।ओरालो र उकालोमा सवारीसाधनको चक्का सतह घिस्रिने भएकाले ताप उत्पन्न भई विटुमिन तलमाथि सर्छ। तापले विटुमिन पग्लिन्छ।पानी जमेको ठाउँमा पनि ढलान गरेर सेट भएपछि समस्या आउँदैन तर पीच गरिएको सडकमा केही समय पानी जम्यो भने पेभमेन्ट विग्रन थाल्छ। चिसो सतहमा कालोपत्रे टिक्दैन।

ढलान सडकका केही वेफाईदा पनि छन्। सडक कालोपत्रे जस्तो  स्मुथ हुँदैन। धेरै जोईन्ट फर्मेसन हुने भएकाले पीचमा जस्तो स्मुथ हुँदैन। कडा पेभमेन्ट हुने भएकाले ढलानमा सवारीसाधनको टायर समेत तुलनात्मक रुपमा बढी खिईन्छ। पूर्वाधार तर्फ हेर्दा कालोपत्रे र ढलान दुवैका लागि ग्राभेल गरेर वेश तयार पार्नै पर्छ। तर ढलानका लागि वेस कोर्ष गरिरहनु पर्दैन। बाँकी आवश्यक सबै संरचना चाहिन्छ।

'आवश्यक सिमेन्ट दिन सक्छौ'

नेपाल सिमेन्टमा आत्मनिर्भर भैसकेको छ। नेपाल सिमेन्ट उत्पादक संघले उपलब्ध गराएको तथ्याङक अनुसार बार्षिक एक करोड टन माग रहेको छ भने १ करोड ५० लाख टन सिमेन्ट उत्पादन भइरहेको छ।

संघका अध्यक्ष ध्रुव थापाले कंक्रिट सडकका लागि आवश्यक सिमेन्ट उत्पादन गर्ने क्षमता उद्योग रहेको बताए।उनका अनुसार सुरुवातमा केही सडक मात्रै निर्माण गरेर परीक्षण सुरु गर्ने र विस्तारै बढाउन सकिन्छ।