दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउने तयारी, किसानको हड्ताल अघिनै मूल्य समायोजन गरिँदै

बिजमाण्डू
२०७६ साउन २९ गते १२:४४ | Aug 14, 2019
दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउने तयारी, किसानको हड्ताल अघिनै मूल्य समायोजन गरिँदै


Tata
GBIME
Nepal Life

काठमाडौं।किसान र डेरी उद्योगको लागत बढेको भन्दै दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउने तयारी भएको छ।कृषिमन्त्री चक्रपाणी खनालको संयोजकत्वमा चार दिन अघि राष्ट्रिय दुग्ध विकास बोर्ड,दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ र निजी डेरीहरुको संस्थाबीच भएको छलफलमा मूल्य बढाउन सहमति जुटेको थियो।

छलफलमा सहभागीका अनुसार दूधको मूल्य ६ रुपैयाँसम्म बढाउनुपर्नेमा सबै एकमत भएका छन्।यो मूल्य कार्यान्वयनमा आएमा दूध लिटरको ७६ रुपैयाँ पर्नेछ। एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्नेछ।

किसानले दुई वर्षदेखि मूल्य दूधको मूल्य नबढ्दा उत्पादन लागतनै धान्न नसकेको भन्दै हड्ताल गर्ने घोषणापछि मन्त्री खनालले सर्वदलीय छलफल डाकेका थिए। केन्द्रीय दुग्ध सहकारी संघले भदौं १गतेभित्र दूधको मूल्य नबढाए चरणवद्ध हड्ताल गर्ने घोषणा गरिसकेको छ।संघले भदौं चार गते दुग्ध विकास संस्थान घेराउको कार्यक्रम सार्वजनिक गरिसकेकोले भदौं १भित्रै मूल्य बढाउन दबाब परेको हो।संस्थानका संचालक शितलकाजी श्रेष्ठले दूधको मूल्य बढाउने बारेमा छलफल भएको बताए।

‘दूधको मूल्य दुई वर्षदेखि बढेको छैन। किसानले किन्ने दानाको मूल्य पाँच पटक बढिसकेको छ।उनीहरुले हड्तालको समेत घोषणा गरेकोले मूल्य बढाउने बारेमा छलफल भएको हो’ उनले बिजमाण्डूसँग भने,’मूल्य कति बढाउने र कुन मितिदेखि लागु गर्ने भन्ने तय भएको छैंन।’ स्रोतका अनुसार भदौंदेखिनै दूधको मूल्य लिटरमा ६ रुपैयाँसम्म बढाउने तयारी भएको छ।

डेरी उद्योग संघले चैतदेखि भदौंसम्म लिटरमा १० रुपैयाँ र भदौंदेखि चैतसम्म लिटरमा ६ रुपैयाँ मूल्य बढाउन प्रस्ताव गरेको छ।चैतदेखि भदौंसम्म दूधको उत्पादन कम हुन्छ भने भदौंदेखि चैतसम्म दूध उत्पादन धेरै हुने भएकाले दुईथरी मूल्य राख्न प्रस्ताव गरेको हो।संघका अध्यक्ष अरनिको राजभण्डारीले मूल्यवृद्धि दुईथरी गर्न सकेमा दूधमा आत्मनिर्भर बन्ने बाटो खुल्ने बताए।उनका अनुसार ड्राइ सिजनमा दूध उत्पादन बढाउन लिटरमा चार रुपैयाँ बढी दिन आवश्यक छ।

कति पाउँछन् किसानले?

दूधको मूल्य बढ्दा त्यसको धेरै ६९ प्रतिशत हिस्सा किसानले पाउँछन्।उदाहरणका लागि लिटरमा ६ रुपैयाँ मूल्य बढे किसानले ४ रुपैयाँ १४ पैसा पाउँछन् भने डेरी उद्योगले १ रुपैयाँ ८६ पैसा पाउँछन्।

‘हाम्रो पनि मूल्य बढेको छ। सरकारले कच्चा दूधमा होइन घिउ, पनिर लगायतका वस्तु उत्पादनमा भ्याट लगाउने निर्णय गरेको छ। त्यसले हाम्रो उत्पादन लागत समेत बढेको छ’ राजभण्डारीले भने,’मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्था पनि छ।’ उनका अनुसार अहिले दूध अभाव भएर महँगोमा भारतबाट कच्चा दूध ल्याउँदा समेत उपभोक्तालाई भार पारिएको छैन।