ठूला कर्पोरेटलाई पछि पार्दै टाइगर प्यालेसको डिलमा इन्द्र थापाको इन्ट्री, को हुन उनी?

ओम थापा/बिजमाण्डू
२०७६ साउन १९ गते ०९:३१ | Aug 4, 2019
ठूला कर्पोरेटलाई पछि पार्दै टाइगर प्यालेसको डिलमा इन्द्र थापाको इन्ट्री, को हुन उनी?


Tata
GBIME
Nepal Life

काठमाडौं। वित्तीय रुपमा टाट पल्टिएपछि अष्ट्रेलियाको लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले भैरहवास्थित टाइगर प्यालेसलाई विक्रीमा राख्यो।

क्यासिनोसमेत सञ्चालनमा रहेको होटल विक्रीमा राखेपछि त्यसलाई खरिद गर्न स्वदेशदेखि विदेशसम्मका लगानीकर्ताको समूहले चासो देखाए।तीन अर्ब रुपैयाँ माथि मूल्यांकन गरिएको पाँच तारे टाइगर प्यालेस किन्न चौधरी समूहदेखि, आइएमई, विशाल समूहदेखि भैरहवामा घरजग्गाको कारोवारमा संलग्न भुसाल समूहले समेत प्रयास गरिरहेका थिए।

तर देशका ठूला कर्पोरेट घरानालाई पछि पार्दै टाइगर प्यालेस खरिद गर्ने प्रारम्भिक सम्झौतामा भने इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्।नेपालको अधिकांश ठूला कर्पोरेट घरानाले नाम नै नसुनेका थापाले टाइगर प्यालेसका लागि तीन करोड ३९ लाख डलर अर्थात तीन अर्ब ७५ करोड रुपैयाँको बोली लगाएका छन्।

र सिल्भर हेरिटेज समूहले थापाको बोलीलाई स्वीकृत गर्दै उनीसँग खरिद प्रक्रिया अघि बढाउने सम्झौता समेत गरेको छ। थापाको तर्फबाट खरिद प्रक्रियालाई होटल इन्भेष्टमेन्ट पाटर्नर लिमिटेडका आई हग होम्सले अघि बढाइरहेका छन्। अमेरिकी नागरिक होम्स टाइगर प्यालेस निर्माण भैरहँदा सिल्भर हेरिटेजको सञ्चालक थिए।

नेपालको कर्पोरेट क्षेत्रसँग अपरिचित थापा फेरी कसैको मुखौटाका रुपमा होटल खरिद प्रक्रियामा संलग्न भएका पनि होइनन्। उनी आफैले आफ्नै स्रोत र बैंक ऋणबाट यो होटल खरिद गर्न लागेका हुन्।

थापाले होटल खरिद गर्न बोली लगाएपछि त्यसको पनि एउटा गजब घट्नाक्रम बनेको स्रोतहरुको दावी। होटल खरिद गर्ने विषयमा थापाले गरेको अफर स्वीकृत गर्ने क्रममा सिल्भर हेरिटेज समूहका सञ्चालकहरुले थापासँग पैसाको स्रोतको विश्वसनियता खोजेका थिए।

घट्नाक्रममा संलग्न एक स्रोत भन्छ, त्यसको जवाफमा थापाले एउटा बैंक स्टेटमेन्ट दिए। इन्द्रबहादुर थापाको त्यो बैंक स्टेटमेन्टमा २० अर्ब रुपैयाँ हाराहारीमा नगद थियो।

त्यसो भए अधिकांश नेपालीले नचिन्ने यी अर्वपति इन्द्रबहादुर थापा को हुन् ?

नाम इन्द्रबहादुर थापा भए पनि उनी मलेसियाका नागरिक हुन्। तर उनको पुर्खयौली भने नेपालसँग जोडिएको छ। सन् १९४८ दिख १९६० मा चलेको मलाया युद्धमा गोर्खाली फौजबाट थापाका हजुरबुबा सहभागी भएका थिए। युद्ध सकिएपछि पनि केही गोर्खाली नेपाल फर्किएनन्, उनीहरु मलेसियामै बसे।

थापा तीनै मलेसियामा बस्ने गोर्खालीका सन्तति हुन्। थापा आफै पनि कहिलेकाँही नेपाल आइरहन्छन्। उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा नेपाल आएर भेटेका थिए। त्यसवाहेक नेपालका सिमित व्याक्तिहरुसँग मात्र उनको सम्वन्ध छ।

अब कसरी अघि बढ्छ कारोवार?

थापाले अफर गरेको तीन करोड ३९ लाख डलरमध्ये सिल्भर हेरिटेज समूहले दुई करोड डलर मात्रै पाउनेछ। बाँकी रहेको एक करोड ३९ लाख डलर नेपालका तीन बैंकको ऋण चुक्ता गर्न वा नयाँ लगानीकर्तामा स्वाप हुनेछ।

थापाले होटल खरिद गरे भने सम्भवत स्थानीय बैंकको ऋण चूक्ता गर्ने विकल्पमा उनले काम गर्नेछन्।टाइगर प्यालेस होटल सञ्चालन गर्ने कम्पनी टाइगर वानले प्राइम, नेपाल इन्भेष्टमेन्ट,  सानिमा र सिभिल बैंकबाट एक अर्ब ५४ करोड ७० लाख रुपैयाँ ऋण लिएको छ।

कम्पनीले सबैभन्दा पहिले २०१४ अप्रिलमा चार बैंकसँग १२ प्रतिशत व्याजमा ७५ करोडको टर्म ऋण लिएको थियो, जुन ऋण २०१७ अगस्टमा बढाएर एक अर्ब ११ करोड पुर्याइएको थियो। त्यसमध्ये एक अर्ब सात करोड ७० लाख भूक्तानी गर्न बाँकी छ।

त्यसैगरी कम्पनीले अगस्ट २०१७ मा पनि प्राइम र सानिमाबाट १५ करोडको डिमान्ड ऋण लिएको थियो।  यो पनि बढेर अहिले २८ करोड पुगेको छ। त्यसैगरी कम्पनीले ब्रिज ग्याप अन्तर्गत प्राइमसँग पाँच करोड, सानिमासँग १० करोड र सिभिलसँग चार करोड छुट्टै ऋण पनि लिएको छ। जसको व्याजदर भने १३ प्रतिशत छ।

नयाँ लगानीकर्ताले कम्पनीको यो ऋणलाई निरन्तरता दिए भने सिलभर हेरिटेजलाई २० करोड डलर अर्थात दुई अर्ब ४० करोड रुपैयाँ दिएर स्वामित्व ग्रहण गर्न सक्छन्। यो ऋणको भुक्तानी पनि गर्ने हो भने तीन अर्ब ७५ करोड रुपैयाँ चाहिन्छ।

थापाले खरिदकर्ता र विक्रीकर्ताले संयूक्त रुपमा सञ्चालन गर्ने गरी खोलिने इस्क्रो खातामा ३० लाख डलर जम्मा गरे पछि यो खरिद प्रक्रिया अघि बढ्नेछ। सिल्भर हेरिटेजले त्यसका लागि थापालाई १५  अगस्टसम्मको समय दिएको छ।

स्क्रो खातामा पैसा जम्मा भएपछि थापाले कम्पनीको ड्यु डेलिजेन्स अडिट गर्नेछन्। उनले त्यसका लागि ३० दिनको समय पाउने सहमति भएको छ। ड्यु डेलिजेन्स रिपोर्ट तयार भएपछि चार सातामा कारोवार टुङ्गायउने गरी सहमति भएको स्रोतले जानकारी दियो।