ढुवानी व्यवसायीको माग संबोधनपछि हड्तालका कार्यक्रम फिर्ता, एक सातापछि ढुवानीका साधन संचालनमा

बिजमाण्डू
२०७६ साउन ७ गते १०:१८ | Jul 23, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं।सरकारले माग संबोधन गर्ने आश्वासन दिएपछि ढुवानी व्यवसायीले हड्तालका कार्यक्रम फिर्ता गरेका छन्।एक सातापछि मंगलबारदेखि ढुवानीका सवारी साधन संचालनमा आएका छन्।सरकारले साउनदेखि कार्यान्वयनमा ल्याएको

ढुवानीमा भ्याट र माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली(भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली-भिसिटीएस)को विरोधमा ढुवानी व्यवसायीले यातायातका साधन आआफ्नो ग्यारेजमा थन्क्याएका थिए।सोमबार साँझ भौतिक,पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबको संयोजकत्वमा व्यवसायीसहितको बैठकमा सहमति जुटेपछि हड्ताल फिर्ता भएको हो।

हड्तालको अगुवाई गरिरहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले व्यवसायीका माग पूरा गर्ने प्रतिवद्धता आएपछि हड्तालका कार्यक्रम फिर्ता लिएर सवारी साधन संचालनमा ल्याएको बताए।‘ढुवानीमा भ्याटका सम्वन्धमा कार्यदल बनिसकेको छ। भिसिटीएस ढुवानी व्यवसायी र चालकले कार्यान्वयन गर्न नपर्ने जानकारी हामीले पाइसकेका छौं। त्यही भएर हामीले हड्तालका कार्यक्रम फिर्ता लिएर ढुवानीका साधन संचालन गरेका हौं।’उनले बिजमाण्डूसँग भने।सोमबारको बैठकमा महासंघले सहमति गरे नमान्ने भन्दै असन्तुष्ट रहेको व्यवसायीका प्रतिनिधी गोकर्ण पराजुलीले समेत हस्ताक्षर गरेका छन्।

बैठकमा गृहसचिव प्रेमकुमार राई,उद्योग सचिव देवेन्द्र कार्की र भौतिक सचिव देवेन्द्र कार्की समेत थिए। बैठकमा स्वतन्त्र चालक समाज नेपालका सचिव यादब अधिकारी र ढुवानी व्यवसायी महासंघ नेपालका मेघराज सिग्देल पनि सहभागी थिए।

बैठकले ढुवानी व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न भौतिक मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाउने निर्णय समेत गरेको छ।यो कार्यदलले एक महिनाभित्र प्रतिवेदन दिनेछ।कार्यदलमा अर्थ,गृह,उद्योग,कानुन मन्त्रालयका प्रतिनिधीसहित व्यवसायीको सहभागिता छ।

व्यवसायीका तर्फबाट गोकर्ण पराजुली,नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,मजदुर प्रतिनिधि र यातायात व्यवस्था विभागका निर्देशक बन्धुप्रसाद बास्तोला सदस्य छन्।बैठकले राष्ट्रिय रुट परमिट दिने व्यवस्था तत्काल मिलाउने सहमति समेत भएको छ।

राजस्व अनुसन्धानमा पनि सहमति

राजस्व अनुसन्धान विभागले समेत ट्रक व्यवसायीसँग विहान सहमति गर्दैछ।विभाग र ट्रक व्यवसायीबीच आइतबारनै सहमतिको ड्राफ्ट बनेपनि यातायातसँग सम्वन्धित अरु मुद्दा नसल्टिएका कारण हस्ताक्षर हुन सकेको थिएन।

विभागले भिसिटीएसले ढुवानी व्यवसायीलाई कुनै असर नगर्ने जानकारी गराएको थियो।व्यवसायीले भिसिटीएसले असर नगर्ने लिखित प्रतिवद्धता मागेका कारण सहमति गर्न लागिएको हो।अध्यक्ष श्रेष्ठले सामान ढुवानी गर्ने सवारी साधनका मालिक र चालकले भिसिटीएसमा आवद्ध हुनुनपर्ने जानकारी आएको बताउँदै विभागसँग मंगलबारनै सहमतिमा हस्ताक्षर गर्ने बताए।