दुई दिनदेखि घटेको शेयर बजार उकालो, लाभकर विवाद नमिले आन्दोलन गर्ने लगानीकर्ताको चेतावनी

बिजमाण्डू
२०७६ साउन ६ गते १५:५३ | Jul 22, 2019


काठमाडौँ। पुँजीगत लाभकरको विषयले दुई दिनदेखि घटेको शेयर बजार सोमबार भने बढेको छ। कारोबारमा अन्योल भएको भन्दै लगानीकर्ताले मन लगाएर कारोबार नगरेका कारण कारोबार रकममा भने सुधार हुन सकेन।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक २.४८ अङ्कले बढेर १२७१.२३ अंकमा उक्लिएको छ।

लगानीकर्ताका प्रतिनिधिलाई सरकारले पुँजीगत लाभकर गणना बिधि टुङ्गो लगाइदिने आश्वासनका कारण बजारमा थोरै सुधार देखिएको लगानीकर्ताको भनाइ छ।

'नेपाल सरकार अर्थ मन्त्रालयमा राजस्व सचिव लाल शङ्कर घिमिरेले आइतबार हामीसँगको भेटमा २४ घण्टाभित्रमा समस्या समाधान गरिदिने आश्वासन दिनु भएको छ'-नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले भने।

सरकारको आश्वासनमाकै आधारमा केही लगानीकर्ता आशावादी देखिएका छन्। 'सरकारको आश्वासन पूरा हुनेमा हामी पूर्ण विश्वस्त छौ' ढकालले भने। लगानीकर्ताको भरोसा सरकारले कायम नगरेमा भने उनीहरू कडा आन्दोलनमा उत्रने भएका छन्। 'सरकारले गरेको बाचा पूरा नगरे कडा आन्दोलनमा उत्रिनुको विकल्प छैन 'ढकालले भने।

सोमबार १ सय ६६ कम्पनीका १० लाख ८४ हजार कित्ता शेयर ३१ करोड ६६ लाख रुपैयाँमा किनबेच भएको छ। सबैभन्दाबढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

लाभकर विवादका कारण कारोबार रकम भने खस्किएको छ। विवाद हुनुभन्दा अघि दैनिक ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार हुँदै आएको थियो। लगानीकर्ताहरू लाभकरको अन्योलमा पर्दा कारोबार रकम प्रभावित भएको ढकालले बताए।

सोमबार ११ समूहको शेयर कारोबार भएको छ। आठ समूहको उपसूचक बढ्यो।तीन समूहको उपसूचक घटेका छन्।

सबैभन्दाबढी होटेल समूहको उपसूचक ०.८३ प्रतिशतले बढेको छ। सामूहिक लगानीकोषको उपसूचक १.८५ प्रतिशतले घटेको छ।