नागढुङ्गा नौविसे सुरुङमार्गको शिलान्यास दुई महिनापछि सर्यो, जापानी टोली आएपछि भदौमा हुने

बिजमाण्डू
२०७६ साउन ६ गते १४:२७ | Jul 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं । बहुचर्चित नागढुङगा-  नौविसे सुरुङमार्ग भदौमा शिलान्यास गरेर निर्माण अघि बढाईने भएको छ।

असारमै शिलान्यास गरेर काम सुरु गर्ने योजना बनाईएको भएपनि केहि प्राविधिक कारणले झण्डै डेढ महिना ढिला हुन गएको नागढुङगा नौविसे सुरुङमार्ग आयोजनाले जनाएको छ । ‘असारमै शिलान्यास गर्ने योजना थियो। केहि ढिला हुने देखियो।‘ विकास  सहायता कार्यान्वयन महाशाखा प्रमुख थापाले भने ‘नेगोसिएसन गर्न जापानबाटै टोली आउनुपर्छ । यहा भएको टिमले नहुने रहेछ। टोकियोबाट उनीहरु आएपछि एग्रीमेन्ट गरेर काम सुरु गर्छौ।‘

उनका अनुसार तयारी गर्दै अनुकुल समय मिलाएर जापानी टोली आउनेछ। छिटोमा साउन मसान्त सम्ममा जापानी टोलीसंग सम्झौता हुनेछ। ढिलामा भदौसम्म लाग्न सक्ने उनले जानकारी दिए।

सुरुङमार्ग निर्माण भने जापानी कम्पनी हाज्मा/आन्दो जेभीले पाउने निश्चित भएको महाशाखाले जनाएको छ। यद्धपी सहमती हुन भने बाँकी छ। आयोजनाले निकालेको ग्लोबल टेण्डरमा पाँच चिनियाँ र एक जापानी कम्पनीले निर्माण गर्ने इच्छा देखाउँदै टेण्डर भरेका थिए।

ती कम्पनीमध्ये उत्कृष्ट ठहर गर्दै जापानी कम्पनीलाई दिने निष्कर्षमा पुगिएको बताइएको छ। जापानी कम्पनी र चिनियाँ कम्पनी प्राविधिक प्रस्तावमा पास भएका थिए।

जापानी कम्पनी प्राविधिक रुपमा उत्कृष्ट थियो भने चिनियाँ कम्पनीले कम कबोल गरेको थियो । जापानी ऋण सहयोगमा बन्न लागेको आयोजना भएकाले जापानीलाई दिनुपर्ने दबाब परेको थियो। सरकारले ७० करोड रुपैयाँ घटाएर जापानी कम्पनीलाई दिन लागेको हो। करिव १३ अर्ब रुपैयाँमा सहमती गर्न लागिएको छ ।

हाज्माले नेपालमै धेरैवटा आयोजनामा काम गरिसकेको छ। सुर्यविनायक कोटेश्वर सडक,विपी हाईवे उसैले बनाएको हो भने दोस्रो ठूलो मर्दिखोलालाई प्रशोधन गरी पिउन योग्य बनाएर पोखरमा वितरण गरिने खानेपानी योजनाको ठेक्का समेत यहि कम्पनीले पाएको छ।

आयोजनाका अनुसार चार अर्ब भन्दा बढी मुआब्जा वितरण भैसकेको छ। डेढ अर्व वितरण गर्न बाँकी छ । अहिले धमाधम वितरण भैरहेको छ । सुरुङमार्गसम्म पुग्ने साढे दुई किमीको पहुचमार्गका लागि दुवैतिर मुआब्जा वितरण गरिएको हो।

केही महिनाभित्रै मुआब्जा वितरण भैसक्ने आयोजनाको दाबी छ।  सार्वजनिक खरिद नियमावली अनुसार साईट क्लियर नभई ठेक्का लगाउन पाईदैन।

निर्माण सुरु गरेको ४२ महिना  सुरुङमार्ग तयार पारेर हस्तान्तरण गर्नुपर्नेछ। जापान सरकारको सहुलियत ऋण सहयोगमा सुरुङ मार्ग निर्माण गर्न लागिएको हो। करिव २२ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा १६ अर्ब जापान सरकार तथा ६ अर्ब रुपैयाँ नेपाल सरकारले आफ्नो स्रोतबाट व्यहोर्ने छ।

डिपिआर अनुसार सुरुङमार्ग २.७ किलोमिटर हुनेछ। सुरुङमार्ग नेपाल आयल निगमको डिपो नजिकैकको बस्नेतछाप भन्ने ठाउँबाट सिस्ने खोलामा निस्कने छ।