सावधान! फेसबुकमा आएका विज्ञापन हेरेर अनलाइन सपिङ् गर्नुहुन्छ? चोरीका सामान पनि हुनसक्छन्

बिजमाण्डू
२०७६ साउन ६ गते १३:०६ | Jul 22, 2019
सावधान! फेसबुकमा आएका विज्ञापन हेरेर अनलाइन सपिङ् गर्नुहुन्छ? चोरीका सामान पनि हुनसक्छन्


Tata
GBIME
Nepal Life

काठमाडौ। बनेपाका एक युवकले फेसबुकमा भेटिएको एउटा साइट हेरेर मोबाइल किने। १९ हजार रुपैयाँ तिरेर उनले मोबाइल किनेका थिए। सस्तो मूल्यमा खोजे जस्तो मोबाइल पाएकोमा उनी खुसी थिए। केही समय राम्रोसँग नै मोबाइल चलाए।

तर अचानक एकदिन महानगरीय प्रहरी परिसर काठमाडौंबाट एक प्रहरीले फोन गरेर थर्काए, ‘तपाइँले चलाएको मोबाइल कसको हो? अरूको मोबाइल चलाउने?‘  १९ हजार तिरेर किनेको मोबाइलका बारे प्रहरीले यस्तो भनेपछि ती युवक आत्तिए। उनले चलाइरहेको मोबाइल अरूको भएकाले फिर्ता गर्न प्रहरीले भने। तर ती युवकले आफूले १९ हजार रुपैयाँ तिरेर अनलाइनबाट  किनेको दाबी गरेपछि प्रहरी केही हच्कियो।

प्रहरीले कोसँग किनेको, बिल खोइ भन्दै खोजी गर्न थाल्यो। मोबाइल क्रेता युवकले सबै कुरा जुटाउनु पर्‍यो। मोबाइल किनेको केही समय भइसकेको थियो। उनले अनलाइनमा आफूले मोबाइल किनेको व्यक्ति खोजी गरे र फेला पारे पनि। उनले अनलाइनमा जोसँग मोबाइल किनेको हो, त्यो व्यक्तिलाई प्रहरीमा उपस्थित गराए।

आइतवार ती युवकले मोबाइल किनेको व्यक्तिलाई प्रहरीमा बुझाए। प्रहरीमा पुगेका ती व्यक्तिले आफूले मोबाइल बिक्री गरेको स्विकार पनि गरे। बनेपाका युवकले चोरी अभियोगबाट मुक्ति पाए। ‘मैले अनलाइनबाट सामान किनेको थिएँ। यस्तो दु:ख र झन्झट व्यहोर्नु पर्ला भनेर सोचेको नै थिइनँ,' नाम नबताइदिन आग्रह गर्दै ती युवकले भने।

बनेपाका युवकले प्रहरीमा बुझाएका युवकले पनि अनलाइनबाट नै मोबाइल किनेको प्रहरीमा दाबी गरे। तर उनले कोबाट किने? ऊसँगको सम्पर्क देखाउन सकेनन्। उनी भन्दै थिए, ’धेरै भयो किनेको थाहा नै भएन।‘ अहिले उनी प्रहरीको अनुसन्धानमा छन्। अर्को व्यक्ति नभेटिए उनी नै चोरीको अभियोगमा अभियुक्त बन्ने छन्। ‘अनलाइनमा भएको कारोबारमा ठगी गर्नेको संख्या बढेको देखिन्छ। अर्को व्यक्ति नदेखिएसम्म उ माथि हाम्रो अनुसन्धान हुन्छ, ‘ परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

अनलाइनमा बिक्री भएको मोबाइल अरू कसैको थिएन। परिसरमा नै कार्यरत प्रहरी सहायक निरीक्षकको थियो। ‘हाम्रो स्टाफको नै फोन नै अनलाइनमा बिक्री भइरहेको रहेछ,' बोगटीले भने। सहायक निरीक्षकले आफ्नो मोबाइल हराएपछि आइएमइआइ नम्बरको आधारमा खोजी गरेका थिए। ‘ अनलाइनबाट सामान किन्दा ठगिन सक्नुहुन्छ। विचार गरेर किन्नु भए राम्रो,‘ परिसरका डिएसपी बोगटीको सुझाव छ।

गत मङ्गलवार मात्र महानगरीय अपराध महाशाखाको टोलीले मङ्गलवार खुशीबुबाट तीन जनालाई अनलाइनबाट ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३० वर्षीय आकिब जावेद, २० वर्षीय एमडी सगिर शेख र २२ वर्षीय यमदादुल मोमिन रहेको प्रहरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका आकिब तारा ग्याजेट्सका सञ्चालक समेत हुन्। दुई जना भने कामदारको रूपमा कार्यरत रहेको खुलेको छ। उनीहरूले मोबाइल, फेसबुक, इमो, भाइबर लगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिलाई विदेशी ब्रान्डका सामान सुपथ मूल्यमा उपलब्ध गराउने भन्दै ठगी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका उनीहरूले एक महिनाको अवधि ८० लाख रुपैयाँसम्म ठगी गरेको खुलेको छ। साथै प्रहरीले अनलाइनबाट सामान मगाई कोही ठगिएको भए प्रहरीसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ। ‘ ठगीका विभिन्न शैली देखिएका छन्। एउटा गिरोह अनलाइन सामान बिक्रीबाट ठगी गर्न लागेको छ। सबै जना सामान खरिद गर्दा सचेत हुन जरुरी छ,‘ महाशाखा एसएसपी सहकुल थापाले भने।