देशभरको जग्गाको मूल्यांकन बढ्यो, अब कुन जग्गाको सरकारी मूल्य कति पर्छ?

बिजमाण्डू
२०७६ साउन १ गते ११:४५ | Jul 17, 2019
देशभरको जग्गाको मूल्यांकन बढ्यो, अब कुन जग्गाको सरकारी मूल्य कति पर्छ?


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले देशभरका जग्गाको न्यूनतम मूल्यांकन बढाएको छ। अधिकांश क्षेत्रको जग्गाको मूल्यांकन बढेको छ।

देशभरका १ सय ३१ मालपोत कार्यालयहरु केहीले जग्गाको मूल्यांकन परिमार्जन गरिसकेका छन् भने केही प्रकृयामा छन्। काठमाडौं उपत्यकाको जग्गा कारोबार गर्ने ६ वटा मालपोत कार्यालयहरुले जग्गाको न्यूनतम मूल्यांकन तय गरेका छन्।

काठमाडौंमा जग्गाको मूल्यांकन ३० प्रतिशतसम्म बढेको छ। मालपोत ऐन २०३४ को दफा ८(२)  र मालपोत नियमावली २०३६ को नियम ५ (ख) को प्रवधान बमोजिम न्यूनतम मूल्यांकन तय गरिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा गत असार २६ गते बसेको बैठकले ६ कार्यालयको मूल्यांकन तय गरिएको हो।यो बुधबारदेखिनै कार्यान्वयनमा आउनेछ।

मालपोत कार्यालय साँखुले कागेश्वरी मनहरा नगरपालिकामा १० प्रतिशत जग्गाको मूल्यांकन बढाएको छ भने मनमैजू मालपोतले पाँच प्रतिशत जग्गाको मूल्यांकन बढाएको मालपोत अधिकृत विजय प्रकाश गिरीले बताए। चावहिल, टोखा र साँखु कार्यालयले भने सामान्य बाहेक मूल्य यथावत राखेका छन्।

काठमाडौं जिल्लाको व्यस्त कलंकी मालपोत कार्यालयले ३० प्रतिशत सम्म जग्गाको मूल्य बढाएको छ। मालपोत कार्यालय अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १३, १४, १५,  कीर्तिपुर, नागार्जुन, चन्द्रगिरी र दक्षिणकाली  नगरपालिकाको न्यूनतम मूल्याङकन बढाएका छन्।

रविभवन क्षेत्रमा आनाको ३३ लाख
कार्यालयले वडा १३ अन्तर्गत विष्णुमति खोला पुलदेखी रविभवन वडा न १४ सीमासम्म र  कालिमाटी चोकदेखी बल्खुसम्म प्रतिआना एक लाख मूल्यांकन बढाएको छ।अब त्यो क्षेत्रको जग्गाको मूल्यांकन प्रति आना ३३ लाख रुपैयाँ पुगेको छ। 

टेकु कालिमाटी मूल सडकको विष्णुमती पुलदेखी उत्तरतर्फको सिमानासम्म २१ लाख रहेकोमा ४ लाख रुपैयाँ वृद्धि गरि प्रतिआना २५ लाख पुर्याइएको छ। कालीमाटी टंकेश्वर परोपकार विद्यालयको विष्णुमती पुल पश्चिम हुँदै शिक्षा क्याम्पस ताहाचाल चोकबाट सितापाइला रिङरोडसम्म प्रति आना सरकारी मूल्यांकन २१ लाख रुपैयाँ पुगेको छ।यसअघि प्रति आना १८ लाख रुपैयाँ मात्रै थियो। 

सोल्टीमोडदेखि छिन्नतला पुस्तकलयसम्म र वाफलदेखी स्युचाटारसम्म १७ लाख रहेकोमा १ लाख वृद्धि गरिएको छ। गाइबाच्छापाटी चोकबाट पश्चिम चक्रपथसम्म १४ लाख रहेकोमा ४ लाख वृद्धि गरी आनाको १८ लाख बनाइएको छ। 

कंलकी क्षेत्र आनाको ३३ लाख 
सोल्टीमोड नगर-१३ को सिमानादेखि कंलकी चोक र बल्खु चोकसम्म ३२ लाखबाट ३३ लाख बनाइएको छ। कलंकीचोकदेखी त्रिभुवन राजपथ साविकको तीनथाना गाविसको सिमानासम्म १ लाख बढाएर आनाको १९ लाख बनाइएको छ। यस्तै रिङरोड खसीबजार बल्खु खोला पुलदेखी कुलेश्वर विश्वविद्यालय पथसम्म १ लाख बढाएर आनाकै १७ लाख बनाइएको छ। 

बल्खु चोकदेखी कीर्तिपुर नगरपालिकाको गेटसम्म २ लाख बढेर आनाको १८ लाख पुर्याइएको छ। कलंकी चोकदेखी वडा नं १४ को सिमाना खुडकुले सम्म पक्की सडकमा २ लाख बढेर १७ लाख र कच्ची सडकमा १ लाख बढाएर १५ लाख पुर्याइएको छ। 

सीतापाइलामा आनाको २० लाख 
सीतापाइला चोकदेखी छाउनी वडा नं१३ को सीमासम्म २ लाख बढाएर आनाको २० लाख बनाइएको छ। भगवान पाँउदेखी भगवती विष्णुमती लिंक रोड पुलदेखी डल्लु पुलसम्म पक्की सडकमा १ लाख बढाएर आनाको १९ लाख बनाइएको छ। 

डल्लु आवास स्यम्भू चोकदेखी विरेन्द्र मार्ग १० किलोमिटरसम्म, भगवान पाँउबाट डल्लु पुलसम्म, भगवान पाँउबाट बनस्थली निस्कने सिद्धिचरण मार्ग र परिक्रमा मार्ग स्वयम्भूको पक्की बाटोमा १ लाख बढाएर आनाको १८ लाख बनाइएको छ। 

यसैगरी चमती आवास क्षेत्रका लागि मात्र ८ देखी ११ मिटर चौडा पक्की सडकमा १४ लाखबाट ४ लाख वृद्धि गरी प्रति आना १८ लाख बनाइएको छ। यस्तै ४ देखी ८ मिटरसम्मको पक्की सडकमा १२ लाखमा ४ लाख बढाएर प्रति आना १६ लाख पुर्याइएको छ।मालपोत कार्यालयका अनुसार चार मिटरको चौडा बाटो घडेरीलाई भने साढे ९ लाखबाट बढाएर १३ लाख बनाइएको छ। 

कीर्तिपुर नगरपालिका वडा नम्बर १,२,३,४,५,६,७,८,९ र १० मा सामान्य बाहेक न्यूनतम मूल्य यथावत राखिएको छ। 

नागार्जुन नगरपालिकाको आनाको ५० हजार बढ्यो
नागार्जुन नगरपालिका वडा नं ९, १० मा पक्की सडक, कच्ची सडक र गोरेटो बाटो रहेको जग्गामा ५० हजार वृद्धि गरिएको छ। 

यस्तै वडा नम्बर ४ र ५ सितापाइला क्षेत्रमा पक्की सडकमा २ लाख, कच्ची/गोरेटोमा १ लाख र बाटो नभएको स्थानमा पनि ५० हजार वृद्धि गरिएको छ। वडा नं ६, ७ डाडापौवा/रामकोट क्षेत्रमा पक्की सडकमा १ लाख कच्ची/गोरेटोमा पर्ने जग्गामा ५० वृद्धि गरिएको छ। वडा नं ८ भिमढुङगा, सीतापाइला भीमढुङगा धादिङ जाने मुल सडकसम्म १ लाख वृद्धि गरिएको छ। 

भीमढुङगा बसपार्कदेखी भीमसेनस्थान जाने ढलान बाटोमा १ लाख ५० हजार वृद्धि गरिएको छ। यस्तै पक्की/कच्ची/गोरेटो बाटोमा १/१ लाख वृद्धि गरिएको छ। 

यसैगरी वडा नम्बर १,२,३ बालाजु क्षेत्र सानो भर्याङदेखि तीनघरे, ठूलो भर्याङ नामगेल, ढुङगेधारा देखी बुद्धचोकसम्म सम्म २ लाख वृद्धि गरिएको छ। वडा नं ४,५,६,७,८ र ९ को पक्की सडकमा २ लाख, कच्ची र गोरेटो बाटोमा पर्ने जग्गामा प्रति आना १ लाख वृद्धि गरिएको छ। 

चन्द्रगिरी नगरपालिका ३ लाखसम्म बढ्यो
यो नगरपालिकाले त्रिभुवन राजपथ छोएको दायाँबायाँ ३ लाख रुपैंया वृद्धि गरिएको छ।मालपोत कार्यालयका अनुसार पक्की र कच्ची सडकमा १ लाख ५० हजार वृद्धि गरिएको छ। वडा ११, १२, १४ नैकाप/सतुङगलमा ५० हजारदेखी ३ लाख सम्म वृद्धि गरिएको छ। 

यस्तै वडा नं३,४ थानकोट क्षेत्रमा त्रिभुवन राजपथले छोएको दायाँबायाँ ३ लाख वृद्धि गरी प्रति आना १५ लाख बनाइएको छ। थानकोट कच्ची र बाटो नभएको ठाउँमा ५० हजार वृद्धि गरिएको छ। वडा २ वाडभन्ञ्याङ त्रिभुवन राजपथले छोएको जग्गा प्रतिआना २ लाख वृद्धि गरी १० लाख बनाइएको छ। यस्तै ध्याम्पेडोल वाडभञ्याङ सडकमा २ लाख ५० हजार वृद्धि गरी प्रति आना ६ लाख पुर्याइएको छ। यस्तै कच्ची/गोरेटो बाटोमा ५० हजार बढाइएको छ। 

वडा नम्बर१३ र १ नैकाप पुरानो भञ्ज्याङ/दहचोकमा ५० देखी १ लाख रुपैयाँ वृद्धि गरिएको छ। वडा नं ८ मातातीर्थमा पक्की सडकमा १ लाख ५० हजार वृद्धि गरी प्रति आना ५ लाख बनाइएको छ। कच्ची सडकमा १ लाख र गोरेटोमा ५० हजार वृद्धि गरिएको छ। यस्तै वडा ९ मच्छेगाँउमा बाटो नभएको जग्गामा २५ हजार वृद्धि बाहेक अन्यमा यथावत राखिएको छ। 

दक्षिणकाली नगरपालिकामा पनि बढ्यो
यो नगरपालिकाको चल्नाखेल दक्षिणकाली मूल सडकले छोएको, पक्की, कच्ची बाटोमा रहेको जग्गा आनाको ५० हजार रुपैयाँ वृद्धि गरिएको छ। यस्तै छैमले क्षेत्रमा ५० देखी १ लाख सम्म जग्गाको मूल्यांकन वृद्धि गरिएको छ। नगरपालिकाको टल्कुडेचौर,फर्पिङ भिमसेनस्थान, सोखेल र शेषनारायण क्षेत्रमा ५० देखी १ लाख रुपैयाँ वृद्धि गरिएको छ। 

जग्गाको मूल्याङकन मालपोत नियमावली २०३६ को नियम ५(ख)को उपनियम ४ बमोजिम जग्गासँग बाटो जोडिPको नजोडिएको र सोको प्रकार, जग्गा प्रयोजनको अवस्था, जग्गाको वस्तुगत अवस्थिती र चालू आर्थिक वर्षमा कारोबार भएको सोही क्षेत्रको खरिद विक्री मूल्यलाई आधार मानिन्छ।  

चहलपहल बढ्यो
असारको अन्त्यमा उपत्यका लगायत देशभर घरजग्गा किनबेच गर्नेको संख्यामा वृद्धि भएको छ। जग्गाको कित्ताकाट, न्यूनतम मूल्यांकन बढ्ने भएपछि कारोबार संख्या बढेको हो। सोमबार कंलकी मालपोत कार्यालयबाट मात्रै १ सय ७० वटा भन्दा बढी घरजग्गा पास भएको प्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारीले जानकारी दिए। 

असारमै जग्गाको कित्ताकाट गर्दा नयाँ आर्थिक वर्षमा पुन कित्ताकाट गर्न पाइने भएकाले सेवाग्रहीको भीड लागेको प्रमुख अधिकृत भण्डारीले बताए।