नेपाली चिनीको गुणस्तर नपुगेको कोकाकोला र डाबरको दाबी, विदेशबाट ल्याउन दिन माग

बिजमाण्डू
२०७६ असार ३० गते १०:१३ | Jul 15, 2019
नेपाली चिनीको गुणस्तर नपुगेको कोकाकोला र डाबरको दाबी, विदेशबाट ल्याउन दिन माग

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालभित्र संचालित बहुराष्ट्रिय कम्पनीले नेपालको चिनीको गुणस्तर नपुगेको भन्दै परिमाणात्मक बन्देज हटाउन माग गरेका छन्।

कोकाकोला उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल र डाबर नेपालले चिनीको परिमाणात्मक बन्देज हटाएर आयात खुल्ला गर्न माग गरेका हुन्।यी दुबै कम्पनीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाउँदै आयात फुकुवाको माग गरेका हुन्।

स्वदेशी चिनी उद्योगको दबाबमा सरकारले गत वैशाखदेखि परिमाणात्मक बन्देज लगाउँदै आएको छ।यी दुई कम्पनीका उत्पादनमा चिनीको अत्यधिक खपत हुने गर्छ। बोटलर्स नेपालले पहिलो पटक स्वदेशमै उत्पादित चिनी प्रयोग गरेको थियो।सात महिना अघि

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले पहिलो पटक स्वदेशी उद्योगबाट उत्पादित चिनी आफ्नो उत्पादनमा प्रयोग गर्न थालेको छ।पूर्वको सिराहामा संचालनमा रहेको हिमालय सुगर मिल्ससँग बोटलर्स नेपाल बालाजु र बोटलर्स तराई लिमिटेडले चिनी खरिद गरेको थियो। हिमालयन सुगर मिल्सका संचालक शशिकान्त अग्रवालले त्यति बेला २५ करोडको चिनी बोटलर्स नेपालले किनेको बताएका थिए।

नेपालमा‌ संचालनमा आएको ३९ बर्षको अवधिमा पहिलो पटक बोटलर्स नेपालले स्वदेशी उद्योगसँग चिनी खरिद गरेको थियो।तर अहिले अचानक मापदण्ड नपुगेको भन्दै विदेशबाट आयात गर्नुपर्ने माग दोहोर्याएको हो।

अब परिमाणात्मक बन्देज के हुन्छ?

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेर स्वदेशी उद्योग संकटमा परेको भन्दै सरकारले परिमाणात्मक बन्देज लगायो।

मन्त्रिपरिषदको स्वीकृति पाएपछि मन्त्रालयले वार्षिक ९४ हजार ९ सय ९ टन भन्दा बढि चिनी आयात गर्न नपाउने गरी कोटामा परिमाणात्मक बन्देज लगायो। ०७५ चैत मसान्तसम्म लगाइएको बन्देजलाई निरन्तरता दिने गरि मन्त्रालयले वैशाख २ गते राजपत्र प्रकाशित गर्यो।

राजपत्रमा पैठारी ऐन २०१३ दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी खण्ड ६८, संख्या २७, नेपाल राजपत्र भाग ५ मिति २०७५/६/२ मा प्रकाशित सूचना बमोजिम विदेशबाट आयत गरिने चिनिमा लगाइएको परिमाणात्मक बन्देजको अवधिलाई असार मसान्तसम्म निरन्तरता दिने उल्लेख छ।

तर परिमाणात्मक बन्देज सकिन दुई दिन बाँकी रहँदा मन्त्रालयले कुनै तयारी गरेको छैन्। मन्त्रालयका सूचना अधिकारी उर्मिला केसीले परिमाणात्मक बन्देज थप्ने या नथप्ने विषयमा कुनै छलफल नभएको बताईन्।   

मन्त्रालयका उपसचिव योगेन्द्रप्रसाद पाण्डेयका अनुसार परिमाणात्मक बन्देजका बारेमा निर्णय नभएमा साउनदेखि चिनी आयात स्वत खुल्नेछ। चिनी व्यावसायीहरु भने परिमाणात्मक बन्देज लगाउने पक्षमा छन्। मन्त्रालयले उद्योगीसँग गरेको छलफलमा ९० दिनको परिमाणात्मक बन्देज लगाउन माग गरेका छन्।

नेपाल चिनी उत्पादक संघका अध्यक्ष समेत रहेका शशिकान्त अग्रवालका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन र स्वदेशी उद्योगसँग ४ महिनासम्मका लागि पुग्ने चिनी छ। दशैंसम्म चिनीको माग धानेपनि तिहार र छठसम्मलाई भने पुग्दैन्।तर अग्रवाल ९० दिनकै अवधिमा उखु क्रसिङ भएर आइसक्ने दाबी गर्छन्।उनले चिनीको अभाव भएमा १५ दिन खुला गरेर आपूर्ति गर्न सकिने बताए।