ग्लोबल आइएमइ बैंकले हाथवेलाई गाभ्न विशेष साधारणसभा डाक्यो, मूल्य ४२ रुपैयाँ तोकियो

बिजमाण्डू
२०७६ असार २८ गते १३:२६ | Jul 13, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गर्न साउन १४ गते विशेष साधारणसभा डाकेको छ।

साधारणसभाले सम्पूर्ण दायित्व तथा सम्पति मूल्यांकन प्रतिवेदन (डिडिए) स्वीकृत गर्ने छ। ग्लोबल आइएमइको १०० रुपैयाँ बराबर हाथवेले ४२ रुपैयाँ पाउने छ। 

तीनवटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको हाथवे फाइनान्सले सबल बैंकिङ सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंकसँग गाभिने निर्णय गरेको जनाएको थियो।

खराव अवस्थामा रहेको अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले किनेको थियो। खरीदसँगै फाइनान्स नाम परिवर्तन भएर हावथे राखिएको थियो। हाथवेको हालको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ।

हाथवे किन्दा १५ करोड रुपैयाँ चुक्ता पुँजी थियो। गत वर्ष संस्थाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेर चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्याएको थियो।

संस्थाले अघिल्लो आर्थिक वर्षको साधारणसभाबाट थप १८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरेको भए पनि प्रकृया अगाडि बढाउन सकेको थिएन। ग्लोबल आइएमई बैंकको हालको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ। ग्लोबलले जनता बैंक नेपाललाई गाभ्न सम्झौता गरिसकेको छ।