साझाले सुरु गर्यो राजधानीमा रात्रीकालिन बस सेवा, जानकारी अभावले यात्रुको संख्या कम





काठमाडौं। साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ। साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेको छ।     
     
तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए। उनका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ। बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन्। यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु सङ्ख्या कम भएको उनले बताए। उनले भने, “यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ।”     
     
अहिले परीक्षणका रुपमा तीन वटा बसबाट शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ। संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताए।    
     
काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले जनाएको छ। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकालगायतले साझाको सेयर खरीद गरेको व्यवस्थापक पाण्डेयले बताए। उनका अनुसार संस्थाले प्रदेश नं ३ कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा ४५ करोड रुपैयाँमा विद्युतीय बस खरीद गर्ने भएको छ। विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ सरकारबाट ३० करोड रुपैयाँ, काठमाडौँ महानगरपालिकाबाट १० करोड रुपैयाँ, ललितपुर महानगरपालिकाबाट दुई करोड ५० लाख रुपैयाँर साझा आफैँले दुई करोड ५० लाख रुपैयाँ सेयर लगानी गरेर विद्युतीय बस खरीद गर्ने निर्णय भएको हो।


Share this Story

   

साझाले सुरु गर्यो राजधानीमा रात्रीकालिन बस सेवा, जानकारी अभावले यात्रुको संख्या कम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.