सिमेन्टमा ०६९ सालको मुद्दा ब्यूँतिएपछि उद्योगी तनाबमा, लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने

बिजमाण्डू
२०७६ असार २६ गते १४:४३ | Jul 11, 2019
सिमेन्टमा ०६९ सालको मुद्दा ब्यूँतिएपछि उद्योगी तनाबमा, लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गर्न निर्देशन दिएपछि उद्योगीमा फेरी खैलाबैला मच्चिएको छ।

विभागले सर्वोच्च अदालतबाट २०६९ भदौ १९ मा जारी अन्तरिम आदेश निष्कृय हुनेगरी फैसला भएअनुसार सबै सिमेन्ट उद्योगलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गर्न निर्देशन दिएको दाबी गरेको छ।यो निर्देशनपछि सिमेन्ट उत्पादक संघले कानुनी परामर्श थालेको छ।

संघका अध्यक्ष ध्रुब थापाले लेमिनेटेड बोरामा सिमेन्ट उत्पादन गर्नुपर्ने बाध्यकारी व्यवस्था व्यवहारिक नभएको बताए।‘निश्चित समय नदिई एकाएक लेमिनेटेड बोरामा सिमेन्ट प्याकिङ गर्नुपर्ने व्यवस्था व्यवहारिक छैन। मुलुकभित्र एउटा मात्रै लेमिनेटेड बोरा उत्पादन गर्ने उद्योग छ’उनले बिजमाण्डूसँग भने,’एउटा मात्रै उद्योग हुँदा एकाधिकार भएर महँगो समेत पर्न जान्छ।’

उनले सर्वोच्चको आदेश हेरेर पुनरावलोकनमा जाने बताए।‘सर्वोच्चको आदेश हेरेर पुनरावलोकनमा जान कानुनी परामर्श गरिरहेका छौं।’ उनले भने। उनका अनुसार मुलुकभित्र वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन हुन्छ।यो सिमेन्टका लागि आवश्यक बोरा मुलुकभित्र उत्पादननै नहुने थापाले जिकिर गरे।‘हाम्रा दुई छिमेकी भारत र चीनमा समेत लेमिनेटेड बोरा बाध्यकारी छैन। तर हामीले यहाँ बाध्यकारी बनाउने प्रयास गरिरहेका छौं।’उनले भने,’आफ्नो क्षमता नहेरी बाध्यकारी व्यवस्था गर्दा समस्या निम्तिन्छ।’

सरकारले बाध्यकारी व्यवस्था ल्याउनुअघिनै केही उद्योगले लेमिनेटेड बोरामा सिमेन्ट प्याकिङ भने गरिरहेका छन्।लेमिनेटेड बोरामा सिमेन्ट राख्दा त्यसको गुणस्तर लामो समयसम्म रहन्छ।गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले लेमिनेटेड बोरामा सिमेन्ट प्याकिङ गर्ने व्यवस्थाले उपभोक्तालाई फाइदा पुग्ने बताए।

‘सामान्य बोरा भन्दा केही रुपैयाँ मात्रै महँगो भएपनि लेमिनेटेड बोराले उपभोक्ताले गुणस्तरीय सिमेन्ट पाउने वातावरण बन्छ। उद्योगीहरुलाई पनि सिमेन्टको गुणस्तर लामो समयसम्म रहँदा फाइदानै हुन्छ।’उनले भने। अहिले अर्घाखाँची,जगदम्बा,फोर्स,हाइटेक,सर्वोत्तम लगायतका सिमेन्टले लेमिनेटेड बोरा प्रयोग गरिरहेका छन्। अहिले सिमेन्टमा प्रयोग भइरहेको साधारण बोरा र लेमिनेटेडको मूल्यमा झण्डै १० रुपैयाँ फरक पर्छ।लेमिनेटेड बोराको मूल्य २५ रुपैयाँ पर्छ भने साधारण बोराको मूल्य १५ रुपैयाँ पर्छ।

एउटा मात्रै उद्योगले कसरी धान्छ?

लेमिनेटेड बोरा उत्पादन गर्ने एउटा मात्रै उद्योग शंकर सिन्थेटिक छ।कम्पनीले डेढ वर्षअघि मासिक दुई करोड बोरा उत्पादन गर्ने क्षमता विस्तार गरेको दाबी थियो।

डेढ अर्ब रुपैयाँ लगानी थप गरेर कम्पनीले क्षमता विस्तार गर्दै दुई करोड बोरा उत्पादन गर्न थालेको दुई वर्षअघि पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो।यसअघि कम्पनीबाट मासिक ४० लाख बोरा मात्रै उत्पादन हुँदै आएको थियो।शंकर समूह अन्तर्गतको यो कम्पनी सन् २०१२मा भैरहवामा स्थापना भएको हो।तर कम्पनीका प्रवन्ध निर्देशक सुलभ अग्रवालले भने महिनाको तीन करोड बोरा उत्पादन गर्ने क्षमता रहेको दाबी गरे।यो बीचमा उद्योगको क्षमता बढेको छैन।

‘हामीसँग महिनाको तीन करोड बोरा उत्पादन गर्ने क्षमता छ। हामीले नेपालमा बिक्री नभएर महिनाकै डेढ करोड बोरा भारत निकासी गरिरहेका छौं’उनले बिजमाण्डूसँग भने,’हामी वाहेक अरु उद्योग पनि छन्।’ तर यो उद्योगको क्षमता वाहिर भनिए भन्दा कम रहेको उद्योगीहरु बताउँछन्।‘सिमेन्ट उद्योगलाई चाहिने बोरा उत्पादन गर्ने क्षमता भएजस्तो लाग्दैन्। भएपनि एउटा मात्रै उद्योग भएपछि मोनोपोली भइहाल्यो नी’ संघका अध्यक्ष थापाले भने,’यो कार्यान्वयन गरेर सिमेन्ट उत्पादन गरेर राख्ने बोरानै नपाए के गर्ने?’

यसरी पुगेको थियो मुद्दा

तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले ०६९ जेठ १५मा मन्त्रीस्तरीय निर्णयबाट ‘लेमिनेटेड’ बोरा प्रयोग गर्नुपर्ने भन्दै राजपत्रमा प्रकाशित गर्यो।

यो निर्णय आउनु अगावै शंकर सिन्थेटिकले लेमिनेटेड बोरा उत्पादन सुरु भएको थियो।सरकारी निर्णयको विरुद्धमा अग्नि सिमेन्ट उद्योगका संचालक डा.ताराप्रसाद पोखरेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।सर्वोच्चले वातावरण मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगराउन ०६९ भदौ १३मा अन्तरिम आदेश दिएको थियो।त्यही अन्तरिम आदेश सर्वोच्चले निष्कृय हुने आदेश दिएको हो।