राजमार्गमा चहलपहल बढ्दा धादिङका होटलको स्तर फेरियो, ‘भात होटल’ रिसोर्टमा बदलिँदै

बिजमाण्डू
२०७६ असार २४ गते १८:०५ | Jul 9, 2019
राजमार्गमा चहलपहल बढ्दा धादिङका होटलको स्तर फेरियो, ‘भात होटल’ रिसोर्टमा बदलिँदै


काठमाडौं। राजधानीबाट छुट्ने दिवा होस् या रात्री बस रिफ्रेसमेन्टका लागि राजमार्गको होटलमा रोकिने गर्छन्। 

Tata
GBIME
Nepal Life

काठमाडौंबाट बाहिरिने गाडीहरुकालागि खुलेका राजमार्गका होटलहरु कुनै बेला भात होटलका रुपमा प्रख्यात थिए। राजमार्गका साना छाप्रे होटलहरु खाना र नास्ताका सिमित परिकारबाट चल्ने गरेका थिए। 

तर अचेल राजमार्गका होटलहरुको स्तर फेरिएको छ। सडकको स्तरोन्नती र बढ्दो पर्यटकीय चहलपहलसँगै राजमार्गमा स्तरीय होटल, रेस्टुरेन्ट र बारहरु सञ्चालनमा आउन थालेका छन्।

मलेखु बजार माछाका परिकार र खानाका लागि चल्तीको ठाउँ हो। यसैगरी महादेववेशी, बाह्रबिसे, मलेखु, मुग्लिन, रामनगर जस्ता राजमार्गका बिशेष ठाउँहरुमा २४ सै घण्टा चहलपहल हुन्छ। यहाँ साना छाप्रे पसलमात्र नभई रिसोर्ट र स्तरीय होटलहरु पनि संचालनमा छन्। 

धादिङको राजमार्ग क्षेत्रमा २०५० सालदेखि नै होटल र रिसोर्टहरु खुल्न थालेका हुन्। २०५२ सालमै नारायणी एड्भेन्चर प्रालीले करिब १ करोड ८० लाख लगानीमा २० बेड क्षमताको रिर्सोट खोलेको थियो। 

२०५७ सालमा एक्जोटिक एण्ड वाटर किगंडम प्रालीले घाटबेशीमा १६ करोड १७ लाख खर्च गरी पुर्वाधार विकास गर्यो। यो रिर्सोटमा ४० वटा कोठा छन्।  यसैगरी ०५७ सालमै डाइनो रिर्सोटले ४ करोड ३१ लाख खर्चेर ३४ बेड क्षमताको होटल विस्तार गर्यो।

अहिले यस क्षेत्रका होटल तथा रिर्सोटहरु थप सुविधाका साथ संचालन हुन थालेका छन्। राजमार्ग क्षेत्रमा पर्यटकस्तरका होटल तथा रिर्सोटहरु १५ वटा पुगिसकेका छन् भने केही खुल्ने प्रकृयामा छन्। 

४ वर्षददेखि होटल सञ्चालन गरिरेहेका उद्धव कँडेल र्याफ्टिङले राजमार्ग क्षेत्रको होटल व्यवसायलाई फाइदा पुगेको बताउँछन्। 

त्रिशुली रिभर साइड रिर्सोट र रोयल रिभरसाइड रिर्सोट सञ्चालन गरिरहेका कँडेल व्यवसायबाट सन्तुष्ट छन्। उनको रिर्सोटले एक पटकमा २ सय ५० जनालाई सेवा दिन सक्छ। उनले ३० जनालाई रोजगारी समेत दिएको जानकारी दिए। 

र्याफ्टिङ प्रशिक्षक समेत रहेका उद्धवले होटलमा ७ करोड भन्दा धेरै लगानी गरेका छन्। त्रिशुली नदीमा विदेशी मात्र नभएर स्वदेशी लक्षित र्याफ्टिङ सुरु भएपछि यसले आन्तरिक पर्यटनलाई सघाएको र सँगसँगै होटलहरुको स्तरमा पनि सुधार गर्न बल पुगेको उनको भनाई छ। 

मलेखुमा ब्लू हेभन एण्ड बार २५ वर्षदेखी सञ्चालनमा छ। विदेशी पर्यटकलाई लक्षित गरी खोलिएको यो रेस्टुरेन्टले ३४ जनालाई रोजगारी समेत दिएको छ। १० वर्षदेखि सो रिसोर्टका सञ्चालक रहेका रामकृष्ण शर्माले १ करोड लगानी थपेका छन्। राजमार्गका होटलमा विदेशी पर्यटक बढ्दा नै व्यापार राम्रो हुने उनको अनुभव छ। राजमार्ग भनेकै २४ सै घण्टा  यात्रुको ओहोरदोहोर हुने भएकाले व्यवसायमा पनि त्यही अनुसारको मेहनत गर्नुपर्ने उनले बताए। 

धादिङ जिल्लामा मात्रै साना ठूला गरेर करिब १५ सय होटल रहेको जिल्ला होटल संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। मोफसलको होटललाई स-सना कुराहरुले पनि असर गरिरहेको हुन्छ। अहिले सदरमुकाममा व्यापार उल्लेख्य रुपमा छैन तर लगानी बढिरहेको छ। भूकम्पपछि बढेको व्यवसाय केही सुस्तता देखिएको उनले बताए। राजमार्ग क्षेत्रमा ठूला लगानीका होटल तथा रिर्सोट थपिइरहेको पनि अध्यक्ष श्रेष्ठले बताए।   

१६ करोड लगानीमा तारेस्तरको रिसोर्ट आउँदै
धादिङबेशीमा करौडौं लागतमा क्रिक रिर्सोट निर्माण भैरहेको छ। १० वर्ष नेचुरल टुर्स प्राली र रेन्टल कार्नेट प्रालीमा हस्पिटालिटी म्यानेजमेन्टमा अनुभव लिएका गोविन्द भण्डारीले रिर्सोट व्यवस्थापनको जिम्मा लिएका छन्।  

करिब १६ करोड लगानी गरी रिर्सोट तयार भैरहेको छ। जिल्लाको निलकण्ठ-४ सिरान बजारमा १० रोपनी क्षेत्रफलमा फैलिएको रिर्सोट जिल्लामै खुलेको अन्य होटल तथा रिर्सोटभन्दा धेरै लगानी भएको दाबी गरिएको छ। 

रिर्सोटमा भण्डारीसहित लण्डनमा ३ करोड लागतमा हिमालयन क्लब सञ्चालन गरिरहेकी गीता भण्डारी र रामचन्द्र गिरीको लगानी रहेको छ। धादिङमा कुनै कार्यक्रम वा समारोहको आयोजना, विवाह, पास्नीको भोज तथा कार्यक्रम गर्न तारे स्तरको रिर्सोट थिएन। यसले जिल्लामा केही कमी सिर्जना गरेको थियो। 

सञ्चालक भण्डारी भन्छन् – 'हामीले ३ तारे स्तरको अनुमति लिने तयारी गरेका छौं। जिम सेन्टर बनेपछि यसको प्रक्रिया अघि बढ्नेछ। रिर्सोटमा बारसहित २० वटा रुम हुनेछ जसमा ४ वटा स्वीट रुम हुनेछ।'

होटलमा ४ सय जना क्षमताको ब्याङकिट हल, १ सय जना क्षमताको सेमिनार हल, स्वीमिङ पुल समेत रहेको छ। रिर्सोट सजावटको जिम्मा स्यानसुइ टेक्नोलोजी कम्पनीलाई दिइएको भण्डारीले बताए। 

रिसोर्टका कोठाको सजावट सकिएपछि सेवा शुल्क तोक्ने तयारी सञ्चालकको छ।  रिर्सोटले स्वीमिङ पुल, ब्याङकेट, सेमिनार हल भने सञ्चालनमा ल्याइसकेको छ। 

भण्डारीका अनुसार रिसोर्टले स्थानीय बजार लक्षित सेवा दिनेछ। सस्तो मूल्यमै तारेस्तरको सुविधा दिने उनले दावी गरे। 

बुढीण्डकी हाइड्रो पावरको काम सुरु भएपछि व्यापार बढ्ने उनले अपेक्षा गरे। दशैं अघि नै रिर्सोटको ग्राण्ड ओपनिङ गर्ने तयारी भैरहेको पनि उनले जानकारी दिए। 

रिर्सोटमा १ जना म्यानेजर र २ जना सेफ जिल्ला  बाहिरबाट ल्याइएको छ। त्यसबाहेक स्थानीय २३ जनाले रोजगारी पाएका छन्। 

'हामीले अहिले जग्गा बाहेक नै ८ करोड खर्च गरिसकेका छौं। जग्गाको मूल्य जोड्दा यो रकम १६ करोड पुग्न जान्छ। रिर्सोट चल्दै जादाँ शेयर निष्कासन समेत गर्ने योजना छ।'-भण्डारीले सुनाए। 

यो रिर्सोट राजधानीबाट ८७ किमीको दुरीमा पर्छ। काठमाडौं उपत्यकाबाट नजिक रहेकाले नगरकोट जस्तै धादिङ पनि पर्यटीय गन्तव्य बन्न सक्ने उनले विश्वास लिएका छन्।