टार्गेट मार्केट सिफ्ट गर्दै एनसेल, संस्थागत ग्राहकको लागि मेगा डाटा सेन्टर ल्याउँदै

बिजमाण्डू
२०७६ असार २२ गते १५:१५ | Jul 7, 2019
टार्गेट मार्केट सिफ्ट गर्दै एनसेल, संस्थागत ग्राहकको लागि मेगा डाटा सेन्टर ल्याउँदै

Tata
GBIME
Nepal Life

काठमाडौं।गत आर्थिक वर्ष दूरसंचार पूर्वाधारमा सुस्त देखिएको एनसेलले करिब २‌ करोड अमेरिकी डलर(दुई अर्ब)को लगानीमा ललितपुरको नख्खुमा अवस्थित एनसेल मुख्यालय परिसरमा ठूलो क्षमता सहितको डाटा सेन्टर संचालनमा ल्याउने भएको छ।

डाटा सेन्टर स्थापनाको लागी चिनियाँ कम्पनी हुवावेलाई जिम्मा दिइएको छ। डाटा सेन्टरको लागी आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा रहेको छ।नेपालभित्र एनसेलको यो चौथो र सबैभन्दा ठूलो क्षमता र लगानीको डाटा सेन्टर हुनेछ। यसअघि हेटौंडा, विराटनगर र पोखरामा डाटा सेन्टर स्थापना गरिएको थियो।

ललितपुरमा निर्माणाधीन डाटा सेन्टर ९.५ रेक्टर स्केलको भूकम्पको कम्पन समेत थेग्न सक्ने गरी निर्माण गरिएकोले विपतको अवस्थामा समेत दूरसंचार सेवा संचालन गर्न योगदान पुग्ने एनसेल व्यवस्थापनको विश्वास छ।‘पाँच महिनाभित्र डाटा सेन्टर संचालनमा ल्याउने योजना छ’, उच्च व्यवस्थापन सम्बद्ध श्रोतले भन्यो।

सरकारी स्वामित्वमा रहेको डाटा सेन्टर सुरक्षाको दृष्टिकोणबाट कमजोर रहेको र क्षमता समेत सीमित भएको पक्षलाई मध्यनजर गर्दै एनसेलले सरकारी संस्थाको लागी समेत क्लाउड सर्भर सेवा उपलब्ध गराउन सकिने संभाव्यताबारे अध्ययन गरिरहेको छ।

सेवामा विविधता ल्याउँदै, संस्थागत ग्राहकमा जोड

परम्परागत दूरसंचार सेवाबाट हुने आम्दानीको हिस्सा खुम्चिंदै गएपछि बजार विस्तार गर्न एनसेलले सेवामा विविधता ल्याउन थालेको छ।

भाइबर, मेसेन्जर, गुगल, ह्वाट्सएपमा, विच्याट, इमो, लाइन लगायत ओटिपि एप्लिकेशनको बढ्दो प्रयोगसँगै नेपाल टेलिकम, एनसेल लगायत सेवा प्रदायक कम्पनीलाई स्थानीय र अन्तर्राष्ट्रिय कलबाट प्राप्त हुने आम्दानीको हिस्सा निरन्तर ओरालो लाग्दै गएको छ। अन्य कम्पनीको नेटवर्क प्रयोग गरेर सेवा प्रदान गर्ने भएकोले यस्तो एप्लिकेशनलाई ओभर द टप भनिएको हो।

फोन वा सन्देश प्रवाहको सेवा दिने कम्पनीको भविष्य संकटमा पर्ने पूर्वानुमान सहित 'सोल्युसन प्रोभाइडर' कम्पनीको रुपमा एनसेल व्यवस्थापन अघि बढ्ने रणनीति लिएको हो।एनसेलले इन्टरनेट र जिपिएसमा आधारित सेवा प्रदायकको रुपमा पनि आफूलाई उभ्याउँदै एनसेल फर बिजनेश प्याकेज अन्तर्गत ब्राण्डिङ गरिएको सेवा अन्तर्गत अन्तर्राष्ट्रिय निजी लिज सर्किट, घरेलु लिज सर्किट, भर्चुअल निजी नेटवर्क, ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

चार पाङ्ग्रे सवारी साधनमाथि निगरानी राख्न मिल्ने एप्लिकेशन सहितको सेवा समेत घोषणा गरिएको छ। यो सेवा अन्तर्गत कुनैपनि कम्पनीले आफ्नो सवारी साधन कुन ठाउँमा छ, कति किलोमिटर गुडेको छ भन्ने जानकारी पाउन सक्नेछन्। सवारी साधनको इन्स्योरेन्स गर्ने कम्पनीले समेत चोरी र फर्जी दाबी नियन्त्रण गर्न 'एनसेल फ्लिट टेलिमेटिक' सेवाको प्रयोग गर्न सक्ने एनसेल स्रोतले जानकारी दियो।

एनसेलले संस्थागत ग्राहकततर्फको व्यापार हिस्सा उल्लेख्यरुपमा वृद्धि गर्न ब्रोडव्याण्ड इन्टरनेट, इन्ट्रानेट, क्लाउड सर्भर, ग्राहक सेवा, मोबाइल फोन प्रयोगकर्ताको वर्गीकरणमा आधारित रहेर कम्पनीको आवश्यकता अनुसारको लक्षित समूहमा एमएमएस सन्देश, आवाज सहितको सन्देश,एमएमएस सेवा प्रदान गर्न थालेको हो।

दूरसंचार सेवाबाट प्राप्त आम्दानीको अधिकांश हिस्सा सर्वसाधारण उपभोक्ताले प्रयोग गर्ने सेवाले ओगटेको छ। अहिले एनसेलको कुल व्यापारमा संस्थागत ग्राहकबाट हुने आम्दानीको हिस्सा ३ प्रतिशत हाराहारी मात्र छ।

एनसेलको माउ संस्था एक्जियाटाले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार 'ओभर द टप' एप्सको बढ्दो प्रयोगका कारण सन् २०१८ मा‌ एनसेलको वार्षिक आम्दानी एक प्रतिशतले, संचालन मुनाफा ४.९ प्रतिशत र खुद मुनाफा १९.३ प्रतिशतले घटेको उल्लेख गरेको छ। तर परम्परागत सेवाबाट हुने आम्दानीमा गिरावट आएपनि यो अवधिमा मोबाइल डाटाको प्रयोगबाट हुने आम्दानीको हिस्सा १८ प्रतिशतले वृद्धि भएको थियो।

ग्राहकलाई घर वा कार्यालयमा उच्च गतिको इन्टरनेट सेवा प्रदान‌ गर्नको लागी मोबाइल टावरबाटै इन्टरनेट र कार्यालयको शाखा संजाललाई सूचना प्रविधि मार्फत जोड्न इन्ट्रानेट सेवा शुरु गरिसकेको छ। अहिले एनआईसी एशिया बैंकको शाखाहरुबाट यसको परीक्षण शुरु गरिएको व्यवस्थापन सम्बद्ध स्रोतले जानकारी दिएको छ।