६ महिनामा आरबिआईबाट दोस्रो हाइप्रोफाइलको राजीनामा, सरकारका आलोचक बिरल आचार्य बाहिरिए

बिजमाण्डू
२०७६ असार ९ गते १५:०४ | Jun 24, 2019


नाम बिरल आचार्य। उनको नाम मात्र होइन भारतको केन्द्रीय बैंकका गभर्नरका रुपमा उनको ब्यक्तित्व पनि बिरलै थियो। उनै बिरलले आरबिआईको डेपुटी गभर्नरको पदावधी बाँकी नै छँदा राजीनामा दिएपछि बैंकिङ क्षेत्रमा तरंग फैलियो।

Tata
GBIME
Nepal Life

उनको राजीनामाबारे आरबिआईले पनि पुष्टि गरेको छ। आरबिआईले जारी गरेको बिज्ञप्ती अनुसार बिरलले आफ्नो ब्यक्तिगत कारण देखाउँदै आफू पदमा बस्न नसक्ने भन्दै आरबिआईलाई राजीनामा पत्र लेखेको बताइएको छ। उनले ६ महिना पदावधि बाँकी छँदै राजीनामा दिएका हुन्।

गत ५ महिनामा यो दोस्रो हाइप्रोफाइलको राजीनामा हो। गत डिसेम्बरमा गभर्नर उर्जित पटेलले सरकारसँग मतभेद भएपछि पदावधि ९ महिना बाँकी छँदै राजीनामा दिएका थिए।

बिरल आरबिआईमा सबैभन्दा कान्छा डेपुटी गभर्नरका रुपमा छिरेका थिए। बिरलको उर्जित पटेलसँग निकट सम्बन्ध थियो त्यसैले उर्जितले गत डिसेम्बरमा राजीनामा दिएको घोषणा गरेसँगै बिरलले पनि राजीनामा दिन सक्ने अड्कल काटिएको थियो। तर उनी पदमै रहेर बित्तीय मामिला तथा आरबिआई प्रति सरकारको ब्यवहारको खुलेर आलोचना गरिरहे।

बिरल ४२ वर्षको उमेरमै डेपुटी गभर्नर बनेका थिए। आइआइटी मुम्बईबाट कम्प्युटर इन्जिनियरिङको डिग्री लिएका आचार्यले न्यूयोर्क युनिभर्सिटीबाट बिद्याबारिधी सकेका थिए।

उनी महंगी बिरुद्ध कडा नीति अख्तियार गर्ने ब्यक्तिका रुपमा परिचित छन्। उनले आफू गरिबहरुको "रघुराम राजन" भएको बताउँथे। त्यसैले आरबिआईको मौद्रिक नीतिमा जब महंगीप्रति लचकता अपनाइन्थ्यो उनी  त्यसको बिरोधमा उत्रिन्थे।

बिरल आरबिआईको डेपुटी गभर्नका रुपमा सन् २०१८ को अक्टोबरमा चर्चामा आए जब उनले आरबिआईको स्वायत्ततामाथि सम्झौता गरेको भन्दै केन्द्र सरकारमाथि आरोप लगाए। 'जुन सरकार आफ्नो केन्द्रीय बैंकको स्वायत्तताको सम्मान गर्दैन त्यसले भविषयमा बित्तिय बजारको आक्रोशको सामना गर्नै पर्छ।'- उनले भाषणका क्रममा भनेका थिए। त्यस भाषणपछि नै आरबिआई र सरकारको सम्बन्धमा चिसोपना आएको मानिन्छ।

आरबिआईबाट बाहिरिएपछि बिरलले के गर्लान्? यसको अड्कलबाजी सुरु भएको छ। उनले आगामी योजनाबारे कुनै घोषणा गरिसकेका छैनन् तर उनले आफ्नो एकेडेमिक प्राक्टिस जारी राख्ने बताइएको छ। बिरल अमेरिकाको न्यूयोर्क विश्वविद्यालयका प्रोफेसर समेत हुन्।

आरबिआईको गभर्नर र डेपुटी गभर्नरहरुको नियुक्ती सरकारले गर्छ। डेपुटी गभर्नरको नियुक्तीमा गभर्नको रायसल्लाह पनि लिइन्छ।

चार डेपुटी गभर्नमध्ये दुईको चयन आरबिआई भित्रैबाट हुने गर्छ भने अन्य दुईमध्ये एक बैकिङ सेक्टरबाट र अर्को एकजना अर्थशास्त्री ल्याउने चलन छ।

आरबिआईमा अब तीनजना डेपुटी गभर्नर बाँकी छन् जसमध्ये सबैभन्दा सिनियर एन एस विश्वनाथनको कार्यकाल आगामी महिना सकिँदैछ।