युनाइटेड इन्स्योरेन्सले २४० % हकप्रद शेयर निष्काशन गर्ने अनुमति पायो, पूँजी एक अर्ब २ करोड

बिजमाण्डू
२०७६ असार ९ गते १०:४८ | Jun 24, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। युनाइटेड इन्स्योरेन्सले चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो।

कम्पनीको हालको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड रुपैयाँ पुग्ने छ। बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुँजी जुटाउन कम्पनीले एकै पटक २४० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो।

कम्पनीले चार वर्ष अगाडी १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। समितिले दुई वर्षअघि एक अर्ब रुपैयाँ जुटाउन निर्देशन दिएको थियो। पूँजी जुटाउने म्याद एक वर्ष वितिसक्दा पनि पूँजी नजुटाएको कम्पनीले आफ्ना शेयरधनीहरुलाई एकै पटक हकप्रदको भार बोकाएर पूँजी जुटाउने भएको हो।

एक वर्ष अघिसम्म जगेडा कोष ऋणात्मक रहदै आएकोमा हाल धनात्मक छ। बल्ल जगेडा धनात्मक हुन थालेको कम्पनीले आगामी वर्षदेखि मात्रै लाभांस दिन सक्ने छ।हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा ‘केयर एनपि आइपिओ ग्रेड चार’ पाएको छ।