एक अर्बको बजार जोगाउन प्रानको नयाँ रणनीति, नेपालमा आयातमा प्रतिवन्ध लागेपछि प्रानका तीन विकल्प

बिजमाण्डू
२०७६ असार ८ गते २१:३२ | Jun 23, 2019
एक अर्बको बजार जोगाउन प्रानको नयाँ रणनीति, नेपालमा आयातमा प्रतिवन्ध लागेपछि प्रानका तीन विकल्प


वीरगंज। नेपाली बजारमा पेय पदार्थको निर्यात ठप्प भएपछि बंगलादेशी बहुर्राष्ट्रिय कम्पनी प्रान फुड्स बजार जोगाउन आवश्यक तयारी र रणनीति बनाउनमा केन्द्रित भएको छ।

Tata
GBIME
Nepal Life

सरकारले इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा पूर्ण प्रतिबन्ध लगाएपछि प्रानले नेपालमै उद्योग लगाउनेसम्मको रणनीतिमा छ।जुस निर्यात ठप्प भएलगत्तै प्रान फुड्सका अध्यक्ष एहसान खान चौधरीले नेपाल भ्रमण गर्नुले पनि नेपालको बजार कति महत्वपूर्ण छ भन्ने अनुमान लगाउन सकिन्छ।जेठ अन्तिम साता नेपाल भ्रमणमा आएका उनले काठमाडौं, पूर्व र मध्य नेपालको जुस उद्योगको स्थलगत भ्रमण गरेर स्थानीय उद्योगले प्रयोग गरिरहेको प्रविधि र जुसको गुणस्तरबारे चासो राखेका थिए।

जग्गा खरिद गरेर पूर्वाधार निर्माण र उत्पादन शुरु गर्न एकदेखि दुई वर्ष लाग्ने भएकोले तत्कालै उत्पादन शुरु गर्ने विकल्पबारे प्रान फुड्सले अध्ययन र स्थानीय उद्योगसँग संभावित साझेदारीको विषयमा पनि प्रारम्भिक छलफल गरेको छ।प्रान समूहले स्थानीय(नेपाली) उद्योगलाई संभावित तीनवटा विकल्प प्रस्ताव गरेको छ। पहिलो चलिरहेको उद्योग पूर्ण स्वामित्व हस्तान्तरण गर्ने, दोश्रोमा कम्तीमा १० वर्षको लागी उद्योग बहाल(लिज)मा दिने र तेश्रोमा ब्राण्ड फ्रेन्चाइज लिएर मुनाफा बाँडफाँड गर्ने विकल्प प्रानसँग छ।

यीमध्ये उपयुक्त विकल्पको लागी आवश्यक तयारी गरेर शर्तसहित पुन: द्विपक्षीय वार्तामा बस्ने समझदारी भएको एकजना उद्योगीले जानकारी दिए ।आफ्नै लगानीमा जुस उद्योग स्थापनाको लागी प्रान समूहले सिमरामा निर्माणाधीन विशेष आर्थिक क्षेत्रको जग्गा लिजमा लिने विषयमा पनि आवश्यक अध्ययन गरिरहेको छ।

नेपाली बजारमा जुस, पोटाटो क्रयाकर्स, चकलेट, चुइङगमलगायतको दैनिक उपभोग्य वस्तु बिक्री गरिरहेको प्रान फुड्सले जुस बंगलादेशबाटै ल्याउँथ्यो। काठमाडौंमा उद्योगी रवि केसीको अदत फुड्स उद्योगसँग कन्ट्रयाक्ट प्रोडक्सन गरेर पोटाटो क्रयाकर्स र सिमरा(बारा) मा आफ्नै लगानीमा चकलेट चुइङगम,वेफर(कन्फेक्सनरी) लगायतको उत्पादन गर्ने उद्योग संचालन गरिरहेको छ।

जुसबाहेक अन्य उत्पादनहरु बजारमा उपस्थिति कायम राख्न उपयोगी भएपनि मुनाफाको दृष्टीकोणले प्रान समूहको लागी खासै आकर्षक छैन। संचालनमा आएको तीन वर्ष बितिसकेपनि प्रानको 'कन्फेक्सनरी' उद्योगले नाफा आर्जन गर्न नसकेको बजार सम्वद्ध श्रोतले जानकारी दिएको छ।

‘मासिक १० करोड रुपैयाँको उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गरिएपनि मुश्किलले एक-डेढ करोड रुपैयाँको कारोबार भइरहेको छ’,एकजना वितरकले भने,यस्तो अवस्थामा जुस जतिको आकर्षक उत्पादन अरु छैन।‘आर्थिक वर्ष ०७४/७५ मा बंगलादेशबाट करिब एक अर्ब रुपैयाँ बराबरको जुस आयात भएको थियो।